Comments Add Comment

गृहमन्त्री भन्छन्- पेस्तोलसहित तीनजना पक्राउ परे

गौचनको हत्यामा संलग्नलाई छिट्टै सार्वजनिक गरिने

२३ असोज, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यालगत्तै तीन जनालाई पेस्तोलसहित पक्राउ गरिएको जानकारी दिएका छन् ।

शंकास्पद तीनजना पेस्तोलसहित पक्राउ परिसकेको भन्दै मन्त्री शर्माले हत्यामा संलग्न व्यक्तिलाई छिट्टै सार्वजनिक गरिनेे बताए । गौचनको हत्यालगत्तै परिचालित प्रहरीले काठमाडौं उपत्यकाबाटै पेस्तोलसहित तीनजना पक्राउ गरेको जानकारी आफूले पाएको मन्त्री शर्माले अनलाइनखबरलाई बताए ।

उनले शोकाकुल परिवार र निर्माण व्यवसायीलाई धैर्यधारण गर्न आग्रह गरे ।

घटनास्थल जान लागेका मन्त्री शर्मालाई बाटोबाटै फर्काइयो

मन्त्री शर्मा गौचनको हत्याको खबर पाएपछि घटनास्थल जान भनेर गृहमन्त्रालयबाट हिँडेका थिए । तर, सुरक्षाकर्मीले सुरक्षाको कारण देखाउँदै बीचबाटोबाटै फर्काएका थिए ।

बानेश्वर क्षेत्रमा मृतकका आफन्त र निर्माण व्यवसायीहरुले शान्ति सुरक्षाको माग गर्दै गृहमन्त्री शर्माविरुद्ध नाराबाजी गरेका छन् ।

मन्त्री शर्मा गृहमन्त्रालय फर्किएर प्रहरी अधिकारीहरुको आकस्मिक बैठक बोलाएका छन् । बैठकमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले गौचनको हत्यालगत्तै परिचालित प्रहरीले काठमाडौं उपत्यकाबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको जानकारी गराएका थिए ।

गृहमन्त्रालयमा आकस्मिक बैठक

घटनालगत्तै प्रहरी महानिरीक्षकबाट ब्रिफिङ लिएका मन्त्री शर्माले अनलाइनखबरसँग भने, ‘घटना अत्यन्त दुःखद छ । योजनावद्ध तरिकाले हत्या भएको छ । छिटोभन्दा छिटो अपराधीहरु सार्वजनिक हुन्छन् । मैले प्रहरीलाई त्यसैअनुसार परिचालन गरेको छु र आवश्यक निर्देशन दिएको छु ।’

मन्त्री शर्माले घटनालगत्तै गृहमन्त्रालयमा प्रहरी अधिकारीहरुको आकस्मिक बैठक समेत बोलाएका छन् । मन्त्री शर्माले मृतक गौचनप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरे ।

‘स्वर्गीय गौचनप्रति म श्रद्धाञ्जली अर्पण गर्दछु । परिवारजन र निर्माण व्यवसायीप्रति मेरो समवेदना छ,’ मन्त्री शर्माले अनलाइनखबरसँग भने, ‘हत्यामा संलग्नहरु उम्किन पाउँदैनन् । म सबैलाई धैर्यधारण गर्न आग्रह गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment