Comments Add Comment

बागदरबार भत्काएर यस्तो बनाइँदैछ महानगरको नयाँ भवन (डिजाइनसहित)


१४ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिको पुरातात्विक र एेतिहासिक बागदरबार भत्काएर बनाउने नयाँ भवनको प्रस्तावित डिजाइन सार्वजनिक गरेको छ ।

बागदरबार भत्काउने/नभत्काउनेबारे विवाद भइरहेकै समयमा काठमाडौं महानगरपालिकाले नयाँ भवनको डिजाइन सार्वजनिक गरेको हो ।

यसमा अहिले भत्काउन लागिएको बागदरबारको बाहिरी डिजाइनलाई पनि समावेश गरिएको छ । भवनको बाहिरी मोहडा तीन वटा मौलिकता झल्कने गरि डिजाइन गरिएको मेयर विद्यासुन्दर शाक्यले बताए ।

तर, भित्री डिजाइनहरु भने आ-आफ्नै मौलिकता झल्कने प्रकारको हुने जानकारी दिइएको छ ।

पहिलो भागमा बागदरबारको झल्को


भवनमो पहिलो भागमा एतिहासिक बागदरबार भवनको स्वरूप झल्कने मोहडामा डिजाइन गरिएको छ । जुन, पुरानो बागदरबारकै आकारमा ३ तल्लाको मात्र हुनेछ ।

यसमा एतिहासिक मौलिकता कायम गर्न खोजिएको छ । यो ब्लकको भित्रि फिनिसिङ पनि बागदरबारको पौराणिक शैलीमा नै हुने महानगरपालिकाका इन्जिनियर प्रेमबहादुर श्रेष्ठले जानकारी दिए ।

दोश्रो भागमा लिच्छवीकालीन शैली


भवनको दोस्रो भागमा लिच्छवीकालीन शैलीको मोहडा डिजाइन गरिएको छ । जुन, पूर्ण मल्लकालीन स्वरूपमा देखिनेछ । यो भवन साढे ६ तलाको हुनेछ ।

यसमा पुराना मौलिकतालाई विशेष ग्राह्यता दिइएको माहनगरपालिकाका भौतिक निार्मण विभाग प्रमुख उत्तरकुमार रेग्मीले अनलाइनखबरलाई बताए ।

तेस्रो भागमा आधुनिकता


भवनको तेस्रो भाग भने आधुनिक किसिमको हुनेछ । यो भागको मोहडा महानगरपालिकाको पहिचान दिने टावर स्वरूप निर्माण गर्न खोजिएका इन्जिनियर श्रेष्ठले बताए ।

१५ तल्ला हुने यो टावरको माथिल्लो तल्लाबाट काठमाडौं उपत्यका लगायत विभिन्न हिमशृंखला दृश्यावलोकन गर्न सकिनेछ ।

विपद ब्यबस्थापनको उद्देश्य अनुरूप सो तल्लाबाट बाइनाकुलरमार्फत महानगरपालिका भित्र हुने घटनाक्रमहरु अबलोकन गरी विपद न्यूनीकरण गर्न सकिने श्रेष्ठले बताए ।

अन्य तल्लाहरुको हकमा आईटी पार्क, अन्तरास्ट्रीय स्तरको कुटनैतिक बैठक, सेमिनार तथा सभा सम्मेलन हलहरु हुनेछन् ।

भवनभित्रको डिजाइन कस्तो ?

यो भवनभित्र चार वटा परम्परागत मल्लकालीन शैलीको चोकहरु हुनेछन् । काठमाडाैंमा लोप हुँदै गएको पुरातात्विक चोकहरुको पूर्ण स्वरूप झल्कने गरी डिजाइन गरिएको रेग्मीले जानकारी दिए ।


यसका सम्पूर्ण प्यासेज, लबी, कोठाहरुमा उज्यालो छिर्ने गरी डिजाइन गरिएको छ । लाइब्रेरी, भर्‍याङ, शौचालय, लिफ्ट, प्यासेज लगायत अधिकांश सेवाग्राहीलाई सहज हुने गर डिजाईन गरिएको मेयर शाक्यले बताए ।

भवनको चोक, लबी, प्यासेज, भर्‍याङ तथा कौसीहरुमा स्वास्थ्यको दृस्टीकोणले चिसोपन कम हुने प्रकारको नेपाली ढुंगा वा तेलिया ईंटाको प्रयोग गरिनेछ ।

भवनमा कार्यपालिका, न्यायपालिका, न्यायिक समिति, ईजलास, मेलमिलाप कक्षको लागि ब्यबस्थित हलहरुको डिजाइन गरिएको छ ।


मेयर,उपमेयर लगायत अन्य सबै विभागहरुको आधुनिक तथा प्रभावकारी कार्यकक्ष डिजाइन गरिएको छ । अपाङ्गता भएकाहरुका लागि युनिभर्सल डिजाईन गरिएको यो भवनमा अपाङ्ग मैत्री र्‍याम्प र पार्किङको सुविधा पनि हुनेछ ।

टावरसम्म सजिलै पुग्न सक्ने लिफ्ट, दृष्टिविहीनहरुको लागि फ्लोरहरुमा सांकेतिक टायल, लाइब्रेरीमा ब्रेल लिपी पुस्तकहरु पनि रहनेछन् ।

भूमिगत पार्किङ


यो भवनमा भूमिगत तल्लामा सय वटा गाडी र सय वटा मोटरसाइकल राख्न सकिनेछ । भविष्यमा अर्को सयवटा गाडीको पार्किंङ थप्न मिल्ने सुबिधा पनि राख्ने योजना रहेको रेग्मीले जानकारी दिए ।

बाहिर ग्राउण्डमामा ५० वटा गाडी र करिब २०० वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ । आकासे पानीको संकलन तथा पुनः प्रयोग र सोलार इनर्जीको प्रयोगको व्यवस्था पनि गरिनेछ ।

१५० करोड लागत

महानगरपालिकाभित्रका पौराणिककालदेखि लोप हुँदै गएका सम्पदा एबं पुरातात्विक महत्वका वस्तुहरुको संरक्षण गर्न व्यवस्थित म्युजियम पनि भवनभित्रै राखिनेछ ।

ती वस्तुहरुको संरक्षण गरी सर्वसधारणहरुको लागी समेत प्रदर्शनको लागि खुला गर्ने योजना पनि भएको इन्जिनियर श्रेष्ठले बताए । महानगर भवन परिसर भित्र पराणिक ढुंगेधारा र ब्यबस्थित पाटी-पौवा पनि रहनेछ ।


पाटी-पौवाको प्रयोग भजन, नृत्य, विदेशी पाहुनाहरुको लागि सम्मान तथा नेपाली परम्परा अनुसार विदेशी पाहुनाहरुको सत्कारको लागि उपयोग हुने उनले बताए ।

महानगरपालिकाभित्रै सेवा ग्राहीहरुको सुबिधाको लागि आकस्मिक स्वास्थ्य उपचार कक्ष पनि राखिने भएको छ । यो भवन बनाउन एक अर्ब ५० करोड खर्च लाग्ने अनुमान छ ।

४२ महिनामा बनिसक्ने यो भवन निर्माणको औपचारिक निणय नगर कार्यपालिकाले गरिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment