+

मिर्गौला रोग लाग्‍नै नदिन कस्तो खानपान उपयुक्त ?

२०८१ फागुन  २९ गते १४:४२ २०८१ फागुन २९ गते १४:४२
Shares
मिर्गौला रोग लाग्‍नै नदिन कस्तो खानपान उपयुक्त ?

आज मार्च १३ अर्थात, विश्व मिर्गौला दिवस । विश्वभर मिर्गौला स्वास्थ्यमा सचेतना अभिवृद्धि गर्न यो दिवस मनाउने गरिन्छ ।

संसारभर करिब १० प्रतिशत मानिस मिर्गौला सम्बन्धी कुनै न कुनै समस्याबाट पीडित छन् । तथ्यांकहरू हेर्दा नेपालमा पनि मिर्गौला रोगीको सख्याँमा वृद्धि भइरहेको छ । मिर्गौला स्वस्थ हुन हाम्रो खानपान र जीवनशैली स्वस्थ हुन जरुरी हुन्छ।

एकदिन अस्पतालको ओपिडीमा एकजनायुवा आफ्नो बुबासहित आउनुभयो । मैले सोचेको थिएँ, बुबा बिरामी भएर ल्याउनुभएको होला । फाइल हेरेपछि थाहा भयो, छोराको पो मिर्गौला फेल भएको रहेछ ।

परिवार पाल्नका लागि खाडी मुलुकमा काम गर्न जानुभएका उहाँ कामको धपेडी र खानपानमा ध्यान दिन नसक्दा गएको ९ महिनामै बिरामी भएर फर्किनुभएको रहेछ ।

बुढेसकालको सहारा बन्ला ठानिएको छोराका आफैँ सहारा बनेर अस्पताल धाउनुपर्दाको पर्दाको पीडा बुबाको अनुहारमा प्रष्ट देखिन्थ्यो ।

कुराकानीबाट थाहा भयो कि, विदेशमा हुँदा १० घण्टा काम गर्ने, समयमा नखाने, पानी प्रशस्त नपिउने, मासु धेरै खाने र धेरै मदिरा पिउने हुन्थ्यो । यही दैनिकी र जीवनशैलीका कारण मिर्गौला फेल हुने अवस्था आएको थियो ।

उनी त एक जना प्रतिनिधि पात्र मात्र थिए । पछिल्लो समय युवा उमेरमै मिर्गौला रोग लाग्नेको ग्राफ उकालो लाग्दो छ ।

खासगरी युवा अवस्थामै मिर्गौला बिग्रिएपछि उत्पादनशील काममा लाग्नु पर्ने समयमा अस्पताल धाउनुपर्दा परिवार र राज्यकै आर्थिक, सामाजिक विकासका लागि चुनौती बनिरहेको छ।

मिर्गौला फेल भएर अस्पताल धाइरहनु पर्ने, ठूलो धनराशी उपचारमा सकिने र कष्टकर जीवन बिताउनु पर्ने अवस्थाबाट बच्न समयमै सचेन हुनु जरुरी छ ।

यसका लागि पहिलो कुरा बेलामै खानपान र जीवनशैलीमा सुधार ल्याउन जरूरी छ । कुनै समस्या नभएपनि समयमै मिर्गौला परीक्षण गरी रोगको निदान र उपचार गर्नु बुद्धिमानी हुन्छ ।

मिर्गौला रोगबाट बच्न खानपान  ?

सामान्य हिसाबले बुझ्दा मिर्गौला हाम्रो शरीको एउटा फिल्टर जस्तो अगं हो, जस्ले शरीरको रगतमा भएका विकारलाई छान्ने काम गर्दछ। रगतमा भएका विकार छान्न नसक्नु भनेकै मिर्गौलाको रोग लाग्नु हो। मिर्गौला बिग्रिनुमा हाम्रो खानपान र जीवनशैलीको धेरै भूमिका रहन्छ।

मधुमेह, उच्च रक्तचाप जस्ता नसर्ने रोगका कारण मिर्गौला बिग्रिन सक्छ । यी रोग खानपान र जीवनशैलीसँग धेरै सम्बन्धित छन् ।

नुनमा हुने सोडियमले रक्तचाप र मिर्गौलामा पत्थरी हुने खतरा बढाउँछ। नुन कम खाने बानीले यी दुवै खतराबाट बच्न मद्दत गर्दछ । वयस्कले दैनिक एक चिया चम्चा अर्थात ५ ग्राम भन्दा कम र बालबालिकाले आधा चिया चम्चाभन्दा कम नुन खानुपर्छ ।

दैनिक योगा गर्ने, शारीरिक व्यायाम गर्ने, चिन्तामुक्त रहने, धेरै नुन वा चिनी भएका बजारिया खानेकुरा नखाने गर्दा मिर्गौला रोग लाग्ने कारकबाट बच्न सकिन्छ।

बट्टामा लामो समय राखेका परिकारहरू सकेसम्म नखाने, कार्बोनेटेड पेय पदार्थ नखाने, चिल्लो, तारेको खानेकुरा नखाने, सकेसम्म रिफाइन्ड नगरेको वा बोक्रा र चोकर ननिकालिएको अन्न खाने गर्नु निकै लाभदायक हुन्छ।

फलफूलको जुसको सट्टामा सिङ्गो फल खाने र धुम्रपान तथा मद्यपान नगर्ने गर्नाले मिर्गौला मात्र हैन धेरै नसर्ने प्राणघातक रोगबाट बच्न सकिन्छ । वयस्कले दिनमा आठ गिलास पानी अनिवार्य पिउनुपर्छ ।

आफैँ जथाभावी औषधी, पेनकिलर नखाने, रक्तचापको अवस्थालाई नियन्त्रित राख्ने, युरिक एसिड, कोलेस्टेरोलको मात्रालाई ठिक राख्ने गरेमा मिर्गौलालाई फाइदा पुग्दछ।

नियमित रूपमा मिर्गौलाको जाँच गर्न सके आवश्यक सावधानी अपनाउन सकिन्छ । स्वस्थ खानपान र सक्रिय जीवनशैली अपनाउन सके मघुमेह, मुटुरोग र मिर्गौला रोगजस्ता नसर्ने प्राणघातक रोगबाट बच्न सकिन्छ ।

मिर्गौला रोग लागेका के खाने के नखाने ?

मिर्गौला फेल भएका बिरामीले उच्च प्रोटिनयुक्त खानेकुरा जस्तै माछामासु, दुध र दूधजन्य खाना, गेडागुडी, नट्स न्युन कम मात्रै खानुपर्छ । पोटासियम कम भएका तरकारी तथा फलफूलहरु खाने गर्नुपर्दछ ।

पोटासियमको मात्रा धेरै हुने तरकारीहरूमा हरियो धनियाँ, लट्टेको साग, पालुंगो साग, पिँडालु, सख्खरखण्ड, कर्कलो, सबैखालका गाढा हरियो तरकारीहरू पर्छन् ।

त्यसैगरी सजिवन, कुरिलो, सुकाएको फलफूल तथा तरकारी, खसी, राँगा, बंगुरको मासु, गोलभेडा, तामा, गुन्द्रुक, सिन्की, च्याउ आदि पर्दछन् । यी खानेकुरा मिर्गौला रोगीले एकदमै कम खानुपर्छ ।

यस्ता तरकारी पकाउँदा राम्ररी पखाल्ने, सानो टुक्रामा काट्ने, २ देखि ३ घण्टा तातोपानीमा भिजाउने, पानी फाल्ने र पकाउने वा उमालेको पानीमा तरकारी राखेर १० देखि १५ मिनेट फेरि उमाल्ने, पानी फाल्ने र पकाउने गरेमा केही हदसम्म पोटासियम नाश हुन्छ र मिर्गौलाका बिरामीलाई फाइदा गर्छ ।

तरकारी पकाउँदा बेसार, मसालाहरु एकदम कम राखेर पकाउने गर्नुपर्दछ । त्यस्तै पोटासियमको मात्रा कम भएका फलफूलहरु जस्तै-: नास्पाती, भुइँकटहर, पाकेको मेवा, स्याउ, अम्बा, खरबुजा, स्ट्रबेरी आदि खान सकिन्छ ।

तर पोटासियमको मात्रा बढी हुने आँप, अमला, आलुबखडा, आरु, केरा, जुनार, सुन्तला, अनार, एभोकाडो जस्ता फलफूलहरु भने कम मात्रामा खानु पर्दछ ।

यस्ता बिरामीले नुन दिनमा २–३ ग्राम (आधा चिया चम्चा) मात्र खाने, चिल्लो, तारेको खानेकुराहरु नखाने, धेरै नुन वा चिनि भएका बजारिया खानेकुरा नखाने, कार्बोनेटेड पेय पदार्थ (बोलीचालीको भाषामा चिसो पेय पनि भनिन्छ) नखाने गर्नु पर्दछ ।

मिर्गौलाका बिरामीले प्रशोधित मासु, प्याकेटको सुप, रेडिमेड अचार, पुरानो गलेको अचार खानु हुँदैन । धेरै नुन भएका प्रशोधित खाना जस्तै-: चिप्स, तयारी चाउचाउ, चिजबल्स, पापड, क्रेकर नखानु नै उपयुक्त हुन्छ ।

काजु, किसमिस, बदाम, पेस्ता, ओखर लगायत नट्स आफैँमा स्वस्थकर र पोषिला खानेकुरा हुन तर यिनमा फस्फोरसको मात्रा बढी हुने हुँदा मिर्गौलाका बिरामीले सकेसम्म कम कम खानुपर्छ ।

पानी वा तरल पदार्थ कति खाने भन्नेमा भने बिरामीमा सून्निएको छ वा छैन, रक्तचापको अवस्था, पिसाब मापन, रगतमा सोडियमको मात्रा आदिमा भर पर्छ।

यहा बुझ्नु पर्ने कुरा के छ भने सामान्य र स्वस्थ व्याक्तिका लागि स्वस्थकर र पोषिला मानिने खानेकुरा पनि मिर्गौलाका बिरामीका लागि असर गर्ने हुन सक्दछ ।

अतः खानपानका बारेमा जानकारीका लागि नियमित डाइटिसियनको परामर्श लिनु पर्दछ ।

(लेखक भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकी डाइटिसियन हुन्)

खानपान मिर्गौला रोग
वर्षा भट्टराई
लेखक
वर्षा भट्टराई
पोषणविद्

अध्ययन : एमएस्सी पोषण र आहारशास्त्र (पूर्वाञ्चल विश्वविद्यालय) हाल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आहार अधिकृतको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय