१९ असोज, काठमाडौं । अर्बपति मुकेश अम्बानी भारतको सबैभन्दा धनी व्यक्ति बनेका छन् भने पतंजली आयुर्वेदका आचार्य बालकृष्ण शीर्ष २० मा पर्ने सबैभन्दा युवा धनाड्य हुन् ।
फोर्ब्स इण्डियाले १०० धनाड्यको सूची सार्वजनिक गर्दै भनेको छ, भारतको आर्थिक बृद्धिद्धर ओरालो लागेपनि टप १०० धनीहरुको कुल सम्पत्तिमा करीब एक चौथाई बृद्धि भएको छ ।’
नोटबन्दी र जीएसजीमा अनिश्चितताका कारण आर्थिक बृद्धिद्धर पछिल्लो तीन वर्षमा सबैभन्दा कम ५.७ मा झरेको छ ।
फोर्ब्स इण्डियाले लेखेको छ, ‘तर, वर्तमान स्थितिबाट प्रभावहीन रहँदै र देशका शीर्ष १०० धनाड्यको भाग्य चम्काउँदै शेयर बजारले नयाँ उचाई हासिल गरेको छ । उनीहरुको साझा सम्पित्ति यो वर्ष २५ प्रतिशतले बढेर ४७९ बिलियन डलरसम्म पुगेको छ ।’
भारतका सबैभन्दा धनी बनेका रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीको ३८ बिलियन अर्थात २.४७ लाख करोड भारु भएको छ । फोर्ब्स इण्डियाले लेखेको छ, ‘तेल र ग्यास टाइकुन मुकेश अम्बानीलाई भन्दा धेरै फाइदा कसैलाई भएन । आफ्नो सम्पत्तिमा १५.३ बिलियन डलर जोडेर उनी पहिलो स्थानमा बलियोसँग कायमै छन् ।’
दोस्रो नम्बरमा विप्रोका मालिक अजीम प्रेमजी छन्, जसको सम्पत्ति मुकेशको आधा अथार्त १९ बिलियन डलर छ ।
धनाड्यहरुको सूचीको तेस्रो नम्बरमा अशोक लेल्याण्डका हिन्दुजा बन्धु, चौथो नम्बरमा आर्सेलर मित्तलका लक्ष्मी मित्तल र पाँचौ नम्बरमा शपुरजी प्यालनजी समूहका प्यालनजी मिश्री छन् ।
फोर्ब्स इण्डियाका अनुसार मुकेश अम्बानी अब एसियाका शीर्ष पाँच धनाड्यमा पर्छन् । भारतीय १०० अर्बपतिको यो सूचीमा २७ जना जस्ता मानिस छन्, जसलाई यति धेरै फाइदा भयो कि यो वर्षमा मात्र उनीहरुको सम्पत्तिमा एक बिलियन डलरभन्दा बढी थपिएको छ ।
भारतका धनाड्यहरुको सूचीमा पतंजली आयुर्वेदका आचार्य बालकृष्ण १९ औं नम्बरमा छन् । ४५ वर्षका उनी शीर्ष २० मा सबैभन्दा कम उमेरका अर्बपति हुन् । उनको सम्पत्ति ६.५५ बिलियन डलर छ । १०० अर्बपतिहरुमा उनी चौथो नम्बरका युवा धनाड्य हुन् ।
प्रतिक्रिया 4