+
+

आत्महत्या, कस्तो मनोदशामा गुज्रिरहेका छन् युवा ?

जो यसरी आत्महत्याबाट भागे

शिव मुखिया शिव मुखिया
२०७४ कात्तिक ७ गते २२:३०

काठमाडौं । ‘यदि भोलि म मरिहालें भने, तिमीले मेरोबारेमा सम्झिने कुरा के छ ?’

आइतबार मध्यान्ह फेसबुकमा रिचा (रेखा) सेढाईंले आफ्नो फेसबुक वालमा यही पोस्ट गरेकी छन् । त्यसको करिब ६ घण्टापछि अर्की साथीले रिचाकै टाइमलाइनमा लेखेकी छन्, ‘सुसाइड इज नट सोलुसन यार, रेस्ट इन पिस रिचा !’

 

यतिबेला रिचाको टाइमलाइनमा समवेदना पोख्नेहरुको ताँती लागेको छ । त्यसमा धेरैजसो उनका साथी छन्, जो रिचाको अप्रत्यासित आत्महत्यालाई स्वीकार्न सकिरहेका छैनन् । उनीहरुले लेखेका छन्, ‘किन गर्‍यौ यस्तो ?’

रिचाले किन आत्महत्या गरिन् ? यो प्रश्नले अहिले युवामाझ बढ्दो मनोविकार पनि उधिन्छ । त्यसैले हामीले उनको मृत्युबारे थप जान्न खोज्यौं ।

रिचा झापाको बिर्तामोडमा डेरा लिएर बसेकी रहिछन् । उमेर २२ वर्ष । घटनाको अनुसन्धानमा जुटेका प्रहरी निरीक्षक ज्ञानबहादुर बिष्टले उनी आफ्नै डेरामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।

यद्यपि, उनी किन आत्महत्या रोज्न बाध्य भइन् भन्ने अझै खुलेको छैन । प्रहरी निरीक्षक बिष्टले भने, ‘धेरैजसो केसमा सुसाइड नोटबाट त्यसको कारण थाहा हुन्छ । तर, उनले त्यस्तो केही लेखेकी छैनन् । हामी अनुसन्धान गर्दैछौं, त्यसका लागि पर्याप्त समय छ ।’

घटनाको प्रकृति र आफन्तहरुको बयानका आधारमा केही कारण अनुमान गर्न सकिन्छ त ?

‘अहिले त्यस्तो केही भन्न सकिँदैन । मिल्दैन पनि,’ प्रहरी निरीक्षक बिष्ट यति भनेर पन्छिए ।

हामीले रिचाका फेसबुकमा जोडिएका साथीसँग यसबारे सोध्यौं । तीमध्येकी एकले भनिन्, ‘डिप्रेसनमा थिइन् भन्ने सुनेकी थिएँ । वातावरण परिवर्तन भएपछि अलिकति फ्रिस हुन्छिन् भनेर आज (सोमबार) बैंगलोर पठाउने कुरा थियो रे ।’

रिचाले भित्रभित्रै आफूलाई एक्लो महशुस गरिरहेकी हुनसक्ने उनले बताइन् । ‘जब आफ्नो कुरा सुन्ने कोही हुँदैन, त्यसले एक्लोपन महशुस हुन्छ,’ यसो भन्दै उनले रिचा खराब मनोदशाबाट गुज्रिरहेको संकेत गरिन् ।


अर्का एक युवाको स्टाटसबाट भने ‘रिचा डाक्टर बन्न चाहने तर त्यसका लागि पढाइ खर्च नभएको’ बुझिन्छ । उनले लेखेका छन्, ‘साहै्र गल्ति गरिस् बुनु, पढाइका लागि पैसा पुगेन भनेर यसरी हिम्मत हार्छेस् भन्ने थाहा थिएन । जिन्दगीमा डाक्टर बन्नु नै थियो तर भगवानले यति राम्रो अनुहार दिए, बुद्धि दिएका रहेनछन् । मामा, माइजू अनि हाम्रो परिवारको महत्व बुझ्न सकिनस् । गरिबी बुझ्न सकिनस् नानी ।’

रिचाको अर्को स्टाटसबाट बुझ्न सकिन्छ, उनी मानसिक रुपले विक्षिप्त थिइन् । तर, यो अवस्थामा उनी कसरी पुगिन् ? त्यसबारे भने स्पष्ट छैन । आइतबार नै करिब तीन बजे उनले स्टाटस लेखेकी छन्, ‘धेरै कुराले यो मन उथलपुथल बनाइदिन्छ ।’

किन आत्महत्या ?

प्रहरीका अनुसार मृतकका बुवाआमा स्थानीय अल्ट्रा होटेलमा काम गर्छन् । उनीहरु बिर्तामोडको अतिथि सदननजिक डेरा लिएर बसेका थिए । के उनले आफ्नो आकांक्षा पूरा नहुने छाँट देखेर आत्महत्या रोजिन् ? के उनमा गम्भीर मानसिक समस्या थियो ?

तरुणो वय र रुपवती हुनुको नाताले उनको आत्महत्यामा प्रेम-सम्बन्ध वा अरु कारण पनि हुनसक्छन् कि ? यस्ता अनेकन आशंका उब्जिएका छन् ।

 ‘मस्तिष्कमा सेरोटेनिन न्युरो ट्रान्समिटरमा रहेको रसायन घट्यो भने दिक्क लाग्छ । यही दिक्दारीले युवा-युवतीलाई मर्न उक्साउँछ ।’

मनोविद् बासु आचार्य भने यसमध्ये कुनै एउटा मात्र नभई सबै एकमुष्ठ कारण हुनसक्ने बताउँछन् । ‘आत्महत्यामा एउटा मात्र कारण जिम्मेवार हुँदैन,’ उनले भने, ‘यसमा धेरै फ्याक्टरले काम गरेको हुनसक्छ ।’

उनको भनाइमा सोच्ने गलत तरिका, महत्वाकांक्षा, कमजोर विश्लेषण क्षमतादेखि शारीरिक कारणले समेत आत्महत्याका लागि उक्साउन सक्छ ।

भर्चुअल संसार र महत्वाकांक्षा

रिचा डाक्टर बन्न चाहने र उनको त्यो इच्छामा आर्थिक कारण तगारो बनेको छनक पनि मिल्छ । अक्सर अहिले अधिकांश युवायुवती भर्चुअल संसारमा बढी अभ्यस्त हुँदै गएका छन् । फेसबुक, ट्वीटरको माध्यमबाट उनीहरु यस्ता दुनियाँसँग जोडिएका छन्, जो यथार्थभन्दा धेरै टाढा छ । उनीहरुको इच्छा, आकांक्षा पनि त्यही रुपमा बढेर गएको छ ।

बाहिरी दुनियाँको प्रभावमा बढेको महत्वाकांक्षा र आफू बाँचेको समाज, परिवारको वास्तविकताबीच जुन खाडल छ, त्यसले पनि अहिलेका युवायुवतीलाई हतोत्साही तुल्याउने मनोविद्हरुको भनाइ छ ।

जब उनीहरुमा उत्साह र उमंग घट्छ, नकारात्मक सोच हाबी हुन पुग्छ । उनीहरु आफ्नै परिस्थितिबारे विश्लेषण गर्न असमर्थ हुन्छन् । जताततै अन्धकार र निराशा देख्छन् । यसले पनि आत्महत्या गर्न उक्साउँछ ।

दिक्दारी, बेचैनी र एक्लोपना

मनोविद्हरुका अनुसार आत्महत्याका लागि कोही त्यसबेला तयार हुन्छन्, उसले आफू बाँच्ने परिधि सानो देख्छ । आफ्नो दुनियाँ श्यामश्वेत देख्छ । उत्साह, उमंग, आशा, भरोशा मर्दै गएपछि मानिसमा निरासा भारी बन्छ । त्यही निराशा, एक्लोपना र बेचैनीले आत्महत्या रोज्न लगाउँछ ।

आखिर कुन अवस्थामा बेचैनी हुन्छ, दिक्दारी हुन्छ ? ‘यसका लागि मानसिक र शारीरिक दुवै कारण हुनसक्छन्’ मनोविद् आचार्य भन्छन्, ‘एउटै मात्र कारण हुँदैन ।’

मानसिक विकार आउनुमा उसले झेल्ने असफलता, असहयोग, अभाव हुनसक्छ । यस्ता तत्वले उनीहरुलाई निरास तुल्याउँछ । यसबाट उम्कनका लागि उनीहरु प्रयास गर्दैनन् । बरु, थप विक्षिप्त बन्दै जान्छन् ।

आफू एक्लिँदै र असफल हुँदै गएको कुराले मानसिक रुपमा आघात पुर्‍याउँछ

आफू एक्लिँदै र असफल हुँदै गएको कुराले मानसिक रुपमा आघात पुर्‍याउँछ । दिनप्रतिदिन यस किसिमको गलत चिन्तनले उनीहरुलाई डिप्रेसनमा पुर्‍याउँछ ।

जबकि, यसबीचमा उनीहरुले खुशी हुने बहाना खोज्न सक्छन् । आफ्नो मानसिक अवस्थाको विश्लेषण गर्न सक्छन् । आफन्त, साथीभाइले पनि उनीहरुको मनोदशा बुझेर सही मार्गदर्शन दिन सक्यो भने समस्याले जटिल रुप लिँदैन ।

त्यसो त, बेचैनी, निराशा, दिक्दारीपन आउनुमा शारीरिक कारण पनि हुनसक्छ । मनोविद् आचार्य भन्छन्, ‘मस्तिष्कमा सेरोटेनिन न्युरो ट्रान्समिटरमा रहेको रसायन घट्यो भने दिक्क लाग्छ । यही दिक्दारीले उनीहरुलाई मर्न उक्साउँछ ।’ थाइराइड ग्रन्थीको गडबडीले समेत मनमा बेचैनी पैदा हुने उनको भनाइ छ ।

एक यस्तो मनोदशा

अहिले यसरी आत्महत्या गर्नेहरुको मनोदशा सोचेभन्दा भिन्न पनि हुनसक्छ । मनोविद् आचार्यका अनुसार समलिंगी/तेस्रोलिंगी भएको कुरा लुकाउन समेत आत्महत्याको बाटो रोज्छन् ।

युवती भएर पनि पुरुषप्रति कुनै आकर्षण नहुने, पुरुष भएर पनि महिलाप्रति खास आकर्षण नरहने अवस्थाबाट गुजि्ररहेका कति युवायुवतीले आफ्नो पीडा आफैंभित्र गुम्स्याएका हुन्छन् । उनीहरु खुलस्त कुरा गर्न सक्दैनन् । आफ्नो व्यथा सुनाउन सक्दैनन् । यही कारण उनीहरुमा निराशा बढेर जान्छ, जसले आत्महत्यातिर डोर्‍याउँछ ।

 समलिंगी/तेस्रोलिंगी भएको कुरा लुकाउन समेत आत्महत्याको बाटो रोज्छन्

जो यसरी आत्महत्याबाट भागे

हामीले केही यस्ता पात्रसँग कुरा गर्‍यौं, जसले पटक-पटक आत्महत्याको प्रयास गरेका रहेछन् । काठमाडौंका एक १९ वर्षे युवक, जो अहिले मानसिक उपचार गराइरहेका छन्, ले आफूलाई आत्महत्या गर्न मुड आउने बताए ।

के कारणले उनलाई यस्तो भइरहेको छ त ?

‘खै, सानैदेखि मलाई यस्तो भएको हो । कसैसँग बोल्न, खेल्न मन नलाग्ने । किन बाँचिरहेको छु भन्ने लाग्छ । कुनै कुरामा रमाउन सक्दिनँ,’ उनले भने ।

विगतमा आफूलाई के भइरहेको छ भन्ने कुरा पनि उनले भेउ पाएका थिएनन् । पछि आफू डिप्रेसनग्रस्त भएको थाहा पाएपछि अहिले उपचार गराइरहेका छन् ।

अर्का पात्र हुन्, सुनसरी प्रकासपुरका लीलामणी दाहाल । ३५ वर्षे उनी बाइपोलार डिसअर्डरको शिकार रहेछन् । यो एक किसिमको जटिल मानसिक समस्या हो । उनले आफूलाई आत्माहत्या गर्न मन लाग्ने बताए । र, पटक पटक प्रयाससमेत गरेका खुलाए ।

‘सानैमा आमा गुमाएकाले माया पाइनँ । घरको आर्थिक अवस्था एकदमै कमजोर थियो । त्यसैले मलाई यस्तो समस्या भएको होला,’ उनले भने ।

अहिले लीलामणी उपचार गराइरहेका छन् । र, आफूमा बाँच्ने उत्साह पलाउँदै गएको बताउँछन् ।

लेखकको बारेमा
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?