Comments Add Comment

पक्राउ पर्ने डरले दरवारमार्गका व्यवसायी फरार

६ कात्तिक, काठमाडौं । अत्यधिक मूल्य कायम गरेर उपभोक्ता ठगेको आरोप लागेका दरवारमार्ग क्षेत्रका ब्राण्डेड पसलका सञ्चालक व्यापारीहरू फरार भएका छन् ।

महानगरीय प्रहरी परिसर टेकुले दरवारमार्ग क्षेत्रका १३ व्यवसायीलाई कार्यालयका उपस्थित हुन पत्र पठाए पनि फरार भएका कारण कारवाही प्रक्रिया नै प्रभावित भएको छ ।

परिसरका डीएसपी बेलबहादुर पाण्डेले ती पसलका मुख्य सञ्चालक नै फरार भएका कारण उपस्थित गराउन नसकिएको बताए ।

परिसरले दरवारमार्ग प्रहरीलाई ती सञ्चालकलाई उपस्थित गराउन पत्र पठाएको थियो । दशैंलगत्तै परिसरमा उपस्थित गराउन पत्र काटिए पनि व्यवसायी फरार भएका कारण कारवाही प्रभावित भएको छ ।

महानगरीय प्रहरी दरवारमार्गका सई चन्द्र भण्डारीले पक्राउका लागि पसल जाँदा सञ्चालक नै नभेटिएको बताए । ‘हामी पसलमा जाँदा सञ्चालक नै भेट्न सकेनौं, कामदार मात्रै राखेर मुख्य सञ्चालक फरार छन्,’ उनले भने । व्यवसायीले अटेर गरे खोजतलास गरेर पक्राउ गरिने उनले बताए ।

सामान्य ढंगले उपस्थित हुन जानकारी गराउँदा अटेर गरेकाले अब कडा रुपमा प्रस्तुत भएर अघि बढ्ने परिसरको भनाई छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले उपभोक्ता ठगेको भन्दै दरवारमार्गका १३ व्यवसायीमाथि अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाउन दशैं अगाडि नै प्रहरी परिसर टेकुलाई जिम्मा लगाएको थियो । विभागले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन-२०३२ अनुसार कारवाहीका लागि फाइल परिसरमा पठाएको थियो ।

विभागले भने यसअघि नै व्यवसायीको दवावमा १० असोजमा नै शिलबन्दी गरिएका ती पसल खोल्ने अनुमति दिइसकेको छ ।

तत्कालीन आपूर्तिमन्त्री शिवकुमार मण्डलले गत १९ र २१ भदौमा दरवारमार्ग क्षेत्रका ब्राण्डेड पसलमा छापा मारेका थिए । अनुगमनका क्रममा अत्यधिक मूल्य राखेर उपभोक्ता ठगेको पाइएपछि त्यस क्षेत्रका ९ वटा पसलमा शिल गरिएको थियो । विभागले दरवारमार्गका ९ पसल र न्यूरोडका २ सहित ११ पसलमाथि कारवाहीका लागि परिसरमा सिफारिस गरेर पठाएको थियो ।

अनुसन्धानका क्रममा विभागले पनि व्यवसायीले उपभोक्ता ठगेको निष्कर्ष निकालेको थियो । विभागको अनुसन्धानसँगै परिसरले पनि आफ्नो ढंगले अध्ययन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment