Comments Add Comment

उपत्यकामा तीन सय स्थानमा ‘फायर हाइड्रेन्ट’ जोडिँदै

आगलागी नियन्त्रणमा उपयोगी हुने


२० असोज, काठमाडौं । मेलम्ची आयोजनाबाट पानी वितरण सुरु भएपछि काठमाडौं उपत्यकामा आगलागी नियन्त्रण प्रभावकारी बन्ने भएको छ । मेलम्ची आयोजनाले नै काठमाडौंभित्रै विभिन्न स्थानमा दमकलले पानी भर्न मिल्ने गरी आधुनिक प्रविधिमा आधारित ‘फायर हाइड्रेन्ट’ राख्न थालेको छ ।

मेलम्ची आयोजना कार्यान्ययन एकाइका प्रमुख तिरेश खत्रीका अनुसार उपत्यकाका तीन सयभन्दा बढी स्थानमा दमकलले पानी भर्न सक्ने गरी फायर हाइड्रेन्ट जडानको तयारी गरिएको छ । कतिपय स्थानमा यसको जडान सुरु भएको छ ।

यसले आगलागी नियन्त्रणका लागि पानी भर्न दमकललाई चक्रपथबाहिरका विभिन्न स्रोतसम्म नै पुग्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।

शहरी क्षेत्रमा फायर हाइड्रेन्ट निकै आवश्यक प्रविधि मानिन्छ । आगलागीको जोखिम व्यवस्थापनका लागि यस्ता हाइड्रेन्ट प्रभावकारी मानिन्छ । शहरका सबैजसो भागमा यस्तो प्रविधि जोड्ने अन्तर्राष्ट्रिय अभ्यास पनि छ ।

काठमाडौंको मेलम्चीको पाइपलाइन बिछ्याउने क्रममै हाइड्रेन्ट जोड्न थालिएको हो । शहरका आवासीय तथा कोर एरिया, मुख्य व्यापारिक क्षेत्रहरुमा फरक-फरक प्रविधिका हाइड्रेन्ट जोड्न लागेको प्रमुख खत्रीले जानकारी दिए ।

‘आगलागी नियन्त्रण लागि यसले महत्वपूर्ण भूमिका खेल्नेछ । निश्चित दूरीहरुमा यस्ता हाइड्रेन्टहरु राखेर शहरलाई सुरक्षित राख्ने प्रयत्न हो,’ खत्रीले भने, ‘यो राजधानीमा आगलागीजस्तो भयानक विपत्तिको पूर्वतयारी पनि हो ।’

पाइप बिछ्याउने क्रममै आयोजनाले फायर हाइड्रेन्ट रहने स्थानको पहिचान गरिसकेको छ । र, त्यसैअनुसार सडक किनारामा पोइन्टहरु राखिएका छन् । अब यसको माथिल्लो भाग जडानको काम बाँकी छ ।

हाइड्रेन्टहरुमा सय मिलिमिटरका भल्भ हुनेछन् । यसरी जोडिने हाइड्रेन्टहरु विपद व्यवस्थापनका लागि मात्रै उपयोग गरिने खत्रीले बताए । काठमाडौं र ललितपुरका जनप्रतिनिधिले भने सडक सफा गर्न पनि यसको प्रयोग गर्न चाहेको बताएका छन् ।

तर, त्यसबारे अहिलेसम्म कुनै छलफल नभएको एकाइका प्रमुख खत्रीले जानकारी दिए । आगलागी नियन्त्रणमा लागि हाइड्रेन्ट प्रयोग गरेको दिनमा स्थानीय क्षेत्रमा पानी वितरणको तालिकामा असर पर्न सक्ने बताइएको छ ।

तर, पनि यसको प्रयोग महत्वपूर्ण हुने प्रमुुख खत्री बताउँछन् । अहिले ठूला आगलागीका घटनामा दमकललाई पानी भर्न कहाँ पुग्ने भन्ने समस्या हुने गरेको छ । रिंगरोडभित्र छिटो पानी भर्ने स्रोत छैनन् ।

त्यसैले अब विपदका समयमा हाइड्रेन्टहरु निकै उपयोगी हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment