Comments Add Comment

दोस्रो चरण निर्वाचनको उम्मेदवारी मनोनयन सुरू

१६ कात्तिक, काठमाडौं । आगामी मंसिर २१ गते दोस्रो चरणअन्तर्गत हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्येक्षतर्फको उम्मेदवारी मनोनयन सुरू भएकाे छ ।  निर्वाचन आयोगको घोषित कार्यतालिका अनुसार उम्मेदवारी दर्ता सुरू भएकाे हाे ।

दाेस्राे चरणकाे प्रदेश र प्रतिनिधिसभा चुनाव ४५ जिल्लामा हुँदैछ ।

उम्मेदवारहरू बिहानदेखि नै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवार मनोनयन दर्ता गराउन थालिसकेकाे  जानकारी निर्वाचन अायाेगले दिएकाे छ ।

प्रमुख राजनीतिक दलले उम्मेदवार छनोटमा ढिलाइ गरेका कारण कतिपय स्थानमा उम्मेदवारलाई मनोनयन गर्न आवश्यक कागजात मिलाउन हतारो भएको छ । निर्वाचन आयोगले उम्मेदवार मनोनयनलाई सभ्य र शान्त तुल्याउन भनेको छ ।

४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ निर्वाचन क्षेत्र छ भने प्रदेशसभातर्फ २ सय ५६ निर्वाचन क्षेत्र छन् । यसअघि कात्तिक ५ गते ३२ हिमाली जिल्लामा उम्मेदवारी मनोनयन दर्ता भइसकेको छ । यी जिल्लामा पहिलो चरणअन्तर्गत मंसिर १० गते चुनाव हुँदैछ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बिहीबार कार्यालय समयभित्र दलहरुले उम्मेदवारी दर्ता गराउन सक्ने जानकारी दिए । ‘निर्वाचन आयोगमा दर्ता भएका दलका उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवारहरुले कार्यालय समयभित्र उम्मेदवारी मनोनयन दर्ता गराउन सक्नेछन्’, प्रवक्ता  ढकालले अनलाइनखबरसँग भने ।

निर्वाचन आयोगले जिल्लामा स्थापना गरेकाे मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट दुवैतर्फका उम्मेदवारले  उम्मेदवारी दर्ता गराउन सक्ने प्रवन्ध मिलाएको छ ।

प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गराउन चाहनेले दलको सिफारिस पत्रसँगै एकजना प्रस्तावक र १ जना समर्थकको सहयोगमा उम्मेदवारी दर्ता गराउन सक्नेछन् । प्रस्तावक र समर्थक भने उम्मेदवारी दिने क्षेत्रकै हुनुपर्ने व्यवस्था निर्वाचन आयोगले गरेको छ ।

प्रदेशसभा सदस्यतर्फ उम्मेदवारी दिन चाहने व्यक्तिले पनि प्रतिनिधिसभाको उम्मेदवारले जस्तै दलको सिफारिसपत्र पेश गर्नुपर्ने छ । यसका साथै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी जम्मा गरेको रसिद र आफ्नो निर्वाचन क्षेत्रभित्रको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment