Comments Add Comment

१८ वर्षपछि फेरि कमल थापा र कृष्ण दाहालको चुनावी भिडन्त

चौथो पटक चुनावी मैदानमा भिड्दै चिर प्रतिद्वन्द्वी

१२ कात्तिक, काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ का मतदाताका लागि चौथो पटक पनि दुईमात्र विकल्प आउँदैछन्-कमल थापा रोज्ने कि कृष्णप्रसाद दाहाल ?

२०४८ सालदेखि २०५६ सम्म तीनओटा आम निर्वाचनमा चलेको रोचक प्रतिस्पर्धा १८ वर्षपछि फेरि दोहोरिँदैछ ।

लोकतान्त्रिक गठन्धनको तर्फबाट राप्रपा अध्यक्ष कमल थापा मकवानपुर १ मा प्रतिनिधिसभाको उम्मेदवार बन्ने निश्चित भइसकेको छ । वामपन्थी गठबन्धनमा मकवानपुरको दुबै क्षेत्र एमालेको भागमा परेको छ र १ मा कृष्ण दाहाल उम्मेदवार बन्ने तयारीमा छन् ।

पार्टीको क्षेत्रीय कमिटीबाट निवर्तमान सांसद अनन्त पौडेल र दाहालको नाम सिफारिस भएको छ । तर, क्षेत्र नम्बर १ मा दाहाल र २ मा केन्द्रीय सदस्य बिरोध खतिवडाले टिकट पाउने एमाले स्रोतले जनाएको छ । दुवैलाई चुनावी तयारीमा जुट्न निर्देशन दिइसकेका छन् ।

कमल थापा र कृष्ण दाहालको प्रतिस्पर्धा यो पहिलो होइन । बहुदलीय प्रजातन्त्र स्थापनापछिका तीन चुनावमा यो क्षेत्रमा कमल थापा र कृष्ण दाहालकै भिडन्त भएको छ । दुवै संविधानसभा चुनावमा भने दुई नेतामध्ये एक छान्नुपर्ने अवस्था यहाँका मतदातालाई आएन ।

२०६४ मा कमल थापा क्षेत्र नम्बर ३ बाट उम्मेदवार भए । २०७० मा उनले श्रीमती प्रमिला थापालाई क्षेत्र नम्बर १ बाटै उम्मेदवार बनाए तर, आफू चाहिँ समानुपातिमा बसे ।

एमाले नेता कृष्ण दाहाल २०६४ र ७० दुवै चुनावमा उम्मेदवार बनेन् । १८ वर्षपछि थापा र दाहालको फेरि एकै ठाउँमा भेट हुँदैछ ।

पञ्चायतकालिन राजनीतिका हस्ति कमल थापाले बहुदलीय व्यवस्थायता मकवानपुरबाट चार पटक चुनाव लडिसकेका छन्, जसमध्ये एक पटकमात्र उनले सफलता भएका छन् । यसपटक उनी पाँचौ पटक चीर परिचित प्रतिद्वन्द्वी कृष्ण दाहालसँग प्रतिस्पर्धा गर्दैछन् ।

२०४८ सालको आम निर्वाचनमा मकवानपुर १ मा एमालेका दाहालले थापालाई करीव ५ हजार मतान्तरले पराजित गरेका थिए । दाहालले १४ हजार १८४ मत पाउँदा थापा ९ हजार ८२५ मतका साथ दोस्रो भए ।

२०५१ को मध्यावधी निर्वाचनमा भने परिणाम उल्टियो । कमल थापाले १६ हजार ७५३ मत पाएर सांसद जित्दा दाहाल १५ हजार ८२ मतका साथ दोस्रो भए । थापा मकवानपुर २ बाट पनि चुनाव लडेका थिए । तर, एमालेका बिरोध खतिवडासँग पराजित भए ।

२०५६ को आम निर्वाचनमा फेरि परिणाम उल्टियो । कमल थापालाई कृष्णप्रसाद दाहालले करीव ५ हजार मतान्तरमै पराजित गरे । दाहालले २० हाजर ४४२ मत पाउँदा थापाले १५ हजार ९८५ मत पाए ।

उक्त निर्वाचनमा थापा मकवानपुर ३ बाट पनि उम्मेदवार थिए । तर, त्यहाँ उनी एमालेका वीरवहादुर लामासँग करीव २ हजार मतान्तरले पराजित भए । २०६४ सालको संविधानसभा निर्वाचनमा थापा मकवानपुर ३ बाट उम्मेदवार बनेर तेस्रो भएका थिए ।

समयक्रमले यसपटक फेरि थापा र दाहाललाई नै एक अर्काको प्रतिस्पर्धी बनाउने देखिएको छ । चौथो पटकको प्रतिस्पर्धामा मकवानपुर १ का मतदाताले कसलाई रोज्ने हुन्, अहिले नै अनुमान लगाउन कठिन छ ।

हालसम्मका तीनवटा भिडन्तमा दाहालले दुई पटक जितेका छन् भने कमल थापाले एक पटकमात्र । यो चुनावमा थापाले दाहाललाई जितेर बराबरी पुर्‍याउने हुन् वा दाहालले हृयाट्रिक गर्ने हुन् ? यो नै अहिले मकवानपुरको रोचक बहस हो । मकवानपुर १ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाका १५ वटा वडाका साथै वागमती गाउँपालिका, वकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment