News Summary
Generated by OK AI. Editorially reviewed.- प्रदेश सरकारले ल्याएको ३७ अर्ब ७० करोडको बजेटप्रति असन्तुष्टि जनाउँदै एमाले सुदूरपश्चिमका प्रदेश सभा सदस्य बिरबहादुर थापाले सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा दिएका छन्।
- थापाले एमाले संसदीय दलको बैठकमा बजेटबारे सबै सांसदलाई धारणा राख्न दिनुपर्ने माग गरे पनि छलफलमा भाग लिन नपाएपछि असन्तुष्टि जनाएका थिए।
- सभामुख भण्डारीले राजीनामा सम्बन्धमा निर्णय गर्न बाँकी रहेको र २० कात्तिकभित्र पूरक बजेट ल्याउने बताएका छन्।
२८ असोज, धनगढी । नेकपा एमाले सुदूरपश्चिमका प्रदेश सभा सदस्य बिरबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै थापाले सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा दिएका हुन् ।
थापा निवर्तमान भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री समेत हुन् ।
स्रोतकाअनुसार थापाले एमाले संसदीय दलको बैठकमा बजेटलाई हतारमा पारित गर्न नहुने, सबै सांसदले बजेटबारे धारणा राख्न पाउनुपर्ने माग गरेका थिए । तर, संसदीय दलले थापालाई बजेटमाथिको छलफलमा भाग नै लिन नदिएपछि उनी असन्तुष्ट बनेका थिए ।
राजीनामा होल्ड
थापाले मंगलबार नै सभामुख भण्डारीलाई राजीनामा पत्र बुझाइसकेका छन् । तर, सभामुख भण्डारीले यसबारे निर्णय लिन बाँकी छ ।
उनी कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । थापाको सचिवालयले भने यसबारे औपचारिक रुपमा धारणा सार्वजनिक गरेको छैन । थापाका स्वकीय सचिव राधाकृष्ण जोशीले यसबारे जानकारी नभएको बताए ।
प्रदेश सरकारले चालु वर्षका लागि ३७ अर्ब ७० करोड बराबरको बजेट ल्याएको थियो । बजेटप्रती सत्तारुढ दलकै सांसदहरु असन्तुष्ट छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारबीच मंगलबारको प्रदेश सभा बैठकले बजेट पारित गरेको छ ।
तर, सभामुख भीमबहादुर भण्डारीले संसदीय अध्ययन समिति गठन गर्ने र त्यसले दिने प्रतिवेदनका आधारमा अगामी २० कात्तिक भित्र पूरक बजेट ल्याउने बताएका छन् ।
प्रतिक्रिया 4