Comments Add Comment

चुनावको उत्साह छैन महमदपुरमा

१ असोज, सिमरा । फोटोमा देखिएको खोलापारी पक्की मस्जिद भवन एक विदेशी संस्था आएर बनाइदियो । हेर्दा सानो भएपनि गहिरो स्थान भएकाले प्ा्रत्येक वर्ष यही खोलाको बाढी गाउँ पस्छ । भोलि चुनाव, तर यहाँ आज न त कुनै उल्लास छ, न त भोलिको पर्खाई छ ।

महमदपुर टोलमा साउन अन्तिम साता खोलामा आएको बाढीले बाटो थुनियो । ज्वरोले थलिएका १० वर्षे सिन्टु मियाँलाई अस्पताल पुर्‍याउन एम्बुलेन्स ल्याउने बाटो भएन । बाढीकै कारण उनलाई परिवारले गुमाउनु पर्‍यो ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका-५ महमदपुर गाउँमा अधिकांश मुस्लिम समुदायका दलित जातीको नियती यस्तै छ । बाढी आयो भने खोला पारी विदेशीले बनाइदिएको मस्जिद हेर्दै जीवन रक्षाको पुकारा गर्नुपर्ने बाध्यता छ । त्यसैले अहिलेको चुनावमा मोहमदपुरबासीको एउटै अपेक्षा छ- खोलामा पक्की पुल र सडक ।

खोलाको बाढी तार्न नसक्दा छोरा गुमाएको पीडा भोगेका बसिर मियाँले भने, ‘बाढी आयो भने सकुशलका लागि पुकार गर्छौं, सामान्य ज्वरो आउँदा पनि छोरोलाई बचाउन सकिएन, अब चुनाव जितेको नेताले कम्तिमा पनि पुल बनाइदिए धेरै सजिलो हुन्थ्यो ।’

दयनीय र अकल्पनीय गाउँको जिजिविसा उनीहरु परिवर्तन गर्न चाहन्छन् तर साधान र स्रोतले परिवारको नुनतेलको जोहो गर्न मात्रैपनि धौधौ छ । तर उनीहरुले बाटो र पुल बनेर बाढीको डरबाट मुक्त बन्न पाए अरु बिकासका कुरामा प्रतिक्षारत छैनन् ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका ५ महमदपुर गाउँमा अधिकांश मुस्लिम समुदायका दलित जातीको बसोबास छ, ऐलानी जमिनमा करिब १ सय ५० बढी घरधुरी रहेको गाउँका उनीहरु दैनिक जसो ज्यालामजदुरी गरेर छाक टार्छन् । नजिकै एक आधारभूत तहको विद्यालय भएपनि बस्तीका बालबालीका स्कुल नगई मजदुरीमा खटिन्छन् ।

सोमबार निर्वाचनको दिन छ, तर उनीहरुमा उत्साह रत्तिभर पनि छैन । कारण जसले जितेपनि आफूहरुको बस्ती पुग्ने पुल र बाटो बन्छ भन्नेमा उनीहरु पूर्णआशावादी छैनन् । र, धेरै स्थानीयलाई आफ्नो वडाको उम्मेदवार समेत थाहा छैन । उनीहरुले कसलाई र कुन पार्टीलाई मतदान गर्ने भनेर पनि अझैसम्म निर्क्योल गर्न सकेका छैनन् ।
आश्वासनमा ३० वर्ष बित्यो

विगत ३० वर्षदेखि बसोबास गर्दै आएका यहाँका स्थानीयलाई सबैले आश्वासन मात्र दिने गरेको स्थानीय हुसेन अहमदले बताए । त्यसैले यहाँका स्थानीयलाई मतदाता नामावलीमा नाम लेखाउने चासो पनि छैन । तिनैहरुमध्येका एक हुन् हुसेन अहमद । हुसेन जस्ता धेरैले मतदानमा सहभागी हुन पाउँदैनन् । नाम भएकाहरु पनि मतदान गर्न जाने कि नजाने भन्नेमा अन्योलमै छन् ।

राजधानीमा बसेर ज्याला मजदुरी गर्ने हुसेन केहीदिन अघिमात्र घर आएका हुन् । ट्रकको माथी सिसामा सजाउने झल्लर बनाउने काम गर्ने उनी दैनिक २ सय रुपैयाँ कमाउँछन् । चुनावबारे चासो नै नभएपनि गाउँमा पुल र बाटो बने ठूलो बिकास हुने उनी बताउँछन् ।

‘बाटो र पुल बनाइदिए हुन्छ, हामी आफ्नो लागि आफैले काम गरेर बाँच्न सक्छौं, उनले भने, ‘खोलाको बाढीले बच्चाहरु बगाउने समस्याले हामीलाई सताएको छ ।’

महमदपुरटोलका ४८ वर्षे अजमत मियाँको पनि गाउँमा बाटो र पुल बनेमात्रै जीवन यापन सहज हुने आशा छ । बाटो र पुल बनाइदिने बाचा गर्नेलाई मात्र भोट हाल्ने भन्ने सोच बनाए पनि गाउँमा कोही पनि भोट माग्न नआएको मियाँले बताए ।

‘हाम्रो धेरै आशा छैन, खोलामा बाढी आएर बिरामीलाई अस्पताल लैजाने समेत बाटो छैन, हामीलाई पुल र बाटो बनाइदिए हुन्थ्यो । तर हामीलाई भेट्न कोही आउँदैनन्,’ मियाँले गुनासो गरे ।

मतदाता शिक्षा शून्य

सरकारले मतदाता शिक्षाका लागि गाउँ-गाउँमा सामाजिक परिचालक खटाएपनि महम्मदपुर टोलमा भोट हाल्ने तरिका सिकाउन कोही पनि नआएको स्थानीय बताउँछन् । अघिल्लो दुई स्थानीय तहमा भएको बदर मतको आधारमा यस पटक मतदाता शिक्षामा प्रभावकारीता ल्याउने भनिएपनि जिल्लाका कतिपय गाउँमा मतदाता शिक्षा दिने टोली नै नपुगेको कतिपय गाउँका स्थानीयको भनाइ छ ।

गाउँमा मतदान गर्नेबारे ज्ञान दिन अहिलेसम्म कोही नगएको स्थानिय ३५ वर्षकी फतुली देबी मियाँको गुनासो छ । केही एक दुई स्थानीय नेताले सामान्य मतदान गर्नेबारे सिकाए पनि सरकारका मान्छेले अहिलेसम्म कसैलाई मतदाता शिक्षाका बारेमा नसिकाएको उनले बताइन् ।

हामीलाई भोट हाल्ने तरिकाबारे सिकाउन अहिलेसम्म कोही आएको छैन् । घरमा श्रीमानले अलिअलि सिकाउनुभएको छ, तर कसलाई कसरी भोट गर्ने बुझेकी छैन । गाउँकी अर्की एक महिला रामादेबीले भने मतदाता नामावलीमा नाम भएपनि मतदान गर्न नजाने सोचमा छिन् । मतदान गर्ने तरिका थाहा नभएका कारण र घरका बालबच्चाको हेरचाहका कारण उनी मतदान गर्न भ्याउँदिनन् र चाहन्नन् पनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment