+
+

दुई समुदायबीच झडप भएपछि बर्दियामा कर्फ्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज १६ गते १३:१९

१६ असोज, गुलरिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले नेपालगञ्ज-गुलरिया सडकखण्ड अन्तर्गत पर्ने लालपुरको एक किलोमिटर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । दुर्गा पूजाको मूर्ति बिसर्जन गर्ने हिन्दु समुदाय र मोहरमको ताजीया बिसर्जन गर्ने मुस्लिम समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले गुलरिया नगरपालिका ११ लालपुरको ५ सय मिटर वरपरकाे क्षेत्रमा कर्फ्यु लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भने, ‘शान्तिसुरक्षा भंग भई तनावग्रस्त स्थिति उत्पन्न भएपछि निषेधाज्ञा जारी गरिएको छ ।’ निषेधाज्ञाको अवधिभर लालपुरमा दुईजना भन्दा बढी ब्यक्ति एक ठाउँमा भेला हुन, सभा सम्मेलन गर्न र विरोध प्रदर्शन गर्न नपाइने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

हिन्दु समुदायको दुर्गा पूजाको मूर्ति बिर्सजन गर्ने र मुस्लिमको ताजिया बिसर्जन गर्न जाने बाटो एउटै परेपछि दुई पक्षबीच आइतबार साँझ झडप भएको थियो । हिन्दु र मुस्लिम समुदायबीचको झडप रोक्न प्रहरीले दर्जनौं सेल अश्रु ग्यास र हवाइ फायर गरेको थियो । प्रहरी र सर्वसाधारण दुबैतर्फ एक दर्जन बढी घाइते भएका छन् ।

आइतबार साँझ स्थानीय प्रशासनले तत्कालै बल प्रयोग गरी स्थिति नियन्त्रणमा लिए पनि सोमबार बिहान पुनः दुबै पक्षबीच ढुंगा हानाहान भएको थियो । त्यसपछि असहज परिस्थिति थप नबढोस् भनेर स्थानीय प्रशासनले कर्फ्यु लगाएको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले अनलाइनखबरलाई जानकारी दिए ।

कर्फ्यु लगाइएका कारण नेपालगञ्ज-गुलरिया सडक खण्ड पूर्णरुपमा बन्द छ । समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा राजनीतिक दल सुरक्षाकर्मी, स्थानीय बुद्धिजिवि लगायतको सर्वदलीय-सर्वपक्षीय बैठक बस्ने तयारी भइरहेको छ ।

– दीपक शर्माबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?