+
+
Shares

बेलायत र नेपालका निजी क्षेत्रलाई एकै मञ्चमा ल्याएर समझदारीपत्रमा हस्ताक्षर

बेलायतको वेस्ट लन्डन चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघ तथा वेस्ट लन्डन चेम्बर अफ कमर्स र नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीबीच एमओयू भएको हो।

नवीन पोखरेल नवीन पोखरेल
२०८३ असार २१ गते १७:४६

२१ असार, लन्डन । लन्डनस्थित नेपाली दूतावासले ‘व्यापार, लगानी, प्रविधि र आउटसोर्सिङ’ मार्फत नेपाल-बेलायत आर्थिक साझेदारीलाई अगाडि बढाउन ‘नेपाल-यूके इकोनमिक पार्टनरसिप फोरम २०२६’ आयोजना गर्‍यो ।

फोरममा दुई छुट्टाछुट्टै समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। एउटा बेलायतको वेस्ट लन्डन चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघबीच तथा अर्को वेस्ट लन्डन चेम्बर अफ कमर्स र नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीबीच एमओयू भएको हो।

वेस्ट लन्डन चेम्बर अफ कमर्सका सीइओ एलन राइड्स र उपाध्यक्ष डा. रेणु राजले दूतावासमा आफ्नो तर्फबाट एमओयूमा हस्ताक्षर गरे भने परिसंघका अध्यक्ष पृथ्वीराज पाण्डे र नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष डा. रोशन राठीले काठमाडौंबाट ‘भर्चुअल’ रूपमा सम्झौतापत्रमा हस्ताक्षर गरे।

ती सम्झौताहरूको लक्ष्य बढ्दो सहयोग, व्यावसायिक सम्बन्ध र व्यापार एवं लगानी अवसरहरूको पारस्परिक प्रवर्द्धनमार्फत द्विपक्षीय व्यावसायिक संलग्नता सुदृढ पार्ने रहेको छ ।

व्यापारिक समुदायहरूले पारस्परिक हितका क्षेत्रमा सहकार्य र साझेदारीका अवसर अन्वेषण गर्न सकुन् भन्ने उद्देश्यले दूतावासले दुई देशका निजी क्षेत्रहरूलाई एक मञ्चमा ल्याएको हो।

परराष्ट्र मन्त्री शिशिर खनालले पनि सम्मेलनलाई सन्देश पठाएका थिए। आफ्नो सन्देशमा परराष्ट्र मन्त्रीले अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन, प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्ने, पर्यटन विस्तार, प्रविधि हस्तान्तरण सहजीकरण, रोजगारीका अवसर सिर्जना र नेपाललाई विश्वव्यापी रूपमा अझ नजिकबाट एकीकृत गरेर आर्थिक वृद्धिलाई तिव्रता दिने नेपाल सरकारको प्रतिबद्धता व्यक्त गरे ।

उनले जलविद्युत, नवीकरणीय ऊर्जा, पर्यटन, कृषि, पूर्वाधार, उत्पादन, सूचना प्रविधि र डिजिटल सेवाहरू लगायत नेपालका प्राथमिकता क्षेत्रहरूमा बेलायती लगानीलाई स्वागत गर्न तत्पर रहेको पनि उल्लेख गरेका छन्।

खनालले ब्रिटेन नेपालको महत्वपूर्ण विकास साझेदार भएको बताएका छन्। उनले नेपालको प्रविधि रुपान्तरण तथा नवप्रवर्तमा बेलायतसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको पनि बताए।

सहभागीहरूलाई स्वागत गर्दै कार्यवाहक राजदूत विपिन दुवाडीले विगत केही वर्षयता नेपाल-बेलायत आर्थिक सम्बन्ध बढ्दो गतिमा रहेको प्रकाश पार्दै व्यापारिक समुदायलाई नेपालमा आफ्नो व्यावसायिक गतिविधि र लगानी बढाउन प्रोत्साहित गरे।

दोहोरो कर उन्मूलन सम्झौता गर्न छलफल जारी रहेको भन्दै दुवाडीले समझदारीपत्रमा हस्ताक्षरपछि दुवै देशमा व्यापार र लगानीका अवसर खुल्ने विश्वास व्यक्त गरे।

उनले नेपाल–बेलायतबीचको द्विपक्षीय व्यापार, लगानी प्रवर्द्धन तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउन दूतावास निरन्तर प्रयासरत रहेको बताए।

सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्लले नेपाल-बेलायत सम्बन्ध इतिहास, विश्वास र साझा लोकतान्त्रिक मूल्य-मान्यतामा निर्मित रहेको बताए ।

‘नेपाललाई आगामी सात वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने लक्ष्य लिएर नयाँ सरकारले काम गरिरहेको छ। नेपालको चुनौती भनेको उपलब्ध स्रोत-साधनको विवेकपूर्ण उपयोग हो। नेपाल एक ‘मल्टिप्लायर राष्ट्र’ बन्नुपर्छ। सार्वजनिक बजेट मात्रले हाम्रो राष्ट्रिय आकांक्षा पूरा गर्न सक्दैन। निजी लगानी आवश्यक छ,’ उनले भने ।

डा. मल्लले नेपाल-बेलायत साझेदारी परिणाममुखी आर्थिक कूटनीतिमा आधारित हुनु पर्ने बताए ।

नेपालका लागि बेलायतका राजदूत रब फेनले नेपालमा लगानीका लागि थुप्रै सम्भावना रहेको बताए। बेलायतकी इन्डो प्यासिफिक तथा समानता मन्त्री सीमा मलहोत्राले हालै नेपालको भ्रमण गरेको उल्लेख गर्दै राजदूत फेनले सूचना प्रविधि तथा एआईको क्षेत्रमा नेपालीहरूले विश्व बजारमा सेवा प्रदान गर्दै आएको जनाए।

उनले युके-नेपालबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्न निरन्तर प्रयास गरेकोमा लन्डनस्थित नेपाली दूतावास र ब्रिटेन–नेपाल च्याम्बर अफ कमर्सलाई धन्यवाद पनि दिए।

‘हामी नेपालको डिजिटल रूपान्तरणमा उत्तम मित्र बन्न सक्छौं। कृत्रिम बुद्धिमत्ता (एआई) ले हाम्रो जीवनलाई नाटकीय रूपमा बदल्ने छ र नेपालसँग एआई-सक्षम कार्यबल छ,’ उनले भने।

आफ्नो सम्बोधनमा नेपालका लागि सर्वदलीय संसदीय समूह अध्यक्ष सांसद एलेक्स बेकरले बेलायतले नेपाललाई विकास सहायता प्राप्तकर्ताको दृष्टिकोणबाट मात्र नभई विकासमा साझेदारको रूपमा पनि हेर्नुपर्ने बताइन्।

उनले दुई देशबीचको सम्बन्ध इतिहासमा मात्र नभई व्यापार, लगानी, शिक्षा, प्रविधि र उद्यममा व्यावहारिक सहयोगमा समेत आधारित हुनुपर्नेमा जोड दिइन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्यले नेपालका ठूला पूर्वाधार, जलविद्युत र पर्यटन क्षेत्रमा लागनी भित्र्याउन बेलायतस्थित नेपाली डायस्पोरालाई आह्वान गरे ।

आचार्यले आफू एनआरएनएको नेतृत्वमा रहँदा नेपालमा गैरआवासीय नेपाली नागरिकताको सुनिश्चितताका लागि लामो संघर्ष गरेको स्मरण गर्दै अब विश्वभर रहेका नेपालीका लागि मातृभूमिमा निर्धक्क भएर लगानी गर्ने ऐतिहासिक अवसर सिर्जना भएको बताए ।

नेपाल दुई ठूला आर्थिक महाशक्ति र विशाल जनसंख्या भएका छिमेकी मुलुक चीन र भारतको बीचमा रहेकाले यहाँ बजार र विकासको प्रचुर सम्भावना रहेको औंल्याउँदै उनले संशय त्यागेर एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिए ।

ब्रिटेन–नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष बिराज भट्टले नेपाल र बेलायतबीचको व्यापारिक सम्बन्धलाई अझ सुदृढ बनाउन संस्थाले काम गर्दै आएको जनाए। उनले नेपालमा लगानी गर्न अहिले उपयुक्त वातावरण रहेको बताउँदै ब्रिटेनस्थित नेपाली डायस्पोराले यसमा पहल गरिरहेको पनि बताए।

सम्मेलनकै क्रममा वेस्ट लन्डन च्याम्बर अफ कमर्स, लन्डनका सीईओ एलन राइड्स, उपाध्यक्ष डा. रेणु राज र नेपाल बेलायत च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनबीसीसीआई) का अध्यक्ष डा. रोशन राठीले द्विपक्षीय व्यावसायिक सहकार्य, बलियो व्यापारिक सम्बन्ध र व्यापार तथा लगानीका अवसरहरूको आपसी प्रवर्धन गर्न एक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको बताए ।

सम्मेलनका क्रममा आयोजित प्यानल डिस्कसनहरूमा द्विपक्षीय व्यापार विस्तार, प्रविधि क्षेत्रमा लगानी प्रवर्द्धन, व्यवसायिक सञ्जाल विस्तार तथा बेलायतमा रहेका नेपाली समुदायको आर्थिक भूमिकालाई थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल गरिएको थियो ।

सम्मेलनमा नेपाल लगानी बोर्डको कार्यालयबाट एक विस्तृत प्रस्तुतीकरण गरिएको थियो। सम्मेलनमा ब्रिटिस अन्तर्राष्ट्रिय लगानी, बेलायत निर्यात वित्त, व्यापार तथा व्यापार विभागका वरिष्ठ अधिकारीहरू र बेलायती सरकारी कार्यालयहरूका प्रतिनिधिहरू उपस्थित थिए।

फोरमले बजार पहुँच, लगानी सहजीकरण, कृत्रिम बुद्धिमत्ता, प्रविधि, नवप्रवर्तन, आउटसोर्सिङ, व्यावसायिक सेवाहरू र व्यावसायिक सहकार्यमा केन्द्रित व्यापार, लगानी र डिजिटल अर्थतन्त्रमा रणनीतिक संवादहरू प्रस्तुत गरेको थियो।

सहभागीहरूले नीतिगत स्पष्टता, संस्थागत साझेदारी, सिप विकास र सरकार र निजी क्षेत्र, लगानीकर्ता एवं व्यावसायिक संस्थाहरूबीच निरन्तर संलग्नताको महत्त्वमा जोड दिएका थिए । जसले गर्दा बृहत् आर्थिक अवसरहरू खोज्न र लचिलो तथा पारस्परिक रूपमा लाभदायक आर्थिक साझेदारी निर्माण गर्न सकिने विश्वास गरिएको छ ।

फोरमले १५० भन्दा बढी नीति निर्माता, सांसदहरू, व्यापारिक नेता, लगानीकर्ता, विकास वित्त र प्रविधि विज्ञ, वाणिज्य चेम्बरका प्रतिनिधि, उद्यमी र नेपाली डायस्पोराका सदस्यहरूलाई नेपाल र बेलायतबीच आर्थिक सहयोग सुदृढ पार्ने अवसरबारे छलफल गर्न एकसाथ ल्याएको थियो।

उक्त कार्यक्रम सञ्चालन दूतावासका द्वितीय सचिव सन्जोग राईले गरेका थिए।

लेखक
नवीन पोखरेल

नवीन पोखरेल अनलाइनखबरका लागि बेलायतका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?