Comments Add Comment

यस्तो छ सचिव सरुवा हेरफेर हुनुको अन्तर्य

लोक सेवा आयोग सचिवविहीन

८ कात्तिक, काठमाडौं । सरकारले सोमबार गरेको सचिव सरुवाको निर्णय २४ घण्टा पनि टिक्न सकेन । सरुवा गरिएका केही सचिवलाई पुरानै जिम्मेवारीमा फर्काइएको छ भने केहीलाई हेरफेर गरिएको छ ।

आखिर यस्तो किन भयो ? स्रोतले अनलाइनखबरसँग भन्यो- यसको प्रमुख कारण हो लोक सेवा आयोगको असन्तुष्टि ।

लोक सेवा आयोगमा सरकारले प्रधानमन्त्री कार्यालयका सचिव ङइन्द्र प्रसाद उपाध्यायलाई सरुवा गरेको थियो । र, लोक सेवा आयोगका सचिव मधुप्रसाद रेग्मीलाई शिक्षा मन्त्रालयमा पठाइएको थियो ।

मन्त्रिपरिषदको यो निर्णय सार्वजनिक हुनासाथ संवैधानिक निकाय लोक सेवा आयोगका पदाधिकारीहरुले निर्णय सच्याउन सरकारमा दबाव बढाएका थिए । उनीहरुले तत्कालीन मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीलाई टेलिफोन गरी कर्मचारी सरुवा गर्दा आफूहरुसँग सल्लाह नगरेको भन्दै निर्णय सच्याउन आग्रह गरेका थिए । उपाध्याय विदेश भ्रमण बढी गर्ने सचिवमा गनिने आरोप पनि लाग्ने गरेको छ । कर्मचारी धेरै विदा बस्दा वा विदेश भ्रमण गर्दा लोक सेवा आयोगको कार्यतालिका प्रभावित हुने आयोग पदाधिकारीको चिन्ता छ ।

लोक सेवा आयोगको असन्तुष्टि पछि उपाध्यायलाई महिला बालबालिका मन्त्रालयमा पठाइएको छ । उपाध्यायको जिम्मेवारी हेरफेर हुनासाथ अन्य सचिवहरुको सरुवा पनि स्वतः प्रभावित भएको हो ।

लोक सेवाका सचिव मधुप्रसाद रेग्मीलाई शिक्षा मन्त्रालयमा र महिला मन्त्रालयका सचिव प्रेम कुमार राईलाई प्रधानमन्त्री कार्यालयमा ल्याइएको छ । राई डेढ महिनाको बीचमा प्रधानमन्त्री कार्यालयबाट महिला मन्त्रालय हुँदै फेरि प्रधानमन्त्री कार्यालयमा फर्किएका छन् ।

यसैगरी क्षेत्रीय प्रशासन कार्यालय हेटौंडाका सचिव रेश्मीराज पाण्डेलाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएकोमा पुनः पुरानै जिम्मेवारीमा फर्काइएको छ ।

उद्योग मन्त्रालयका शंकर प्रसाद कोइरालालाई सरकारले सामान्य प्रशासन मन्त्रालयमा पठाएको छ । सामान्यका मोहनकृष्ण सापकोटा गृहमा सरुवा भएका छन् भने उद्योगमा सूचना आयोगबाट याम कुमारी खतिवडालाई लगिएको छ । प्रधानमन्त्री कार्यालयका केदार बहादुर अधिकारीलाई सञ्चार मन्त्रालयमा र सञ्चार मन्त्रालयका महेन्द्र गुरुङलाई प्रधानमन्त्री कार्यालयमा सरूवा गरिएको छ ।

लोक सेवा सचिवविहीन

आफ्नो निर्णयमा २४ घण्टा पनि टिक्न नसकेको र विशिष्ट श्रेणीका कर्मचारीहरुलाई मनलाग्दी सरुवा गरिएको भन्दै सरकारको आलोचना भइरहेको छ । जथाभावि सचिव हेरफेर गर्दा संवैधानिक निकाय लोक सेवा आयोग भने सचिव विहीन भएको छ ।

लोक सेवाका सचिव मधुप्रसाद रेग्मीलाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको र लोक सेवामा पठाइएका ङइन्द्र प्रसाद उपाध्याय हाजिर हुन नपाउँदै महिला मन्त्रालयमा पठाइएपछि लोक सेवा आयोग सचिव विहीन भएको हो ।

लोक सेवा आयोगका प्रवक्ता लक्ष्मी विलास कोइरालाले सरकारले अर्को सचिव नपठाएको बताए । संवैधानिक निकायमा सचिव नहुँदा कामकाज प्रभावित हुने आशंका गरिएको छ ।

यद्यपी सचिवको अनुपस्थितिमा कोइरालाले निमित्त सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment