Comments Add Comment

जाजरकोटमा शक्ति बस्नेतलाई एमालेको भर, एमालेकै डर !

गोविन्दविक्रमको स्वतन्त्र उम्मेदवारीले कांग्रेसलाई नाफा

६ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावमा यसपटक जाजरकोटमा रोचक प्रतिस्पर्धा हुँदैछ । एमाले-माओवादी गठबन्धनबाट पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत र कांग्रेसबाट राजीवविक्रम शाहले आइतबार उम्मेदवारी दर्ता गरेसँगै चुनावी प्रतिस्पर्धा रोचक हुने भएको हो ।

दोस्रो संविधानसभा चुनावमा जाजरकोट १ बाट निर्वाचित बस्नेत र २ बाट निर्वाचित शाहले यसपटक एउटै क्षेत्रबाट उम्मेदवारी दर्ता गरेका छन् । जाजरकोटका दुई सिट अहिले एउटै भएका छन् ।

पदीय हैसियतले शक्ति बस्नेत भन्दा कमजोर भए पनि राजीवको स्थानीय लोकपि्रयता र चर्चाले चुनावी प्रतिस्पर्धा कडा हुने अनुमान गरिएको छ ।

गृहमन्त्रीसमेत भइसकेका बस्नेतले केन्द्रमा पहुँच राख्न सक्ने भएकाले मतदातालाई आकषिर्त गर्न सक्छन् भने राजीवको ‘स्थानीय स्तरमा काम गर्ने’ नाराले मतदाताको मन जित्न सक्ने स्थानीयको तर्क छ ।

यस्तो छ स्थानीय तहको मत

स्थानीय तहको चुनाव अनुसार जाजरकोटमा एमाले, कांग्रेस र माओवादी केन्द्रको मत थोरै मात्र तलमाथि छ । स्थानीय तहको मत नै अहिलेका लागि ताजा मत हो ।

जिल्लाका सात स्थानीय तहमा दलहरुले प्राप्त गरेको मतलाई आधार मान्दा एमाले २० हजार ६ सय मतका साथ पहिलो दल हो । कांग्रेसको मत १९ हजार ४३९ छ भने माओवादीको मत १७ हजार ४६१ मत छ ।

यो मत अनुसार माओवादी भन्दा कांग्रेस अर्थात राजीव करिब दुई हजार मतले अगाडि छन् । तर, यसपटकको चुनावमा माओवादी र एमालेबीच भएको तालमेलले राजीवलाई त्यति सजिलो छैन । वामपन्थीको मत जोड्दा कांग्रेस निकै पछाडि देखिन्छ ।

शक्तिलाई एमालेको भर, एमालेकै डर

शक्ति बस्नेत वाम गठबन्धनका साझा उम्मेदवार हुन् । यहाँको तालमेल झण्डै भरतपुर महानगरपालिका जस्तै छ ।

गठबन्धनको निर्णयअनुसार जाजरकोटमा पहिलो शक्ति एमालेले तेस्रो शक्ति माओवादीलाई जिताउनुपर्ने छ ।

एमाले-माओवादीको साझा उम्मेदवार बस्नेतले चुनाव जित्न एमालेकै भर पर्नुपर्ने छ । एमालेको पर्याप्त मत गोलाकारभित्रको हसियाँ हथौडामा आएमात्रै शक्ति बस्नेतले जित्ने छन् ।

मोटामोटी रुपमा कांग्रेस भन्दा दुई हजार मतले पछाडि रहेका बस्नेतलाई एमालेको साढे २० हजार मत मध्ये तीन हजार मत आए मात्रै पुग्ने छ । तर, एमालेको मत कांग्रेसतिर गयो भने बस्नेतले एमालेबाट करिब ५० प्रतिशत मत तान्नुपर्ने हुन्छ । एमालेको मत विभाजित भएको भएको खण्डमा बस्नेतलाई राजीवसँगको प्रतिस्पर्धा महंगो हुनेछ ।

गोविन्दविक्रमको उम्मेदवारीले राजीवलाई नाफा

शक्ति बस्नेत एमाले-माओवादीका साझा उम्मेदवार भनिए पनि आइतबार एमालेका केन्द्रीय सदस्य गोविन्दविक्रम शाहले पनि स्वतन्त्र रुपमा वागी उम्मेदवारी दर्ता गरेका छन् ।

सूर्य चिन्हमा चुनाव नलडे पनि गोविन्दविक्रमले उम्मेदवारी फिर्ता नलिए एमालेको धेरै मत काट्नेछन् । यसले राजीवलाई नाफा हुने देखिन्छ । तर, राजीवले चुनाव जित्न एमालेको मत माओवादीलाई जानबाट रोकेर मात्रै पुग्नेछैन, आफूतिर पनि तान्नुपर्ने छ ।

एमालेको धेरै मत स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दविक्रमलाई जाने अनि बाँकी मत शक्ति र राजीव दुवैजनालाई बाँडियो भने राजीवलाई जित्न सहज देखिन्छ ।

दुई/तीनवर्ष अघि मात्रै राप्रपाबाट एमालेमा प्रवेश गरेका गोविन्दविक्रम बलिया उम्मेदवार हुन् । ०५६ सालमा व्यवस्थापिका सांसद हुँदै ०५७ मै राप्रपाको सहमहामन्त्री समेत भइसकेका शाहलाई रोक्न नसके शक्ति बस्नेतको जितको आशा झिनो रहनेछ ।

गठबन्धनभित्रै लफडा

जाजरकोटमा वाम गठबन्धनमा लफडा सुरु भएको छ । मनोनयन दर्ताका क्रममा जाजरकोटमा वाम गठबन्धन करिव भत्किएको छ ।यसले गर्दा पनि चुनावी परिणाम आँकलन गर्न कठिन छ ।

स्थानीय तहको पपुलर मत अनुसार जाजरकोटमा वाम गठबन्धनको मत कांग्रेसको भन्दा दोब्बरले बढी छ । तर, उम्मेदवारी दर्ताको दिन नै गठबन्धन गरेका एमाले र माओवादीबीच खटपट सुरु हुँदा परिणाम फरक आउन सक्ने जिल्लाका नेताले बताएका छन् ।

सुरुमा जाजरकोटको प्रतिनिधिसभा माओवादीलाई र बाँकी दुईवटै प्रदेश एमालेलाई दिइएको थियो । उम्मेदवारी दर्ताको दिन प्रदेश (क) का लागि एमालेबाट टिकट पाएका निरजप्रसाद आचार्यको टिकट खोसियो र माओवादीका गणेश सिंहलाई टिकट दिइयो । त्यसको साटो एमालेलाई हुम्लाको प्रदेश दिइयो ।

सुरुमा टिकट पाएका निरजले प्रदेश (क) बाटै उम्मेदवारी दर्ता गरिसकेका छन् । यसरी प्रदेशसभा सदस्यको टिकट फेरबदलले प्रतिनिधिसभा चुनावमा प्रत्यक्ष असर पर्ने देखिन्छ । यसकै कारण गोविन्दविक्रमले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।

प्रतिनिधसभामा एमालेबाट गोविन्दविक्रमको उम्मेदवारी परेपछि एमालेका करवीर शाहीले उम्मेदवारी दर्ता गरेको प्रदेश (ख) मा माअोवादीले पनि उम्मेदवारी दर्ता गराएको छ । माअोवादीबाट नरबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका हुन् ।

कडा प्रतिस्पर्धा

यी विभिन्न तथ्यहरुलाई आधार मान्दा जाजरकोटको प्रतिनिधिसभा सदस्यको चुनावमा कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

गठबन्धनबाटै स्वतन्त्र उम्मेदवारी परे पनि माओवादी एक्लैको मत १७ हजारमा एमालेको केही मत मात्रै तान्न सकेको खण्डमा बस्नेतको विजय निश्चित देखिन्छ ।

कांग्रेसको एक्लै १९ हजार मत छ । तर, गठबन्धनभित्रको किचलोले एमालेको थोरै मत मात्रै तान्न सके भने राजीवको विजय निश्चित हुन सक्छ ।

जाजरकोटमा पहिलो दलका रुपमा रहेको एमालेका तर्फबाट उम्मेदवार नहुँदा कांग्रेस र माओवादीका उम्मेदवार जसले एमाले रिझाउन सक्छन् उसकै जीत हुनेछ पक्कापक्की छ ।

तथापि वाम गठबन्धनको इमान्दारितापूर्वक कार्यान्वयन भयो भने शक्ति बस्नेतको जितको सम्भावना बढी सुरक्षित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment