Comments Add Comment

केपी ओलीलाई हराउने विश्वदीप फेरि चुनावी मैदानमा

१४ कात्तिक, झापा । आजभन्दा १० वर्षअघि पहिलो संविधानसभा चुनावमा केपी ओलीलाई झापाबाट हराउने विश्वदीप लिङदेन यसपालि फेरि ओलीसँगै चुनाबी मैदानमा उत्रिएका छन् ।

युवा नेता लिङदेन ०६४ सालको संविधानसभा चुनावमा माओवादीका तर्फबाट केपी ओलीसँग चुनाव लडेका थिए । अहिले उनले माओवादी छाडिसकेका छन् । अब उनी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका तर्फबाट झापा क्षेत्र नम्बर ५ मा ओली विरुद्ध चुनाव लड्न लागेका हुन् ।

संघीय समाजवादी फोरमले मंगलबार सार्वजनिक गरेको उम्मेदवारहरुको सूचीमा लिङदेनको पनि नाम छ । उनी झापा क्षेत्र नम्बर ५ को उम्मेदवार बनेका छन्, जहाँ केपी ओली एमाले र माओवादीको साझा उम्मेदवार छन् ।

पहिलो संविधानसभा चुनावमा साविकको क्षेत्र नम्बर ७ मा लिङदेनले १६ हजार ९९ मत पाएका थिए । दोस्रो बनेका केपी ओलीले १४ हजार ९५९ मत ल्याएका थिए । कांग्रेसले त्यसबेला ११ हजार मत ल्याएको थियो भने राप्रपाले ३४७८ मत पाएको थियो ।

माओवादीबाट केपी ओलीलाई हराएर चुनाव जितेका लिङदेनले यो १० वर्षको अवधिमा आफ्नो राजनीतिक करिअर टिकाउन सकेनन् । माओवादी पार्टीले उनलाई आर्थिक अनुशासन उल्लंघन गरेको आरोपमा कारवाही गर्‍यो ।

माओवादीबाट कारवाहीमा परेपछि उनी केही समय वैद्य समूहमा लागे । त्यसपछि संघीय समाजवादीमा प्रवेश गरी केन्द्रीय सदस्य बने ।

लिङदेनले सभासद भएकै बेला उनले अनुचित आर्जनबाट दमकमा घर खरिद गरेको आरोप लाग्यो ।
सभासद भएकै बेला उनी विमानस्थलमा छोरीलाई रिभल्भर बोकाएर विवादमा समेत तानिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment