News Summary
Generated by OK AI. Editorially reviewed.- टम क्रुज अभिनीत ‘डिगर’ लाई उनको करियरकै सबैभन्दा अनौठो, विवादास्पद र व्यंग्यात्मक फिल्म भनिएको छ ।
- कथामा अलास्काको तेल उत्खननले हिमनदी फुटेर युरोपतर्फ बग्ने र केही दिनमा सुनामीको खतरा उत्पन्न हुने देखाइएको छ।
एक अनौठो तेल व्यवसायीको रूपमा टम क्रुजको अभिनयले ‘डिगर’ लाई उनको अहिलेसम्मकै ‘सबैभन्दा अनौठो फिल्म’ बनाएको छ । यो असफल पनि हुन सक्छ। तर दर्शकले सोचेभन्दा धेरै कुरा यस विवादास्पद र व्यंग्यात्मक कमेडीमा लुकेको छ, जसमा दुईवटा विशेष र नौला ‘ट्विस्ट’ हरू पनि समावेश छन्।
टम क्रुज यस्ता कामहरू गर्छन् जुन हामीजस्ता सामान्य मानिसका लागि डरलाग्दा लाग्छन् । चाहे त्यो विमानको बाहिरी भागमा झुन्डिने होस् वा पहाडको टुप्पोबाट मोटरसाइकलसहित हाम फाल्ने होस् । तर, उनको नयाँ फिल्म उनको करियरकै सबैभन्दा ठूलो जोखिम हो ।
यसपटक उनलाई कुनै हड्डी भाँचिने वा शारीरिक चोटपटक लाग्ने खतरा त छैन, तर उनीमाथि ‘देखावटी’ र ‘आत्म-रतिमा रमाउने’ भनी आरोप लाग्ने जोखिम भने छ । यससँगै एउटा ठूलो असफलताको दाग लाग्ने सम्भावना पनि उत्तिकै छ।
‘अमोरेस पेरोस’, ‘बर्डम्यान’ र ‘द रेभेनेन्ट’ जस्ता फिल्मका मेक्सिकन निर्देशक अलेजान्ड्रो जी. इनारितुले निर्देशन र सह-लेखन गरेको ‘डिगर’, सायद कसैले पनि बनाएको अहिलेसम्मकै सबैभन्दा अनौठो फिल्म हो ।
धेरैजसो मानिसहरू यो हेर्न जाने छैनन् र गएकाहरूमध्ये पनि कतिपय बीचमै हलबाट बाहिर निस्कन सक्छन् । तर यसको अर्थ ‘डिगर’ असफल भयो भन्ने होइन। कुरा यति मात्र हो कि यो एक अनौठो, उपदेशात्मक र वैचारिक रूपमा चुनौतीपूर्ण ‘इको-सटायर’ हो । त्यसैले यसलाई ‘मिसन: इम्पोसिबल’ जस्तो फिल्म ठान्ने गल्ती कसैले गर्ने छैन।
टम क्रुजको अनौठो रूप
क्रुजका पछिल्ला फिल्मभन्दा ‘डिगर’ फरक हुनुको पहिलो कारण उनको चरित्र हो । यसमा उनी सधैँ जवान देखिने, शारीरिक रूपमा बलियो, साहसी र अन्ततः महान् साबित हुने नायकका रूपमा प्रस्तुत छैनन्।
अभिनेता क्रुजले अनुहारमा बाक्लो कृत्रिम मेकअप लगाएर आफ्नो रूप पूरै बदलेका छन् । कपाल झरेको, कपाल फुलेको र भुँडी लागेको टेक्सासका एक तेल व्यापारीका रूपमा उनी देखिन्छन् ।
उनको भुँडी कति ठूलो छ भन्ने कुरा भित्री लुगा मात्र लगाएको दृश्यमा प्रस्ट देखिन्छ । यो दृश्य क्रुजकै करिअरको सुरुवाती चर्चित फिल्म ‘रिस्की बिजनेस’ को एउटा दृश्यको अनुकरण जस्तो देखिन्छ ।

‘ट्रोपिक थन्डर’ मा उनले लेस ग्रोसम्यान नामक विचित्र पात्रको छोटो भूमिका निर्वाह गरेका थिए । त्यतिबेला उनको रूप परिवर्तनले दर्शकलाई मनोरञ्जन दिएको थियो। तर, ‘डिगर’ मा भने पूरै फिल्मभरि मुख्य पात्रलाई नै यस्तो अनौठो रूपमा प्रस्तुत गरिएको छ, यो निर्देशकको निकै साहसी छनोट हो ।
वातावरणको विनाशप्रति बेवास्ता गर्ने तेल व्यापारी
‘डिगर’ मा केही पनि कुरा सूक्ष्म ढङ्गले प्रस्तुत गरिएको छैन । मुख्य पात्र डिगर रकवेलको ऐतिहासिक शैलीको विशाल घर जङ्गली जनावरका छालाहरू र तिनका आकृतिहरूले भरिएका छन् । घर हेर्दा भिक्टोरियन युगको प्राकृतिक इतिहास सङ्ग्रहालयजस्तै लाग्छ ।
विडम्बना के छ भने, यति धेरै जनावरका आकृति सजाएर राख्ने रकवेल आफ्नै दुब्लो बिरालोको स्वास्थ्यलाई लिएर भने निकै चिन्तित हुन्छन् ।
उनमा भावना नभएका होइनन् । हरित ऊर्जाको व्यवसाय गर्ने आफ्नी सौतेनी बहिनीलाई पनि उनी माया गर्छन् । उक्त भूमिकामा अभिनेत्री सान्द्रा ह्युलर देखिएकी छिन् । तर, उनको प्रतिभालाई फिल्ममा अपेक्षाकृत कम उपयोग गरिएको छ ।
यस भूमिकामा रकवेल पैसाको पछि लाग्ने एक घमण्डी धनाढ्यका रूपमा रहेका छन् । पैसाबाहेक उनलाई अरू कुनै कुराको खास मतलब छैन । वातावरणप्रति त झन् पटक्कै चासो छैन ।
एक दिन उनको कम्पनीले अलास्कामा गरिरहेको तेल उत्खननका कारण एउटा हिमनदी दुई टुक्रिएको खबर उनका कर्मचारीले उनलाई सुनाउँछन् । तर, रकवेल समस्या स्वीकार गर्नुको सट्टा आफूलाई केही थाहा नभएको नाटक गर्छन् । उनी हाँसेर समस्यालाई उडाउँछन्, आफूले कति मानिसलाई रोजगारी दिएको छु भन्दै भाषण गर्छन् र जिम्मेवारीबाट पन्छिन् खोज्छन् ।

तर, वास्तविकता लुकाएर लुक्दैन।
एउटा सानो देशजत्रै विशाल हिम भट्टान हिमनदीबाट छुट्टिएर उत्तरी युरोपतर्फ बग्न थाल्छ । यही कारण केही दिनभित्रै आउने सुनामीले युरोपका कैयौँ ठूला सहर डुबाउने खतरा उत्पन्न हुन्छ ।
काल्पनिक कथा, तर वास्तविकतासँग नजिक
अमेरिकी राष्ट्रपति बनेका जोन गुडम्यानको पात्रले आपत्कालीन बैठक बोलाउँछ । त्यसपछि रकवेलको भव्य घरमा सुट र सैनिक पोसाक लगाएका करिब एक दर्जन पुरुष भेला हुन्छन् । उनीहरू टेबुल वरिपरि बसेर चिच्याउँदै र गालीगलौज गर्दै छलफल गर्छन् । बैठकमा महिला नहुनुलाई लिएर पनि फिल्ममा रमाइलो व्यङ्ग्य गरिएको छ ।
वैज्ञानिकको भूमिकामा रहेका रिज अहमदले परिस्थितिको गम्भीरता बुझाउन निकै प्रयास गर्छन् । उनी आफ्नो कुरा बुझाउन नसक्दा निराश र व्याकुल देखिन्छन् । तर, अन्ततः बैठकमा सहभागीहरू एउटा योजनामा सहमत हुन्छन् ।
उनीहरू सैनिक शक्तिको प्रयोग गरेर हिमचट्टानको दिशा परिवर्तन गर्न चाहन्छन् । त्यो योजना सफल नभए के गर्ने त ? त्यसपछि अमेरिकी कम्पनीलाई सम्भावित विनाशको दोष नलागोस् भनेर घटनाबारे सार्वजनिक रूपमा बनाइने भाष्य नै नियन्त्रण गर्ने उपाय अपनाउन सकिन्छ भन्ने उनीहरूको सोच हुन्छ ।
राष्ट्रपतिका धार्मिक सल्लाहकारले भने एउटा कुरा सुनिश्चित गराउँछन्– ईश्वर उनीहरूकै पक्षमा छन् ।
यो कथाको सबैभन्दा रोचक पक्ष के हो भने, केही वर्षअघिसम्म यस्तो परिस्थिति देखाइएको भए यसलाई अतिरञ्जित र अविश्वसनीय कथा भनिन्थ्यो होला । तर, अहिले हेर्दा यो कुनै वृत्तचित्रजत्तिकै सम्भाव्य लाग्न सक्छ ।
हिमखण्डको कथा आफैँमा भयावह छ । तर, जलवायु परिवर्तन र एल निनोसम्बन्धी समाचारसँगै राखेर हेर्दा यसले उठाएका प्रश्नहरू वास्तविक संसारबाट धेरै टाढा छैनन् ।
व्यङ्ग्यका रूपमा मात्र हेर्दा पनि ‘डिगर’ निकै प्रभावशाली फिल्म हो । तर, यसको कथा त्यतिमै सीमित छैन ।
कथालाई नयाँ अर्थ दिने दुई अप्रत्याशित मोड
फिल्ममा दुईवटा यस्ता अप्रत्याशित मोड छन्, जसले अहिलेसम्म दर्शकले देखेका घटनालाई नै नयाँ ढङ्गले बुझ्न बाध्य बनाउँछन् । ती मोडबारे धेरै खुलासा गर्नु उचित हुँदैन।
यति भन्न सकिन्छ, फिल्मको पहिलो पूर्ण लम्बाइको ट्रेलर सार्वजनिक हुँदा यसको प्रस्तुति यति कृत्रिम र अतिरञ्जित देखिएको थियो कि कतिपयले निर्देशक इन्यारिटुले साँच्चिकै सङ्गीतप्रधान फिल्म बनाएका त होइनन् भनेर प्रश्न गरेका थिए।
तर, वास्तविक फिल्मको रहस्य त्योभन्दा पनि चकित पार्ने खालको छ।
टम क्रुजलाई ओस्कारको लोभ थियो ?
आलेहान्द्रो जी इन्यारिटु बहुचर्चित ओस्कार विजेता निर्देशक हुन् । लियोनार्दो डिक्याप्रियोले पनि ‘द रेभेनन्ट’ मा अभिनय गरेबापत ओस्कार जितेका थिए ।
त्यसैले केही समीक्षकले, म आफैँसमेत, ‘डिगर’ टम क्रुजले ओस्कार जित्ने उद्देश्यले बनाएको फिल्म हुन सक्ने अनुमान गरेका थिए । गत वर्ष गभर्नर्स अवार्डमा मानार्थ ओस्कार प्राप्त गरे पनि उनले ओस्कार समारोहको प्रतिस्पर्धात्मक विधामा अहिलेसम्म पुरस्कार जितेका छैनन् ।
तर, ‘डिगर’ हेरेपछि त्यो अनुमान सही लाग्दैन ।
यदि क्रुजको मुख्य उद्देश्य पुरस्कार जित्नु मात्र हुन्थ्यो भने उनले यति असामान्य र राजनीतिक रूपमा यति स्पष्ट सन्देश दिने फिल्म रोज्ने थिएनन् । यो दर्शकलाई खुसी पार्ने र प्रतिष्ठित पुरस्कारको दौडमा सहजै सामेल हुन सक्ने खालको फिल्म होइन।
बरु, यो यस्तो फिल्म हो, जसलाई कसैले असाध्यै मन पराउन सक्छन् भने कसैले पटक्कै मन नपराउन सक्छन् । सम्भवतः मन पराउनेभन्दा मन नपराउने दर्शकको सङ्ख्या नै बढी हुनेछ । यसका केही दृश्य र प्रस्तुति आवश्यकताभन्दा बढी लम्बिएका छन् । अधिकांश दर्शकले फिल्म छोटो भएको भए हुन्थ्यो भन्ने महसुस गर्न सक्छन्।
करिब ९० मिनेट बितेपछि जोन गुडम्यान चिच्याइरहेका दृश्यहरू दोहोरिँदा दिक्क लाग्न थाल्छ । रिसले उनको निधारमा नसा फुलेको क्लोजअप बारम्बार देखाइन्छ। तर, टम क्रुज जब सेटभरि यताउता गर्दै तेल उद्योगबारे चर्को भाषण दिन्छन्, तब उनको अभिनयको विशाल स्वरूप देखेर मुस्कुराउन मन लाग्छ ।
उनको अभिनयमा रहेको दृढता, पटकथाले उठाएको वातावरणीय विनाशको गम्भीर सन्देश र इन्यारिटुको उन्मुक्त निर्देशन शैलीले फिल्मलाई प्रभावशाली बनाएका छन् ।
यही फिल्म कुनै प्रयोगधर्मी स्वतन्त्र फिल्मका लागि परिचित अभिनेताले खेलेका भए यसलाई साहसी प्रयोग भन्दै प्रशंसा गरिन्थ्यो होला । तर, हलिउडका सबैभन्दा ठूला स्टारमध्ये एक टम क्रुजले अभिनय गरेका कारण धेरै दर्शकले प्रश्न गर्नेछन्– उनले यस्तो फिल्म किन बनाए?
तर, क्रुजको साहसको प्रशंसा गर्नैपर्छ।
बीबीसीबाट
‘डिगर’
निर्देशक : आलेहान्द्रो जी इन्यारिटु
कलाकार : टम क्रुज, सान्द्रा ह्युलर, रिज अहमद, जोन गुडम्यान
अवधि : १२८ मिनेट
प्रदर्शन मिति : अमेरिका र बेलायतका हलमा अक्टोबर २
समीक्षा मूल्यांक : ५ मध्ये ४ तार
प्रतिक्रिया 4