Comments Add Comment

होटल रत्नाका सञ्चालक भन्छन् : अदालतको फैसला मान्छौं

१२ चैत, विराटनगर । अदालतको फैसला कार्यान्वयन नगरेपछि श्रम कर्यालय विराटनगरले रत्ना होटलको बैंक खाता रोक्का गरी विद्युत आपूर्ति बन्द गर्न क्षेत्रीय विद्युत प्राधिकरणलाई पत्र लेखेको छ ।

तर होटल सञ्चालक रेवतबहादुर थापा चारजना कर्मचारीले अनावश्यक दुःख दिएको गुनासो गर्छन् ।

कर्मचारीलाई अदालतको फैसलाअनुसार पारिश्रमिक दिन तयार रहेको बताउँदै उनले मुद्दा मामिला गरी अनावश्यक दुःख दिएको बताएका हुन् ।

होटलले २०६८ भदौ तेस्रो साता कामबाट निकालेको बताउदै रामेश्वर बुढाथोकी, दुर्गा उप्रेती, पारस गुरुङ र विश्वबन्धु खड्का श्रम कार्यालय पुगेका थिए । २०६८ सालबाट सुरु भएको मुद्दा गत असार २७ सर्वोच्च अदालतबाट किनारा लागेको हो । अदालतले श्रमिकको पक्षमा फैसला गरेको छ ।

तर होटल सञ्चालक रेवतबहादुर थापा भने तत्कालिन समयमा गलत गर्ने कर्मचारीलाई स्पस्टीकरण सोध्ने तयारी गर्दागर्दै आफैं काम छाडेको बताउँछन् । रामेश्वर होटलमा कुकको रुपमा काम गर्दै आएका थिए । २०५८ सालदेखि रत्ना होटलमा काम गरेका उनले बीचमा पटक पटक काम छाड्दै रत्नामा आएका थिए ।

गलत मनसायले सेवाग्राहीका लागि बनाएको खानामा समेत लापरबाही गरेको सञ्चालक थापाको गुनासो छ । तरकारीमा कन्सुत्ली भेटिएको, बासी मम ग्राहकलाई बाँडेको, चिलेसा परेको चामलको खाना पकाएका कारण स्पष्टीकरण सोध्ने तयारी गरिरहेको बेला रामेश्वरले होट छाडेको थापा बताउँछन् ।

रत्ना होटलबाट निस्किएकाहरुले पुरानो रत्ना होटल रहेको स्थान नजिकै होटल सेफ किचन सञ्चालन गरिरहेका छन् । होटलबाट निस्किएका कर्मचारी सेवा गर्ने भन्दा पनि पैसा कमाउने उद्देश्य रहेको थापाको गुनासो छ । श्रेष्ठसँगै निस्किएका एक कर्मचारी भने चारजनाको उद्देश्य गलत भएकाले पहिले नै समुहबाट निस्किएर आफूलाई खबर गरेको थापाले बताए ।

अदालतको आदेश मान्न आफूहरु तयार रहेको बताउदै उनले पारिश्रमिक भुक्तानी गर्ने बताए । तर पारिश्रमिकका बिषयमा मजदुरको माग र थापाको दाबी फरक फरक छ । मजदुरले बिदा र बोनस जोड्दा ४० लाख भन्दाबढी पाउनुपर्ने बताउदै आएका छन् भने थापा कानुनले भेटेको रकम भुक्तानी गर्न तयार भएको बताए ।

होटलले चार मजदुरलाई २० लाख भुक्तानी गर्ने बताउदै आएको छ । कर्मचारी भने निकालिएको महिनादेखिको तलब पाउनुपर्ने बताउँदै आएका छन् । तत्कालिन समयमा होटलको म्यानेजरको रुपमा काम गरेका केशवबहादुर बुढाथोकी २०६८ भदौ महिनायताको तलब पाउन बाँकी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment