 
																						१२ मंसिर, काठमाडौं । नेकपा एमालेले दरबारमार्गमा ७ मंसिरमा आयोजना गरेको जागरण सभाको भोलिपल्ट बिहान सफा गर्दा २ ट्रक फोहोर संकलन भएको क्लिन काठमाडौं वेस्ट म्यानेजमेन्ट प्रालिले जनाएको छ।
महानगरले ८ मंसिर बिहान वडा नम्बर १ दरबारमार्गको सरसफाइ, फोहरमैला संकलन र दुवानी कार्य सम्बन्धबारे क्लिन काठमाडौंलाई प्रश्न सोधेको थियो । क्लिन काठमाडौंले महानगरपालिकालाई लेखेको पत्र अनुसार ६.७५ टन क्षमताका टिपर प्रयोग गरी २ ट्रक फोहोर संकलन गरेर बन्चरेडाँडा ल्यान्डफिल साइट लगिएको थियो ।
क्लिन काठमाडौंले दरबारमार्ग क्षेत्रबाट रक्सीका बोतल, पार्टीका झन्डा, प्लास्टिक, बदामका खोस्टा समेत संकलन गरेको जनाएको छ ।
‘बिहान ४ बजेदेखि सफाइकर्मी परिचालन गरिएको थियो । सार्वजनिक संवेदनशीलता भएका स्थानमा बदामका बोक्रा, चटपटे बनाउने क्रममा प्रयोग भएका कागज, प्लास्टिक, खानेकुराका अवशेष, मिनरल वाटरका बोतल, राजनीतिक झन्डा, चुरोटका ठुटा, बिरुवाका हाँगा तथा महेन्द्रको शालिकमा भेटिएका ८८४८ ब्रान्डका रक्सीका बोतल र यत्रतत्र छरिएका बियर क्यान संकलन गरिएको जानकारी गराउन चाहन्छौं,’ पत्रमा छ ।
कम्पनीले केही सञ्चारमाध्यम, दरबारमार्ग ट्राफिक प्रहरी तथा महानगर प्रहरीको निगरानीमा सरसफाइ गरेको जनाएको छ ।
कम्पनीले त्यस क्षेत्रमा रहेका सीसीटीभी क्यामेराको निगरानीमा पनि सरसफाइको कार्य सम्पन्न भएकाले, फोहरमैलाको प्रकृति र अवस्था समेत यथार्थ रूपमा अभिलेखमा रहेको महानगरलाई जानकारी गराएको छ ।
१ लाख जरिवाना, तिर्न अस्वीकार
गत शुक्रबार दरबारमार्गमा जागरण सभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एमालेलाई जरिवानाको पत्र लेखेको थियो । तर, एमालेले सभा सम्पन्न भएलगत्तै दरबारमार्फ क्षेत्र आफैं सफा गरेको जरिवाना पत्र बुझ्न अस्वीकार गरेको छ ।
आइतबार जरिवानापत्र बुझाउन पार्टी कार्यालय पुगेको महानगर टोलीलाई आफूहरू आयोजक नभएको भन्दै एमालेले पत्र बुझेको थिएन ।
शुक्रबार एमालेका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा दरबारमार्गमा जागरण सभा आयोजना गरिएको थियो ।
महानगरले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना तोकिएको बताएको छ ।
एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारी आफूहरूले सभा गरेको स्थान आफैं सफा गरिसकेकाले जरिवाना तिर्न नपर्ने तर्क गर्छन् ।

 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4