+
+
Shares

मनोरञ्जनको भरपुर डोज ‘छक्का पञ्जा-२’

शिव मुखिया शिव मुखिया
२०७४ असोज १७ गते १४:१५

फिल्मः छक्का पञ्जा-२
निर्देशक: दीपाश्री निरौला
कास्टः दीपकराज गिरी, केदार घिमिरे, पि्रयंका कार्की, स्वस्तिमा खड्का आदि ।

दशैंको छेक पारेर सार्वजनिक भएको फिल्म ‘छक्का पञ्जा-२’ हेर्ने ताँती झन्-झन् लम्बिँदैछ । अक्सर हिन्दी फिल्मको सामुन्ने बामपुड्को बन्नुपर्ने नेपाली फिल्मको नियति फेरिएको छनक दिन्छ, यो फिल्म हेर्ने लस्करले ।

खासगरी, मल्टिप्लेक्समा हिन्दी फिल्म चलेको बेला नेपाली पाखा लाग्थे । तर, अहिले बरुण धवन स्टारर फिल्म ‘जुडवा-२’ लाई लोप्पा खुवाउँदै दर्शकहरु ‘छक्का पञ्जा-२’को टिकट खोजिरहेका छन् । छक्का पञ्जा-२ को टिकट नपाउनेहरु अँध्यारो अनुहार लगाउँदै ‘त्यै हिन्दीको टिकट दिनु न त’ भनेको पनि देखिन्छ ।

स्किन बाहिरका यी परिदृश्यले छनक दिन्छन्, फिल्मले दर्शक तानेको छ ।

कस्तो छ फिल्म ?

फिल्म ‘हल्का रमाइलो’ छ । फिल्म हेरिरहँदा हाई काढ्नु पर्दैन । फिल्मको सबैभन्दा बलियो पक्ष भनेको दर्शकले यसको अन्त्यबारे पूर्वानुमान गर्न सक्दैनन् । अर्थात्, कथामा बहकिँदै जाँदा त्यसको फेद-टुप्पोबारे भेउ पाउन सकिँदैन । यही जिज्ञासाले दर्शकलाई तानिरहन्छ, ह्याप्पी इन्डिङसम्मै ।

फिल्मको मूल कथा प्रेम र धोका नै हो । तर, त्यसको पृष्ठभूमि ‘अब्रोड स्टडी’को बहनामा बिदेसिने ट्रेन्डलाई लिइएको छ । डिपेन्डेट भिसामा युरोप, अमेरिका उड्ने तन्नेरी-लहडको फेरो समाएर कथा बुनिएको छ ।

फिल्ममा अधिकांश कलाकार परिपक्व छन् । उनीहरुको अभिनय स्वाभाविक लाग्छ । हास्यरसयुक्त संवादले फिल्मलाई ‘मनोरञ्जनात्मक’ बनाएका छन् । पाश्र्व ध्वनी र सिनेम्याटोग्राफी लोभलाग्दो छ । यद्यपि, दृश्यमाथि संवाद हावी भएको छ । संवेदनशील विषयमाथि ठट्टा गरिएको छ ।

कथा

आकांक्षा (स्वस्तिमा खड्का) उमेरले टिनएज पार गरिसकेकी छैनन्, अस्ट्रेलिया जान चाहन्छिन् । तर, अस्ट्रेलियामा अध्ययनका लागि भाषा परीक्षा (आईईएलटीएस)मा चाहिने स्कोर प्राप्त गर्न सक्दिैनन् । उनी नामुद वकिल (प्रियंका कार्की) की छोरी हुन् ।

वैदेशिक शिक्षाका लागि कन्सल्टेन्सीको धन्दा चलाएका माग्ने बुढा (केदार घिमिरे)ले जुक्ति फुराउँछन्, ‘आईईएलटीएसमा राम्रो स्कोर गरेका केटा खोजेर डिपेन्डेट भिसामा जाने, नक्कली पत्नी बन्ने ।’

नभन्दै फेला पर्छन् प्रज्वल (स्वरुपपुरुष ढकाल), जोसँग आईईएलटीएसको उच्च स्कोर छ तर पढ्नका लागि चाहिने खर्च छैन । अब, आकांक्षाले उनै प्रज्वलसँग जोडिएर विदेश जाने सपनाको उडान भर्ने तानाबाना बुन्छिन् ।

मन्दिरमा उनीहरुको नक्कली बिहे हुन्छ । बिहे दर्ताका लागि उनीहरु प्रज्वलको गाउँ पुग्छन् । यहाँसम्म सबै ठिकठाक छ । तर, लफडा त्यसबेला आउँछ, जब प्रज्वलकी आमामा वास्तविक बुहारी भित्र्याउने र नाति खेलाउने रहरले पिङ खेल्छ ।

यही मोडमा आएर आकांक्षा फस्छिन् ।

एकातिर उनी बिस्तारै कानूनी झन्झटमा फस्छिन् र अर्कोतिर नक्कली बिहे गरेका प्रज्वल उनीसँग निकट हुन खोज्छन् । अनेक घटनाले उनीहरुलाई आमने-सामने ल्याउँछन् पनि । तर, यही विन्दुमा आएपछि, आकांक्षाका प्रेमी आकाश (आयुषमान देशराज जोशी) को इन्ट्री हुन्छ ।

आकाश उनै हुन्, जसलाई पाउनका लागि आकांक्षा बिदेसिने चक्करमा परेकी छन् । उनको त्यस घनचक्करले पूरै फिल्ममा उथलपुथल ल्याउँछ । कथामा एकपछि अर्को नसोचेको मोड आउँछ । क्लाइमेक्समा पुगेपछि दर्शकले कथाको मेसो त पाउँछन् तर बोझिलो रुपमा ।

कहाँ चिप्लिए ?

फिल्मलाई समग्रमा दोष दिने ठाउँ छैन । यद्यपि, कति दृश्य, संवाद र घटनाहरुमा औंला ठड्याउन सकिन्छ ।

अब्रोड स्टडीका बहानामा डिपेन्डेट भिसा च्यापेर उड्ने आजका तन्नेरीहरुको प्रतिनिधि कथा हो यो । विषय जल्दोबल्दो छ । तर, यसको बुनाई कसिलो छैन । दृश्य र संवाद हँसाउनमै केन्दि्रत हुँदा कथा फितलो भएको भान हुन्छ ।

दोस्रो हाफपछि अदालतको दृश्यलाई समेत एकदमै नौटंकी बनाइएको छ । त्यो दृश्य हेरिरहँदा त्यसअघिका तानाबाना फिका लाग्छन् । अदालतको दृश्य र घटनाहरु हल्का प्रहसनभन्दा गतिला छैनन् ।

नेपाली फिल्मको रोग नै हो, पात्रको मनोविज्ञान एवं प्रवृत्तिलाई जिवन्तता र निरन्तरता दिन नसक्नु । छक्का पञ्जा-२ यसबाट अछुतो छैन । मौका परेको अवस्थामा जुनसुकै पात्रले पनि हास्यरसयुक्त तोडिलो संवाद बोल्न सक्छन् ।

लेखक
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?