+
+

नेपाली आकाशमा थपिँदै नयाँ हेलिकोप्टरः लगानी विस्तार गर्दै सेवाप्रदायक कम्पनीहरु

छिट्टै थपिँदै ६ हेलिकोप्टर

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १३ गते १०:२६

१३ कात्तिक, काठमाडौं । पछिल्लो समय नेपालमा हेलिकोप्टरमा लगानी गर्नेहरू बढेर गएका छन् । यसबाट हुने आम्दानीका कारण सञ्चालनमा रहेका कम्पनीले पनि धमाधम नयाँ हेलिकोप्टर भित्र्याइरहेका छन् ।

कैलाश हेलिकोप्टर प्रालि नयाँ दुई हेलिकोप्टरसहित सञ्चालनमा आउने तयारीमा छ । उक्त कम्पनीका अध्यक्ष आशिष शेरचनका अनुसार हाल खरिद प्रक्रिया अगाडि बढाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणसँग उडान अनुमति पत्र (एओसी) माग गर्दै उक्त कम्पनीले निवेदन दिएको छ ।

यस्तै, फिस्टेल एयरले पनि नयाँ हेलिकोप्टर खरिद गर्ने प्रक्रिया बढाएको छ । फिस्टेल एयरका अपरेसन प्रमुख रमेश शिवाकोटीका अनुसार अगस्ट २०१८ सम्ममा एउटा हेलिकोप्टर खरिद गरिसक्ने तयारी छ ।

उक्त कम्पनीले अहिले तीन वटा हेलिकोप्टर सञ्चालन गरिरहेको छ, बढाएर पाँच पुर्‍याउने योजनामा छ ।

सिम्रिक एयरले पनि नयाँ हेलिकोप्टर ल्याउने योजना बनाएको छ । उक्त कम्पनीका महाप्रबन्धक प्रेम थापाका अनुसार दुई हेलिकोप्टर थप्ने तयारी छ ।

एयर डायनास्टीले हालै नयाँ हेलिकोप्टर थपेको छ । उक्त कम्पनीसँग अब पाँच वटा पुगेका छन् । यसअघि उक्त कम्पनीले उद्दारको सेवा मात्र दिने गरेको थियो । अहिले धार्मिक स्थलसम्मको यात्रा र मनोरञ्जनमा पनि प्रयोग गर्न थालेको छ ।

एयर डाइनास्टीका सेल्स एन्ड मार्केटिङ निर्देशक श्याम कँडेलका अनुसार अहिले हिमालको दृश्यावलोकनका लागि पनि हेलिकोप्टरको प्रयोग बढेको छ ।

उनले भने, ‘पहिले उद्दारका लागि मात्रै प्रयोग हुने हेलिकोप्टरहरु अहिले भने मनोरञ्जनका लागि पनि उपयोग हुन थालेका छन्, त्यसैले पनि यसमा लगानी बढेको हो ।’

हेलिकोप्टरमार्फत् हुने व्यापार भने विदेशी पर्यटकमै निर्भर देखिन्छ । विदेशी पर्यटकको ध्यान हिमालको दृश्यावलोकनमा बढी हुन्छ ।

विनासकारी भूकम्पपछिका वर्षमा विदेशी पर्यटक बढ्ने क्रममा छन् । हेलिकोप्टरका यात्रु पनि त्यससँगै बढिरहेका छन् । कमाइ राम्रो हुन थालेपछि हेलिकोप्टर कम्पनीहरु पनि सेवा विस्तारमा लागेका छन् ।

मुक्तिनाथ र गोसाइँकुण्डजस्ता तीर्थस्थलसम्म पुग्न नेपाली नागरिकले पनि हेलिकोप्टर भाडामा लिन थालेका छन् । तर, स्वदेशी यात्रुको हिस्सा सानो छ ।

सामान्यतया एउटा हेलिकोप्टरको मूल्य ३० करोड रुपैयाँ हाराहारीमा पर्छ । सिम्रिकका महाप्रबन्धक थापा भन्छन्, ‘भौगोलिक र पर्यटकीय हिसाबले पनि नेपालको हेलिकोप्टर व्यापार बढ्दै जाने देखिन्छ, त्यसैले लगानीकर्ताको आकर्षण बढेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?