Comments Add Comment

उपभोक्ता ठगेको आरोपमा दरबारमार्गका ८ ब्राण्डेड पसलका सञ्चालक पक्राउ

१५ कात्तिक, काठमाडौं । उपभोक्तालाई ठगी गरेको आरोपमा दरबारमार्गका ८ ब्राण्डेड पसलका सञ्चालक पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता रामदत्त जोशीका अनुसार पक्राउ पर्नेहरूमा वाच एण्ड सीका राजेश्वर श्रेष्ठ, तिरुपति प्रालिका नन्दन बिहानी, लेवल स्टोलका दितेन्द्र महर्जन र सुवास महर्जनका साथै एडभेञ्चर आउटडोरका रोशन ओडारी छन् ।

लाइफ स्टाइल प्रालिका श्रीकृष्ण महर्जन, एभिन्यू मार्केटिङका उत्तमकुमार बस्नेत, प्लेटिनियम ट्रेड कन्सनका प्रविन झा र बेन्टलीका तुलसीधर भण्डारीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

बाँकी व्यवसायीका सम्बन्धमा भने अनुसन्धान चलिरहेको परिसरले जनाएको छ ।

‘हामीले पहिलेदेखि उपस्थित हुन सूचना दिएका थियौं,’ परिसरका प्रवक्ता जोशीले भने, ‘अटेरी गरेपछि हिजो दिनभरि लगाएर पक्राउ गरेका हौं ।’ प्रहरीले ती व्यवसायीलाई उपस्थित हुन दशैंलगत्तै जानकारी दिएको थियो । तर, लामो समय फरार भएपछि प्रहरीले खोजी तीब्र बनाएको थियो ।

उनीहरूविरुद्ध कालोबजारी ऐनअन्तर्गत मुद्दा दर्ता भइसकेको र अब म्याद थपेर अदालतमा लैजाने तयारी भएको उनले बताए ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले उपभोक्ता ठगेको भन्दै न्यूरोडका दुईसहित दरबारमार्गका १३ व्यवसायीमाथि अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाउन दशैं अगाडि नै प्रहरी परिसर टेकुलाई जिम्मा लगाएको थियो । विभागले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन -२०३२ अनुसार कारवाहीका लागि फाइल परिसरमा पठाएको थियो ।

विभागले भने यसअघि नै व्यवसायीको दबावमा १० असोजमा नै शिलबन्दी गरिएका ती पसल खोल्ने अनुमति दिइसकेको छ ।

तत्कालीन आपूर्तिमन्त्री शिवकुमार मण्डलले गत १९ र २१ भदौमा दरवारमार्ग क्षेत्रका ब्राण्डेड पसलमा छापा मारेका थिए । अनुगमनका क्रममा अत्यधिक मूल्य राखेर उपभोक्ता ठगेको पाइएपछि त्यस क्षेत्रका ९ वटा पसलमा शील गरिएको थियो । विभागले दरवारमार्गका ११ पसल र न्यूरोडका २ सहित १३ पसलमाथि कारवाहीका लागि परिसरमा सिफारिस गरेर पठाएको थियो ।

अनुसन्धानका क्रममा विभागले पनि व्यवसायीले उपभोक्ता ठगेको निष्कर्ष निकालेको थियो । विभागको अनुसन्धानसँगै परिसरले पनि आफ्नो ढंगले अध्ययन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment