+
+

नेप्सेमा १३ अंकको गिरावट, महत्वपूर्ण परिसूचक सबै घटे

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ८ गते १६:२५


८ कात्तिक, काठमाडौं । बुधवार नेप्से परिसूचकमा १३ अंकको गिरावट आएर १५५३ विन्दुमा आइपुगेको छ । यसदिन निकै कम कम्पनी सूचीकृत होटेल र टे«डिङ समूहको परिसूचकबाहेक सबै समूह घटेको छ । नेपाल टेलिकम सूचीकृत ‘अन्य’, उत्पादनमुलक समूह र जलविद्युत् समूहको परिसूचकमा सबैभन्दा धेरैले गिरावट आएको हो ।

बैंकिङ, बिमा, बिकास बैंक र वित्त कम्पनी परिसूचक समेत घटेपछि नेप्से बढ्न सकेन ।  ‘बैंकहरुले कर्जा दिन आधार लिने व्याज दर (बेस रेट) नघटेको, कर्जा निक्षेप अनुपात उच्च देखिएकोले पनि बजारमा भावि दिनलाई लिएर तनाव बढेको देखिएको छ,’ सेयर ब्रोकर सन्तोष मैनालीले बताए ।

गत वर्ष लिएको उच्च व्याजदरको निक्षेपको कारण कतिपय बैंकहरुको बेस रेट बढेको देखिएको थियो । यता, बैंकहरुको निक्षेपको वृद्धि अनुपात र कर्जाको वृद्धि अनुपात (रकमको आधारमा) लगभग उस्तै देखिएकोले पनि वित्तीय क्षेत्रमा तरलता अवस्थालाई लिएर चिन्ता बढेको छ । पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको सिटिजन्स बैंकको नै निक्षेप संकलन ५४ अर्ब र कर्जा लगानी ५० अर्ब देखिएको थियो ।

बैंकिङ प्रणालीमा गत वर्ष पनि उच्च कर्जा लगानीले तरलता समस्या देखिएको थियो । तरलताको दबाब बैंकहरुलाई पर्न सक्ने आशंका गरिएकोले पनि बजार बढ्न सकेन । चाडवाड पछि पनि सेयर कारोबार रकम बढ्न सकेको थिएन । यो अवस्थामा आएका पछिल्ला खबरले पनि बजारमा प्रभाव पारेको हो ।

यसदिन ४७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिनसम्म बढिरहेको नेपाल टेलिकममा आकर्षण कायमै रहेपनि सेयर मूल्य भने घटेको छ । अल्पकालिन लाभको खोजिरहेका लगानीकर्ताहरुले कम्पनीको सेयर बिक्री गरेको देखिन्छ । कम्पनीमा रणनीतिक साझेदार आउने खबर प्रसारित भएसँगै गत दुई महिनामा कम्पनीको सेयर मूल्य २ सय रुपैयाँले बढेको थियो । कम्पनीको बुधवार एकै दिन २३ रुपैयाँले सेयर मूल्य घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?