Comments Add Comment

मिसावटको महामारी- विषाक्त बन्दै खानेकुरा !

नियामक निकायको कमजोर उपस्थितिका कारण बजारमा चरम बेथिति

१५ असोज, काठमाडौं । तुलनात्मक रुपमा चाडबाडमा खाद्य वस्तुको खपत बढी हुन्छ । तिनको किनबेच यही समयमा बढ्नु स्वाभाविकै हो । तर, यस्तै मौकामा हो, कालोबजार फस्टाउने पनि । गलत नियत भएका व्यापारीले उपभोक्ता ठग्न छाडेका छैनन् ।

आकर्षक, रंगरोगन गरेर, सस्तो मूल्य देखाएर वस्तु बिक्रीमा राखिएको हुन सक्छ । यस्ता वस्तुको उपभोगले स्वास्थ्यलाई गम्भीर असर पुर्‍याउने जोखिम रहन्छ । ठगी हुने सम्भावित वस्तुप्रति उपभोक्ता नै सजग हुनु आवश्यक छ ।

मसला, मासु, तरकारी, मिठाइलगायत वस्तुमा यस्तो मिसावट र अखाद्य वस्तु प्रयोग गरिएको हुनसक्ने अधिकारकर्मीहरू बताउँछन् । दूध, दही, घ्यू, तेल, चामल, दाल, गेडागुडीलगायतमा धेरै मिसावट देखिने गर्छ ।

खाद्य वस्तु किन्दा सामान्य सचेतना भए पनि ठगीबाट बच्न सकिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसन्धान अधिकृत मदन चापागाईं बताउँछन् ।

किनमेल गर्दा वस्तुको लेबल हेर्ने, त्यसको उत्पादन र उपभोग्य मिति, त्यसको प्राकृतिक रुपरंग ख्याल गर्न सकियो भने ठगिनबाट बच्न सकिने उनको भनाइ छ ।

चापागाईंका अनुसार उत्पादकको पहिचान स्पष्ट नभएका, सडकपेटीमा बेच्न राखिएका, अस्वाभाविक मूल्य रहेका वस्तु खरिदमा विशेष ध्यान पुर्‍याउनु पर्छ । ‘लेबल स्पष्ट नभएको, खाद्य अनुज्ञापत्र नलिएका र अस्वाभाविक देखिने वस्तुमा समस्या हुनसक्छ,’ उनी भन्छन् ।

बेसार र मसलाः क्यान्सरका कारक

बेसार र मरमसला हरेक भान्साका शोभा बन्छन् । तर, तिनै वस्तुमा धेरै मिसावट पाइने गरेको छ ।

बेसारमा मेटानिल येलो नामक रसायन मिसाएर बिक्री गरिने गरेको पनि भेटिएको छ । यस्तो रसायन प्रयोग गरिएको बेसार उपभोग गर्दा क्यान्सरसमेत लाग्न सक्ने चिकित्सकहरु बताउँछन् ।

यस्तै, बेसारमा केसरी नामक अर्को वनस्पतिको धुलोसमेत मिसाउने गरेको भेटिन्छ ।

बेसार हल्का गुलाबी वा बैजनी रंगको भेटिए, शंकास्पद हुने विज्ञहरू बताउँछन् ।

यस्तै, पिसेको खुर्सानी र जिरामा काठको धूलोसमेत मिसाइने गरेको पनि भेटिन्छन् । मरमसलामा पनि विभिन्न अखाद्य वस्तु र रंग प्रयोग गरेर उपभोक्ता ठग्ने गतिविधि भइरहेका उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् ।

चिउरामा किरिकिरि

खुला ठाउँमा राखेको चिउरालगायतका खुद्रा वस्तु खरिद नगर्न चापागाईं सुझाउँछन् । ‘चिउरामा त्यसकै रंग र आकारका ढुंगा र ग्रेन मिसाएर बेच्ने गरेको पनि पाइन्छ,’ उनी भन्छन्, ‘कुनै-कुनै ठाउँबाट किनिएको चिउरा चपाउँदा किरिकिरि हुन्छ, यस्तो चिउरा स्वास्थ्यका लागि हानिकारक हुनसक्छ ।’

वासिङ पाउडरयुक्त दूध !

दूध र दूग्ध पदार्थ पनि मिसावट हुने वस्तुमा पर्छ । दूधमा यूरिया, रंग वा वासिङ पाउडर मिसाइने गरेको पनि भेटिएको छ । ती तत्व स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । केही समयअघि दूधमा दिसामा पाइने जीवाणु -कोलिर्फम) मिसाइएको पाइएको थियो ।

ल्याक्टोमिटरले दूधमा पानीको मात्रा मापन गर्छ । यसको रिडिङ २८ देखि ३४ हुनुपर्छ । यही स्ट्यान्डर्ड कायम गर्न दूधमा यूरिया, चिनी, वासिङ पाउडर मिसाउने गरिएको छ ।

दूधमा मिसावट गरिएको सजिलै खुट्याउन सकिँदैन । शंका लागेमा प्रयोगशाला परिक्षणबाट यसको पहिचान गर्न सकिन्छ । यदि दूधमा हानिकारक तत्व छ भने त्यसको सामान्य आभाष भने पाउन सकिन्छ । यस्तै, घ्यू र अन्य डेरी उत्पादनमा पनि मिसावटको समस्या देखिने गरेको छ ।

तोरीको तेलमा पाम आयल र सोयाविनको तेल मिसाइएको पनि भेटिने गरेको छ ।

स्याउ किन्दा स्याकरिन पनि

स्याउ धेरै उपभोग हुने फलफूलमा पर्छ । तर, यही स्याउमा मिसाइने हानिकारक तत्वले स्वास्थ्यलाई फाइदा होइन, घाटा पुर्‍याउन सक्छ । स्याकरिन प्रयोग गरिएका स्याउ बजारमा पाइने गरेको विज्ञहरु बताउँछन् । स्याउलाई बढी रातो र आकर्षक देखाउन स्याकरिन प्रयोग गरिन्छ ।

चम्किलो देखिने स्याउ काट्दा गाढा रातो झोल निस्किन्छ भने भित्री सेतो भागमा हल्का रातो देखिन्छ । स्याकरिन प्रयोग गरिएको स्याउमा पानीको मात्रा धेरै हुन्छ भने स्वादिलो र गुलियो हुन्छ ।

यस्तै, स्याउलाई आकर्षक बनाउन ‘वेक्स्ड’ प्रयोग गरिएको पनि भेटिन्छ । चम्किलो बनाउन मैन तथा मैनजन्य पदार्थको झोलमा स्याउलाई डुबाउने गरिन्छ । यसले स्वास्थ्यलाई हानी गर्ने विज्ञहरु बताउँछन् ।

केरामा कार्बाइड

सबै केरा स्वास्थ्यवर्द्धक हुन्छन् भन्ने सोच्नुभएको छ भने यस्तो धारणा त्याग्नोस् । बजारमा स्वास्थ्यलाई हानी पुग्ने कार्बाइड प्रयोग गरिएको पनि हुनसक्छ ।

केरा पकाउँदादेखि नै कार्बाइड प्रयोग गरिने उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् । कार्बाइडको सहज उपलब्धताका कारण पनि यसको प्रयोग बढ्ने गरेको छ ।

कार्बाइड प्रयोग गरिएको केराको उपभोगले फोक्सो, मिर्गौला र मस्तिष्कमा नकारात्मक असर पुर्‍याउँछ ।

कालो कालो दाग लागेको केरामा कार्बाइड प्रयोग भएको हुनसक्ने सम्भावना भएकाले यस्ता केरा नखान विज्ञहरु सुझाउँछन् । हेर्दा पहेंलो र आकर्षक देखिए पनि छाम्दा अस्वाभाविक र कम बासनादार हुन्छन्, यस्ता केरा ।

कमजोर नियमन

उपभोक्ता अधिकारकर्मीहरु सरकारी नियमन कमजोर हुँदा कालाबजारीले प्रश्रय पाएको बताउँछन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमन गर्छन् । तर, नियामक निकायको कमजोर उपस्थितिका कारण बजारमा गलत प्रवृत्तिले प्रश्रय पाइरहेको अधिकारकर्मीहरुको दाबी छ ।

‘स्वच्छ बजारका लागि उपभोक्ता र सरकारी अनुगमन दुवै चुस्त हुनु जरुरी छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना भन्छन् ।

खाद्य सुरक्षा र उपभोक्ता हितका लागि सरकारले विभिन्न ऐन, नियम तर्जुमा गरे पनि त्यसको कडाइका साथ लागू हुन नसकेको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । विभाग भने पछिल्लो समय बजार स्वच्छ हुँदै गएको दाबी गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment