Comments Add Comment

बिशाल र गोल्छा समूहले साझेदारीमा श्रीराम सुगर मिल्स चलाउने

३ सय प्रतिशत हकप्रद ल्याउदै

३० भदौ, काठमाडौं । श्रीराम सुगर मिल्स चलाउन बिशाल समूह र गोल्छा समूहले साझेदारी गरेका छन् ।  कम्पनीमा ५३ प्रतिशत सेयर स्वामित्व रहेको गोल्छाले २३ प्रतिशत सेयर बिशाल समूहलाई बिक्री गरेको छ । नेपालमा बिशाल समूहलाई अग्रवाल समूह भनेर समेत चिनिन्छ । बिशाल समूहका जगदिश प्रसाद अग्रवाल, त्रिलोक चन्द अग्रवाल, तुल्सीराम अग्रवाल र अशोक कुमार अग्रवाल लगायतको संलग्नता बिशाल बजारमा रहेको छ ।

सन् १९९२ मा रौतहटबाट सञ्चालनमा आएको यो उद्योगको हाल प्रतिदिन उखु पेल्ने क्षमता ३ हजार टन बराबर रहेको छ । कम्पनीबाट प्रतिदिन ४० किलो लिटर डिष्टिलरी (स्प्रिट तथा एक्स्ट्रा न्युट्रल अल्कोहल) समेत उत्पादन हुँदै आएको छ । कम्पनी नोक्सानमा जाँदा र किसानहरुलाई भुक्तानीमा ढिलाईको कारण कम्पनीमा पर्याप्त उखु उपलब्ध हुन छाडेपछि कम्पनी थप नोक्सानमा देखिदै आएको छ ।

 

हाल कम्पनीको संस्थापकको ९१ प्रतिशत र सर्वसाधारण समूहको ९ प्रतिशत सेयर स्वामित्व रहेको छ । ९ प्रतिशत सेयर स्वामित्वमा पनि लगभग ३ प्रतिशत सेयर वेरुजु अर्थात् रकम उठ्न बाँकी रहेको देखिएको छ । १० वर्षयता कम्पनी नोक्सानमा छ भने ४ वर्षदेखि भने कम्पनी सञ्चालन नोक्सानमा समेत रहेका छन् । हाल कम्पनीले ११ करोड रुपैयाँ नोक्सानमा रहेको छ । कम्पनीले बिक्रीबाट भने ३६ करोड आम्दानी गरेको छ ।

सन् २०१० मा अन्तिम पटक कारोबार भएर त्यसयता कारोबार हुन नसकेको कम्पनी ले गत वर्षको असोज २ गतेबाट पुनः कारोबार गरेको थियो । कम्पनी त्यसयता यदाकदा कारोबारमा आउने गरेको छ ।

कम्पनीले ३ सय प्रतिशत हकप्रद सेयर जारी गरेर ८९ करोड ३ लाख रुपैयाँ उठाउने भएको छ । कम्पनीले हकप्रद जारीपछि चुक्ता पूँजी करिब १ अर्ब रुपैयाँ पुर्याउने भएको हो । यसरी उठेको रकम यसअघि किसानलाई तिर्न बाँकी रकम भुक्तानीको लागि प्रयोग गरिने पनि उल्लेख गरेको छ ।

कम्पनीले हकप्रद निकाल्ने प्रयोजनको लागि इक्रा नेपालबाट रेटिङ समेत गराएको छ । कम्पनीको सेयरलाई इक्राले ग्रेड ५ रेटिङ दिएको छ । यसले कम्पनीको आधारभुत पष औसतभन्दा निकै कमजोर रहेको संकेत गर्छ । इक्राले उल्लेख नगरेपनि कम्पनीले केही समय अगाडी नेप्सेमा पेश गरेको विवरण अनुसार कम्पनीको नेटवर्थ ९७ करोडले ऋणात्मक छ । कम्पनीको सञ्चालकहरुमा के ठाकुर, एन एस श्रेष्ठ, टी आर थापा, एसआरभी लेयर, पी के झा छन् । कम्पनीको फाइनान्स एक्जुकेटिभमा एन के गुप्ता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment