१७ कात्तिक, गोरखा । ‘दाइ आराम हुनुहुन्छ ? घरतिरको खबर के छ ?’ गृह गाउँपालिका गोरखाको सिरानचोक पुगेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्थानीय बासिन्दासँग हात मिलाउँदै प्रश्न सोधे । कसैलाई काकाकाकी त कसैलाई दाइभाइको साइनोले सम्बोधन गर्दै उनी अंकमाल गर्दै थिए ।
आसन्न निर्वाचनमा गोरखा २ को प्रतिनिधिसभा सदस्यमा बाबुराम भट्टराईको प्रतिद्वन्द्वीका रुपमा चुनावी मैदानमा उत्रिएका श्रेष्ठ घरदैलो अभियानअन्तर्गत् सिरानचोकको अर्कुल पुगेका थिए । कार्यकर्तासहित दिउँसो दुई बजेतिर अर्कुल पुगेका श्रेष्ठको गाडी रोकिएसँगै पञ्चैबाजा बज्न सुरु भयो । बाजासहित स्थानीयवासी स्वागतका लागि अगाडि सरे ।
आफ्नै ठाउँ भएर श्रेष्ठले प्रायः सबैलाई चिने । उनले त्यहाँ आफ्नो निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गरे । र, मतदातालाई सम्बोधन गर्दै भोट मागे ।
उनी भन्दै थिए, ‘तपाईंहरु बहुमतको सरकारसँगै राजनीतिक स्थिरता र विकास चाहनुहुन्छ कि हुँदैन ? चाहनुहुन्छ भने वाम गठबन्धनलाई जिताउनुपर्छ, वाम गठबन्धनबाट मात्र त्यो सम्भव छ ।’
सम्बोधनका क्रममा उनी आफ्ना प्रतिद्वन्द्वी डा. भट्टराईलाई इंगित गर्दै भन्दै थिए, ‘नयाँशक्ति नामको पुरानो विचार भएका व्यक्तिलाई जिताएर केही फाइदा छैन ।’
‘दुई दिनअघि कांग्रेसलाई जरैदेखि उखेलेर फाल्नुपर्छ भन्ने, अहिले त्यही काग्रेससँग मिल्ने, यस्ता मान्छेलाई कसरी विश्वास गर्नुहुन्छ,’ उनी भन्दै थिए । पुसभित्र वामपन्थीको एकल बहुमतको सरकार बन्ने श्रेष्ठले दाबी गरे ।
श्रेष्ठको गृहगाउँमै पुगेर अनलाइनखबरकर्मी विकास मरहट्टाले गरेको संक्षिप्त कुराकानीः
बाबुराम भट्टराईसँग तपाईंको किन यति धेरै तिक्तता बढेको ?
त्यस्तो केही तिक्तता छैन । उहाँ जुन ढंगले चुनावमा आउनुभयो, त्यो उहाँको अधिकार हो । त्यसलाई हामी सम्मान गर्छाै । सम्बन्ध चिसिनुपर्ने कुनै कारण छैन । तर, उहाँ संसदमा जाने बाटो आफैंले बन्द गर्नुभयो, त्यसमा दुःख लागेको छ ।
गोरखा १ र २ मै बाबुरामलाई टिकट दिनुहुँदैन भनेपछि उहाँ वाम गठबन्धनबाट बाहिरिनुभयो भन्ने कुरा छ नि ?
त्यो गलत कुरा हो । उहाँले वाम गठबन्धनमा आएपछि १५ सिट माग्नुभयो । त्यो कुरालाई दुई (माओवादी र एमाले) पार्टीले स्वीकार गर्न सकेनन् । तर, वाम गठबन्धनमा उहाँलाई कुनै एउटा ठाउँबाट जिताएर सांसद बनाऊँ भन्ने समझदारी भएको थियो ।
त्यो टुंगो नलाग्दै उहाँ हतारिएर बाहिरिनुभयो । त्यसले गर्दा प्रश्न उठ्यो कि उहाँ साँच्चै एकीकृत कम्युनिस्ट पार्टी बनाउने उद्देश्यले आउनुभएको थियो त ? यदि थियो भने निष्कर्ष ननिस्किञ्जेल बस्नुहुन्थ्यो होला । हतार गरेर किन बाहिर जानुभयो ? यसले गठबन्धनमा आउँदादेखि नै उहाँको नियत र विचारमाथि प्रश्न उठाएको छ ।
अघिल्लो पटक मकवानपुरबाट चुनाव लड्नुभयो तर, अहिले गोरखा २ नै किन ?
हाम्रो पार्टीले नै पहिला आफू जन्मे हुर्केको घर भएको ठाउँमा नै उम्मेदवारी दिने भन्ने निर्णय गर्यो । त्यसअनुसार अध्यक्ष चितवन जाने, म गोरखा आउने भन्ने भयो । गोरखामा आउने नै भएपछि आफू जन्मे हुर्केको ठाउँ नै ठीक हुन्छ भन्ने स्वाभाविक हो । अरु केही कारणले होइन ।
तपाईंले जित्ने आधार के छ ?
जित त अब सुनिश्चित नै छ । यो मैले होइन, जनताले भनिराखेको कुरा हो । पहिलो कुरा त हाम्रो विचार र नीति एकदमै प्रष्ट छ । राष्ट्रिय स्वाधीनताको रक्षा, संविधानको कार्यान्वयन र विकास, शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाट समृद्धि हासिल गर्ने, सामाजिक न्याय हासिल गर्ने हाम्रो स्पष्ट राजनीतिक लाइन छ । लाइन मात्रै भएर हुँदैन, यसको कार्यान्वयन गर्ने हैसियत हामीसँग मात्रै छ ।
अब वाम गठबन्धनको एकल बहुमतको सरकार बन्छ । संगठनको हिसाबले गोरखामा हामो संगठन यसै बलियो हो अर्काे अहिले गठबन्धनले झन् हामी बलियो भएका छौं । हाम्रो मनोबल बलियो छ ।
कांग्रेसका जेलनेल भोगेका, दुःख पाएका साथीहरु पनि अस्थिर प्रवृत्तिको पक्षमा देखिनुहुन्न । यस कारणले उहाँहरुको पनि समर्थन मलाई आउँछ । अनि, मेरो अहिलेसम्मको व्यक्तित्वको पहिचान पनि जितको बलियो आधार हो ।
मैले राष्ट्रघाती मुद्दामा कुनै सम्झौता गरिनँ, बाबुराम प्रधानमन्त्री हुँदा उहासँग पनि गरिनँ, यो गोरखाका बासिन्दाले बुझेका छन् ।
म एउटा आदर्श विचार र सिद्धान्तमा अडिक रहने मान्छे हुँ भनेर सबैले बुझेका छन् । वामपन्थी एकताका लागि मैले गरेको प्रयास पनि बुझेका छन् । यस्ता कारणहरु छन्, जसले गर्दा मेरो विजयलाई कसैले पन्छाउन सक्दैन ।
चुनाव जितेपछि गोरखालीले नारायणकाजीबाट के पाउँछन् ?
पहिलो कुरा त सिंगो देशले राष्ट्रिय स्वाधीनताको रक्षा र विकास पाउँछ । त्यसकारण यो देशको जनताले पाउने विकास यहाँका जनताले पनि पाउँछन् । दोस्रोचाहीँ गोरखा २ का मतदाताले विकासको नयाँ लहरको अनुभूति गर्न पाउनेछन् ।
यो पनि पढ्नुहोस्
नारायणकाजीसँग दुश्मनी छैन तर समृद्ध गोरखाका लागि मै चाहिन्छः बाबुराम
प्रतिक्रिया 4