११ असोज, मोरङ । विराटनगर महानगरपालिकाले वडा कार्यालयहरुबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । जनप्रतिनिधिहरुले दशैंको मुखमा घर मै आएर सामाजिक सुरक्षा भत्ता प्रदान गरेपछि यहाँका जेष्ठ नागरिक दंग छन् ।
वाणिज्य बैंक मार्फत वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता विराटनगर महानगरपालिकाले वडा कार्यालय मार्फत वितरण गर्न सुरु गरेको हो । ९० वर्ष माथिका र अशक्तहरुलाई जनप्रतिनिधि मार्फत घर-घर मै पुगेर भत्ता दिने व्यवस्था मिलाइएको छ ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र उपप्रमुख इन्दिरा कार्कीले नगरका ९० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरुलाई घर मै गएर भत्ता प्रदान गरे । ।
‘भत्ता लिन बैंकमा लामो लाइन बस्नु पर्दा खुट्टा गलेर हैरान हुन्थ्यो अहिले घर मै बसीबसी भत्ता पाउँदा खुसी लागेको छ,’ विराटनगर ३ का ९२ वर्षीय धनपति दाहालले भने ।
विराटनगरकै ९१ वर्षीया शारदा नेपालले पनि महानगरपालकाले दशैंको मुखमा पैसा घरमा नै ल्याइदिएपछि आफुहरु जस्तो जेष्ठ नागरिकलाई राहात पुर्याएको बताइन् ।
बैंकले दशैं अगाडि सामाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने बताएपछि महानगरपालिकाको पहलमा भत्ता तिवरणको व्यवस्था मिलाइएको हो ।
मेयर भीम पराजुलीले नगर क्षेत्र भित्रका ९० वर्ष माथिका र भत्ता लिँदै आएका अशक्तहरुलाइ जनप्रतिनिधि मार्फत घर-घर मै भत्ता पुर्याउने व्यवस्था मिलाइएको बताए ।
महानगरपालिका कार्यालयले ९० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई राज्यले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्तामा थप एक हजार रुपैयाँ प्रदान गरेको छ । महानगरपालिकामा ९० वर्ष भन्दा माथिका ८३ जना जेष्ठ नागरिकहरुले थप मासिक एक हजार भत्ता पाएका छन् । महानगरपालिकाले जम्मा १० हजार तीन सय ३ जनालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको जनाएको छ ।
प्रतिक्रिया 4