Comments Add Comment

फेरिँदैछ माओवादीलाई हेर्ने युरोपको नजर, प्रचण्डले पाउलान् त नोबेल पुरस्कार ?

शक्तिशाली जर्मन राजदूत, जो पर्यटक बनेर नेपाल आएका थिए

८ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार ओहोदाको प्रमाणपत्र बुझाएका जर्मन राजदूत रोलान्ड सेफरले त्यसको भोलिपल्टै मंगलबार दिएको अभिव्यक्तिले धेरै एनजीओ/आइएनजीओकर्मीको दिमाग खल्बल्याएको छ ।

माओवादी अध्यक्ष प्रचण्डलगायत उनको पार्टीले १० वर्ष चलाएको जनयुद्धलाई ‘युद्ध अपराध’को संज्ञा दिँदै एनजीओ/आइएनजीओ चलाउनेहरुको धारणा विपरीत जर्मन राजदूतले अभिव्यक्ति दिएका छन् । माओवादी नेता प्रचण्ड र सो पार्टीले शान्ति प्रक्रियामा खेलेको भूमिकाको उनले खुलेर प्रशंसा गरेका छन् ।

नयाँ राजदूत सेफरको भनाइले के स्पष्ट गरेको छ भने युरोपेली संघमा आवद्ध मुलुकहरु अब विस्तारै माओवादीलाई अन्तरराष्ट्रिय मान्यता दिलाउने पक्षमा जुटेका छन् । यसको अन्तिम गन्तव्य प्रचण्डलाई नोबेल शान्ति पुरस्कार दिलाउने चरणसम्म पुग्यो भने अब अचम्म नमाने हुन्छ ।

माओवादी नेताहरु अन्तर्राष्ट्रिय जगतमा अझैसम्म असुरक्षित रहेको र उनीहरु विदेश भ्रमणमा जाँदा समातिन सक्ने प्रचारवाजी भइरहेकै बेला जर्मन राजदूतले नेपालको शान्ति प्रक्रियालाई मुक्तकण्ठले प्रशंसा गरे । उनले नेपालको शान्ति प्रक्रियाको महत्वलाई विश्व समुदायले कदर गर्नुपर्ने बताए ।

राजदूत सेफरले पत्रकारहरुसँग कुरा गर्दै नेपालको शान्ति प्रक्रिया अन्तरराष्ट्रिय क्षेत्रमा छायाँमा परेको हुनाले यसको प्रचार गरिनुपर्ने बताए । राजदूतको यो भनाइले नेपालको शान्ति प्रक्रिया विश्वराजनीतिको महत्वपूर्ण परिघटना हो भन्ने बुझाइ युरोपेलीहरुमा गहिरोसँग देखिन थालेको स्पष्ट हुन्छ ।

माओवादीजस्तो बन्दूक बोकेको शक्ति लोकतान्त्रिक प्रक्रियामा आउन चानचुने घटना नभएको जर्मन राजदूत सेफरको बुझाइ छ

नवनियुक्त राजदूत सेफरले नेपालको शान्ति प्रक्रियालाई विश्वसमक्ष चिनाउन आफूले भूमिका खेल्नेसमेत बताएका छन् । तर, कसरी त्यो काम हुनेछ भन्ने उनले खुलाएका छैनन् ।

त्यसो त माओवादीलाई शान्ति प्रक्रियामा ल्याइसकेपछि ०६३ सालतिर गिरिजाप्रसाद कोइरालालाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने चर्चा पनि काठमाडौंमा चलेको थियो । तर, त्यो चर्चा पानीको फोकाजस्तै आफैं सेलायो ।

शान्ति प्रक्रियामा हस्ताक्षर गर्नेमध्ये गिरिजाको निधन भइसकेको छ । प्रचण्ड भने जीवितै छन् । विश्लेषकहरुका अनुसार नेपालको शान्ति प्रक्रियालाई विश्वसमुदायमा चिनाउने एउटा महत्वपूर्ण माध्यम भनेको नोबेल शान्ति पुरस्कार पनि हो ।

तर, यस वर्षको नोबेल शान्ति पुरस्कारको प्रक्रिया अघि बढिसकेको छ । आगामी नोभेम्बरमा नर्वेको ओश्लोमा ‘रेड कार्पेट सेरमोनी’ आयोजना हुँदैछ, जसमा नेपालका कसैको पनि सहभागिता अब सम्भव छैन । तर, युरोपेली देशहरुले चाहे भने अर्को वर्ष त्यसमा नेपालका नेता पर्न पनि सक्छन् ।

त्यसो त जर्मन राजदूत सेफर नेपालमा आएदेखि नै यहाँको शान्ति प्रक्रियाप्रति निकै उत्साहित र प्रभावित देखिएका छन् ।

र, अहिले युरोपमा धेरै राजदूतहरु फेरिएका छन् । सोमबार मात्रै शीतलनिवासमा जर्मन राजदूत सेफरसहित ४ देशका राजदूतले ओहोदाको प्रमाणपत्र बुझाएका छन् । नर्वे, युरोपियन युनियन र न्युजिल्याण्डका राजदूतले पनि सोमबारै ओहोदाको प्रमाणपत्र बुझाएका छन् । ईयुकी नयाँ राजदूत भेरोनिका कोडी नेपालको शान्ति प्रक्रियाले अन्तरराष्ट्रिय मान्यता पाउनुपर्ने पक्षमा छिन् ।

स्मरणीय के छ भने माओवादी अध्यक्ष प्रचण्डले समेत अन्तर्राष्ट्रिय समुदायमा भइरहेको ‘अन्डर करेन्ट’ तरंगबारे संकेत दिएका छन् ।

व्यवस्थापिका संसदको विदाइ बैठकमा सम्वोधन गर्दा प्रचण्डले आफ्नो भाषणको अन्त्यतिर यसको संकेत गरेका थिए । युरोपेली दुताबासका महत्वपूर्ण व्यक्तित्वसँग आफ्नो छलफल भइरहेको र युरोपले नेपालको शान्ति प्रक्रियाको अध्ययन थालेको प्रचण्डले बताएका थिए ।

नेपालको शान्ति प्रक्रिया विश्वको ठूलो परिघटना भए पनि यो छायाँमा परिरहेको प्रचण्डले बताउँदै आएका छन् ।

शक्तिशाली राजदूत, जो पर्यटक बनेर नेपाल आएका थिए

जर्मन राजदूत सेफर युरोपली देशका राजदूतहरुमध्ये निकै तगडा एवं शक्तिशाली मानिन्छन् । रोचक संयोग के छ भने उनले कोलम्बियाको शान्ति प्रक्रियामा ईयुका तर्फबाट महत्वपूर्ण भूमिका खेलेका छन् । र, कोलम्वियाका राष्ट्रपति जुआन म्यानुअ सान्तोसलाई २०१६ मा नोबेल शान्ति पुरस्कार दिलाउने प्रक्रियामा राजदूत सेफरले महत्वपूर्ण भुमिकासमेत खेलिसकेका छन् ।

  • सन् २०१६ मा नोबेल शान्ति पुरस्कार ग्रहण गर्दै कोलम्बियाका राष्ट्रपति सान्तोष

सोमबारदेखि औपचारिकरुपमा नेपालको राजदूत बनेका रोलान्ड सेफर पहिलोपटक सन् १९९७ मा नेपाल आएका थिए । त्यसबेला पर्यटकका रुपमा नेपाल घुम्न आएका उनी २० वर्षपछि बलिया कूटनीतिज्ञका रुपमा काठमाडौं उत्रिएका छन् ।

राजदूत सेफर नेपालमा रहँदा यहाँ टुंगिन बाँकी रहेको शान्ति प्रक्रियाको कामलाई इमान्दारिताका साथ टुंगोमा पुर्‍याउने र लोकतान्त्रिक प्रक्रियामा आइसकेको माओवादीलाई विश्व रंगमञ्चमा सम्मानित स्थान दिलाउन मन र वचनले प्रतिवद्ध देखिएका छन् ।

तर, यो सिलसिलामा सेफरले माओवादी आन्दोलनलाई अपराधीकरण गर्न खोज्नेहरुसँग भने निकै धेरै वैचारिक संघर्ष गर्नुपर्ने हुन सक्छ ।

त्यसो त कतिपय मानिसहरुले युरोपेली देशहरु धर्मनिरपेक्षताको पक्षधर भएकाले माओवादीसँग उनीहरुको सम्बन्ध राम्रो रहेको दाबी गर्दै आएका छन् । तर, सेफरले मंगलबार नेपाली पत्रकारहरुसँग यस विषयमा पनि मुख खोलेका छन् ।

नेपालमा धर्म परिवर्तन गराउने पक्षमा आफूहरुको भूमिका नरहने उनले स्पष्ट पारेका छन् । धर्म परिवर्तनबारे सेफरको यो भनाइ पनि निकै कूटनीतिक र महत्वूर्ण देखिन्छ ।

स्वीस दूताबासमा छलफल

यसैवीच आफ्नो कार्यकाल सकेर फर्कन लागेका स्वीस राजदूतले यसैसाता नेपालको शान्ति प्रक्रियाबारे आफ्नो निवासमा विभिन्न देशका राजदूतसँग छलफल गरेका छन् ।

रोचक त के छ भने सो छलफलमा अमेरिकी राजदूतको समेत सहभागिता थियो । र, त्यहाँ माओवादीका एकजना शीर्षतहका नेतासमेत उपस्थित रहेको बुझिएको छ ।

यो छलफलका सर्जक हुन्- उनै जर्मन राजदुत रोलान्ड सेफर ।

जर्मन राजदूतले माओवादी आन्दोलनको लोकतान्त्रीकरणलाई खुलेर स्वागत गर्न पुगे, जसले गर्दा युरोपियनहरु वाम गठबन्धनको विरोधी कित्तामा उभिएका छैनन् भन्ने स्पष्ट पारिदिएको छ

वाम गठबन्धनबारे विभ्रम !

नेपालमा वामपन्थीहरुवीच गठबन्धन सुरु भएपछि पश्चिमाहरु आत्तिएको र वाम गठबन्धनको विपक्षमा रहेको दाबी केही विश्लेषकहरुले गर्दै आएका छन् । तर, युरोपेलीहरु भने एमाले र माओवादी मिलेर ‘सोसल डेमोक्रेटिक’ पार्टी बन्ने विश्वासमा रहेको स्रोतले बतायो । सोसल डेमोक्रेटिक पार्टीलाई युरोपेलीहरुले सहजै स्वीकार्ने गरेका छन् ।

स्रोतका अनुसार वाम गठबन्धनपछि भारतीय कूटनीतिज्ञहरुले यसलाई ‘कम्युनिष्टहरुको अधिनायकवाद ल्याउने रणनीति’ बताउँदै यसमा चिनियाँ चलखेल रहेको विश्वास अमेरिकालगायत पश्चिमी देशका कूटनीतिज्ञलाई दिलाउने प्रयास गरेका थिए ।

तर, युरोपेलीहरु भारतको व्याख्यातर्फ लागेनन् । यसको ठीक विपरीत, जर्मन राजदूतले त खुलेर माओवादी आन्दोलनको लोकतान्त्रीकरणलाई स्वागत गर्न पुगे, जसले गर्दा युरोपियनहरु वाम गठबन्धनको विरोधी कित्तामा उभिएका छैनन् भन्ने स्पष्ट पारिदिएको छ । र, अमेरिकी कूटनीतिज्ञहरु पनि विस्तारै नरम देखिन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment