Comments Add Comment

एमाले-माओवादी सीट बाँडफाँटः कुन प्रदेशमा कति ?

माओवादीले यसरी पाउँदैछ ५६ सीट

२३ असोज, काठमाडौं । आशन्न प्रतिनिधिसभाको चुनावमा ६०/४० प्रतिशतको भागवण्डाका लागि सैद्धान्तिक सहमति गरेका एमाले र माओवादी केन्द्रवीच कुन जिल्लामा कति सीट लिने भन्ने रस्साकस्सी सुरु भएको छ ।

एमालेले राजपाका विद्रोही नेता र नयाँ शक्तिलाई समेत सीट दिनुपर्ने भएकाले त्यसबाट उब्रेका सीटमा मात्रै ६०/४० को भागवण्डा गरिने अडान राखेको छ ।

चुनावपछि पार्टी एकताकै घोषणा गर्ने भन्दै कार्यदल बनाएका एमाले- माओवादी नेताहरुवीच यतिबेला १६५ वटा निर्वाचन क्षेत्रमा कसरी भागवण्डा गर्ने भन्ने विषयमै सहमति जुट्न सकेको छैन ।

कुल १६५ निर्वाचन क्षेत्रलाई ६०/४० मा भागवण्डा गर्दा माओवादीका भागमा करिब ६६ सीट पर्छ । तर, अहिलेसम्मको छलफल अनुसार माओवादीले ५६ सीट पाउने सम्भावना रहेको नेताहरुले बताएका छन् ।

कुन प्रदेशमा कसलाई कति ?

अहिलेसम्म चलिरहेको छलफलका आधारमा ७ वटै प्रदेशमा माओवादी र एमालेवीच ‘बार्गेनिङ’ चलिरहेको छ । यो सहमति अन्तिम नभए पनि सूत्रहरुले दिएको जानकारी अनुसार सीटको बाँडफाँट सम्बन्धी बहस यस्तो छः

प्रदेश १

प्रदेश १ मा प्रतिनिधिसभातर्फ माओवादीले बढीमा ५ सीट पाउने सम्भावना देखिएको छ । यद्यपि उसले ८ सीटसम्म दाबी गरेको छ । प्रदेश १ का २८ सीटमध्ये झापामा १, मोरङमा २ र उदयपुरमा १ सीट माओवादीले पाउने लगभग निश्चित छ ।

माओवादीले सोलुखुम्बु, भोजपुर, खोटाङ र सुनसरीको एउटा सीटमा पनि दाबी गरेको छ । यीमध्ये बढीमा दुई सीट माओवादीलाई दिएर प्रदेशसभा बढी लिने गरी सहमतिको प्रयास भइरहेको एमाले स्रोतले जनाएको छ ।

प्रदेश २

प्रदेश २ का ३२ मध्ये माओवादीलाई १६ सीट छाड्न एमाले तयार भइसकेको छ । यो चनावमा स्थानीय चुनावमा वडाको मतका आधारमा एमाले र माओवादीले बराबरी जितेका छन् भने लोकपि्रय मतमा एमाले केही मतले अगाडि छ ।

प्रदेश २ अन्तर्गत एमालेले सप्तरीमा माओवादीलाई २ सीट छाड्नेछ । बाँकी २ मध्ये एक सीटमा मधेसवादी दलका नेता मोहम्मद इस्लामलाई छाडेर एमाले एक सीटमा लड्न सक्ने सम्भावना छ ।

सिरहामा माओवादीले ३ सीट दाबी गरेको छ । एमालेले दुई-दुई सीट बाँड्ने प्रस्ताव राखेको छ ।

धनुषामा एमाले र माओवादीले दुई-दुई सीट बाँड्ने तयारी गरेका छन् भने महोत्तरीमा माओवादीले ३ र एमालेले १ सिट पाउने सम्भावना छ ।

सर्लाही, रौतहट, बारा र पर्सामा दुई दुई सीट बाँड्ने अनौपचारिक सहमति भएको बुझिएको छ । यद्यपि माओवादीले रौतहटमा पनि तीन सीट दाबी गरेको छ । यहाँ स्थानीय तहको चुनावमा एमाले पराजित भएको थियो ।

प्रदेश २ मा माओवादीले १७ सीट पाउने सम्भावना छ । एमालेले आफ्नो कोटाबाट राजपाका अर्का नेतालाई सूर्य चिन्हबाट लडाउने गरी १४ सिटमात्रै लिने तयारी गरेको छ ।

प्रदेश ३

स्रोतका अनुसार प्रदेश ३ का ३३ निर्वाचन क्षेत्रमध्ये माओवादीले १२ सीट दाबी गरेको छ, जसमा सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, नुवाकोट, धादिङ, चितवन, काभ्रे र ललितपुरमा माओवादीले एक-एक सिट पाउनेछन् । त्यस्तै रामेछापमा पनि प्रतिनिधिसभाको सिट माओवादीले पाउने भएको छ ।

काठमाडौंमा माओवादीले खासै धेरै सीटमा रुची देखाएको छैन । उसले बढीमा ३ सीटसम्म पाउन सक्ने सम्भावना रहेको स्रोतले बतायो ।
एमाले स्रोतले दिएको जनाकारी अनुसार दोलखा, भक्तपुर र रसुवामा माओवादीले प्रतिनिधिसभामा दाबी गरेको छैन । प्रदेश ३ मा माओवादीले १२ सीट पाउने सम्भावना छ ।

प्रदेश ४

प्रदेश ४ मा प्रतिनिधिसभाका १६ सिटमध्ये माओवादीले ७ सिट दावी गरेको छ । तर, स्थानीय तहको चुनावको परिणाम र सांगठानिक अवस्था हेर्दा माओवादीलाई बढीमा ४ सिट भन्दा छाड्न नसकिने निष्कर्षमा एमाले नेताहरु छन् ।

माओवादीले गोरखाका दुबै सीट दाबी गरेको छ । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई पनि गोरखाबाटै चुनाव लड्ने तयारीमा छन् । अहिले यो सबैभन्दा पेचिलो विषय बनेको छ कार्यदलमा । माओवादी कायकर्ताहरु सूर्य चिन्ह लिएर उम्मेदवार बन्न लागेका बाबुरामप्रति असाध्यै नकारात्मक देखिएको एक एमाले नेताले बताए ।

स्रोतका अनुसार माओवादीलाई गोरखा, तनहँ र बाग्लुङमा एक-एक सीट दिन एमाले सहमत भएको छ ।

माओवादी नेता देव गुरुङले इच्छा व्यक्त गरेकाले एमालेका पृथ्वीसुब्बा गुरुङ सहमत भएमा माओवादीले लमजुङ पाउनेछ । कास्की र स्याङ्जामा भने माओवादीको जित्न सक्ने मत नभएकाले त्यहाँ दावी नगरेको एमाले नेता बताउँछन् । यद्यपि देव गुरुङले कास्की १ बाट चुनाव लड्ने रुची देखाएका छन् ।

मनाङ र मुस्ताङमा माओवादीको उपस्थिति कमजोर रहेकाले उसले म्याग्दीको प्रतिनिधिसभाको सीट दावी गरेको छ । सम्भवतः माओवादीले गोरखा, तनहुँ, लमजुङ, बाग्लुङ र म्याग्दी समेत गरी ५ सीट पाउने एमाले नेता बताउँछन् ।

प्रदेश ५

प्रतिनिधिसभामा २६ सीट रहेको प्रदेश नम्बर ५ मा माओवादी र एमालेमात्र होइन, राजापाका विद्रोही नेतालाई पनि सीट बाँडफाँड गरिँदैछ, जसमा हृदयेश त्रिपाठी नेतृत्वका चार राजपा नेताले चार सीट पाउनेछन् । उनीहरु सूर्य चिन्हबाट लड्ने निश्चित भइसकेको छ ।

बाँकी रहेका २२ सिटमध्ये माओवादीले नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ र बर्दियामा एक-एक सीट पाउने एमाले नेता बताउँछन् ।

त्यस्तै अर्घाखाँची, रोल्पा र रुकुमका तीनै सीट माओवादीले पाउने सम्भावना छ । प्युठानमा मसाललाई छाड्ने वा वामदेव गौतम लडेको खण्डमा एमालेले पाउने भन्ने टुंगो छैन । त्यहाँ माओवादीले पनि मणि थापाका लागि दाबी पेश गरेको छ ।

प्रदेश नं ५ मा माओवादी र राजपाका विद्रोही नेताले लिएर बाँकी रहेका १४ वा १५ सीटमा एमाले लड्ने स्रोतले जनाएको छ ।

प्रदेश ६

स्थानीय तहको मत परिणामका आधारमा एमालेभन्दा केही मतले मात्रै पछि परेको माओवादीले प्रदेश ६ मा आधा अर्थात ५० प्रतिशत सिट पाउने एमाले नेताहरु बताउँछन् । प्रदेश ६ का १२ सीटमध्ये माओवादीले सल्यान, रुकुम, जाजरकोट, कालिकोट र जुम्ला पाउने लगभग सहमति भइसकेको नेताहरुले बताएका छन् ।

माओवादी तर्फबाट हुम्ला र सुर्खेतको २ नम्बर क्षेत्र पनि दावी पेश भएको छ । यीमध्ये दुवै सिट माओवादीले पाएमा एमालेले १२ मध्ये ५ सिटमा मात्रै प्रतिनिधिसभा सदस्य उम्मेदवार उठाउनेछ । तर, उसले सुर्खेतका दुवै सीटमा दाबी गरेको छ ।

प्रदेश ७

प्रदेश ७ मा प्रतिनिधिसभा १६ सीटमध्ये एमाले र माओवादीबीच कतिकति बाँड्ने भन्ने बारेमा कार्यदलमा छलफल भइसकेको छैन । माओवादीले कैलालीमा ५ मध्ये २ र कञ्चनपुरमा ३ मध्ये एक सिट पाउने अनौपचारिक सहमति भएको स्रोतले अनलाइनखबरलाई बतायो ।

त्यस्तै वैतडी, दार्चुला र डडेलधुराका तीन सीटमध्ये माओवादीले एउटा र एमालेले दुई सिट पाउने सम्भावना छ ।

उता सेतीका पहाडी जिल्लामध्ये डोटी, बझाङ र बाजुरा एमालेले दाबी गरेको छ । अछाममा एक-एक सीट बाँड्ने सम्भावना रहेको स्रोतको भनाइ छ ।

यसो गर्दा माओवादीले ७ नम्बर प्रदेशका १६ मध्ये ५ सिट पाउनेछ । तर, माओवादी पक्षबाट भने १६ मध्ये कम्तिमा ६ सीट दावी पेश भएको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment