Comments Add Comment

बादल समानुपातिकमा परेनन्, ओनसरी र जयपुरीको भाग्य चम्कियो

माओवादीको समानुपातिक कोटामा खसआर्यको कन्तबिजोग

रामबहादुर थापा (बादल)

२९ असोज, काठमाडौं । माओवादी केन्द्रका नेता रामबहादुर थापा (बादल) समानुपातिक उम्मेदवार बन्ने चर्चा चलेको थियो । तर, आइतबार निर्वाचन आयोगमा बन्दसूची बुझाउँदा माओवादीका शीर्ष नेताहरु समानुपातिकमा परेनन् । बादल अन्ततः चितवनबाट प्रत्यक्ष चुनाव लड्ने भएका छन् ।

माओवादी उच्च स्रोतका अनुसार बादल चितवन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका छन् भने मात्रिका यादव धनुषाबाट प्रत्यक्ष चुनाव लड्ने भएका छन् ।

रोल्पाबाट पुरुषले टिकट पाउने भएपछि निवर्तमान सभामुख ओनसरी घर्ती भने समानुपातिकमा परेकी छिन् । त्यस्तै जयपुरी घर्ती पनि समानुपातिकमा परेकी छिन् ।

माओवादी प्रवक्ता पम्फा भुसाल समानुपातिक कोटामा परिनन् । उनी ललितपुर-३ बाट प्रत्यक्ष निर्वाचन लड्ने भएकी छिन् । त्यसैगरी अर्की नेतृ उर्मिला अर्याल पनि मधेसबाट प्रत्यक्ष चुनाव लड्ने स्रोतले बतायो ।

माओवादीमा समानुपातिकतर्फ पुरुषभन्दा बढी महिलाहरुको भाग्य चम्किने भएको छ । प्रत्यक्षतर्फ महिलाले अवसर नपाएको र अवसर पाउनेहरुले पनि जित्ने सम्भावना कम भएकाले समानुपातिकबाट महिलाहरु नै बढी छानिने एक नेताले अनलाइनखबरलाई बताए ।

माओवादीका एक नेताले अनलाइनखबरसँग भने, ‘करिब १ लाख भोट बराबर एक समानुपातिक सांसद छानिने अवस्था छ । यस्तो हुँदा माओवादीको भागमा १६/१७ जना पर्ला, त्यसमा पनि प्रत्यक्षतर्फ महिला नआएपछि समानुपातिकबाट महिलामात्रै बढी छानिने सम्भावना देखिन्छ ।’

समानुपातिकमा महिलाबाहेक दलित, मधेसीलगायतको प्रतिनिधित्व अनिवार्य हुने भएकाले खस आर्य जातिबाट २/४ जनामात्रै समानुपातिक सांसदहरु छानिने सम्भावना रहेको माओवादी नेताको विश्लेषण छ ।

उनले भने, ‘एमालेमा पनि सम्भवतः यस्तै होला । किनभने प्रत्यक्षमा पुरुषहरु बढी आउने छन्, जसले गर्दा समानुपातिकमा महिलाले प्राथमिकता पाउनेछन् । बाँकीमा दलित, मधेसी र जनजातिलाई दिनुपर्छ, पुरुष खस आर्यको सम्भावना कमै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment