Comments Add Comment

देउवामाथि प्रश्नः गच्छदारलाई खाली हात, कमल थापालाई गृहमन्त्री ?

अन्ततः पशुपति समशेरकै लाइनमा आए कमल थापा

२९ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कमल थापालाई उपप्रधानमन्त्री बनाउने र विजय गच्छदारलाई कांग्रेसमा भित्र्याउने काम लगभग सँगसँगै अघि बढाए । तर, यस्तो बेलामा कमल थापाको साटो गच्छदारलाई उप्रधानमन्त्री बनाउनुपर्ने चर्चा कांग्रेसभित्र चलेको छ ।

गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमलाई कांग्रेसमा समाहित गर्नका लागि प्रधानमन्त्री देउवाले आइतबार दिनभरि बालुवाटारमा प्रयास गरेका थिए । तर, रातिसम्म कुरा नमिलेपछि सोमबार बिहान यसलाई टुंगोमा पुर्‍याउने र सोमबार ११ बजेपछि पार्टी एकता घोषणा गर्ने सहमति भएको बुझिएको छ । एकता घोषणापछि ७ दिनभित्र समानुपातिक उम्मदेवारको साझा सूची बनाइने नेताहरुले जानकारी दिएका छन् । यद्यपि लोकतान्त्रिक फोरमका केही नेताहरु चाहिँ नेपाली कांग्रेससँग एकताको विपक्षमा छन् ।

प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई हटाएर थापालाई गृहमन्त्रालयको जिम्मेवारी दिने योजना बनाइरहेको बुझिएको छ । तर, यस्तो बेलामा कमसेकम पूर्वपञ्चलाई भन्दा लोकतान्त्रिक आन्दोलनमा योगदान गरेर गच्छदारलाई उपप्रधान एवं गृहमन्त्री बनाएको भए कांग्रेसलाई फाइदा हुन्थ्यो भन्ने तर्क कांग्रेसका केही नेताहरुको छ ।

व्यवस्थापिका संसदको कार्यकाल नै सकिइसकेको अवस्थामा कमल थापालाई सरकारमा ल्याइरहनुपर्ने कुनै बाध्यता देउवालाई थिएन । तर उनले थापालाई अप्रत्याशितरुपमा बोकेर पार्टीलाई बदनाम गराएको र आगामी चुनावमा भोट घटाउने काम गरेको बुझाई कांग्रेसभित्रैका केही नेताहरुको छ ।

कमल थापामाथि प्रश्न

पछिल्लो समयमा राप्रपा अध्यक्ष कमल थापाले एकपछि अर्को गर्दै कच्चा राजनीतिक गेम खेलिरहेका छन् । यसका केही दृष्टान्तहरु हेरौंः

जतिखेर कमल थापा केपी ओलीको सरकारमा थिए, त्यसलाई उनले राष्ट्रवादीहरुको गठबन्धनका रुपमा व्याख्या गरे । तर, पछि उनी प्रचण्ड नेतृत्वको कांग्रेस-माओवादी गठबन्धनको सरकारमा सहभागी भए, जसलाई उनी आफैंले ‘गल्ती’ को संज्ञा दिइसकेका छन् ।

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने विषयमा कमल थापा सुरुदेखि नै खासै खुशी थिएनन् । स्थानीय चुनावमा एमालेसँग तालमेल गरेर उनले यसको व्यवहारिक जवाफ दिएकै थिए । त्यसबेला थापाले भन्ने गरेका थिए- राप्रपाका लागि मुख्य प्रतिस्पर्धी दल भनेको नेपाली कांग्रेस नै हो ।

राप्रपा अध्यक्ष थापाले कांग्रेस र माओवादीको गठबन्धनलाई भ्रष्टाचारीहरुको गठबन्धनको संद्दा दिने गरेका थिए । तर, अन्ततः उनी त्यही आफैंले ‘भ्रष्ट’ भनेको सरकारमा लम्पसार पर्न पुगे ।

शेरबहादुर देउवाको सरकारमा सहभागी हेन कि नहुने भन्ने मुद्दाकै कारण राप्रपा फुट्यो । पशुपति समशेर पक्ष सरकारमा जानुपर्छ भन्ने थियो भने कमल थापा समूह देउवा सरकारमा नजाने कार्यनीतिमा थियो । अन्ततः कमल थापा पनि लुरुलुरु पशुपतिसमशेरकै लाइनमा गए ।

हुन त कमल थापाले लोकतान्त्रिक सरकारलाई टिकाउन र निर्वाचनको वातावरण बनाउन सरकारमा गएको बताएका छन् । तर, संसद नै नरहेको र बहुमत अल्पमतको प्रश्नै नरहेका बेला कमल थापाको यो तर्क एउटा भद्दा राजनीतिक प्रशसन मात्रै हो ।

तर, राजनीतिमा अर्को रोचक प्रश्न के देखिएको छ भने प्रधानमन्त्री देउवाले विजय गच्छदारको साटो कमल थापालाई गृहमन्त्री बनाउलान् या माओवादी नेता जनार्दन शर्मालाई नै त्यो पदमा राखेर चुनाव गराउलान् ? कि उनले अझै सरकार विस्तार गरेर गच्छदारलाई ल्याउलान् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment