१८ असोज, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले सरकार परिवर्तन आफूहरुको प्राथमिकतामा नभएको स्पष्ट पारेका छन् ।
बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै उपाध्यक्ष रावलले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नको लागि सरकारले गम्भीर भएर काम गर्नुपर्ने बताए । उनले भने, ‘हामीले अहिले सरकार फेरबदल गर्नेबारे कुनै रुची राखेको छैन, यो सरकारको काम पनि चुनाव गराउनु नै हो, त्यसैले हामी अहिले सरकार परिवर्तन गर्दैनौं ।’
नेता रावलले यदि आफूहरुको एकता प्रयास र चुनावी तालमेलका कारण कांग्रेसमा आएको छट्पटीले निर्वाचनमा प्रतिकुल असर परे आफूहरुले बाध्य भएर अर्को कदम चाल्ने बताए । तर अर्को कदमबारे भने उनले केहि खुलाएनन् ।
उनले भने, ‘तर हाम्रो उद्देश्य र लक्ष्य अहिले सरकारतिर छैन, चुनावमा हामी केन्दि्रत भएका छौं ।’ उनले वर्तमान सरकारले घोषित मितिभित्रै इमानदारितापूर्वक आफ्नो काम पूरा गरोस भन्दै त्यसका लागि सहयोग गर्न आफूहरु तयार रहेको स्पष्ट पारे ।
देशलाई राजनीतिक स्थायित्वतर्फ लैजानको लागि आफूहरुको तालमेल र पार्टी एकताको प्रयास सुरु भएको स्पष्ट पारेका छन् । रावलले भने, ‘देशमा छोटो-छोटो समयमा हुने सरकार परिवर्तनको कारणले राजनीतिक स्थायित्व हासिल हुन सकेको छैन, त्यसलाई चिर्न र अन्यौलता समाप्त पार्न बाम एकता गरिएको हो ।’
रावलले तीन पार्टीवीचको चुनावी तालमेल र पार्टी एकताको प्रयासबाट अचम्मित बनेर कांग्रेसले अनिष्टको संज्ञा दिनु हास्यस्पद भएको बताए । उनले भने, ‘एउटै दर्शन, विचार र सिद्धात भएका हामीहरुवीच सहकार्यबाट कोही किन यसरी छट्पटीमा पर्नुभएको होला ?मलाई त आश्चर्य लागेको छ ।’
प्रतिक्रिया 4