Comments Add Comment

पत्रिका रिभ्यूः रेल गुडाउन चिनियाँ टोली काठमाडौंमा

राष्ट्रिय सभा बैठक कक्षको रङ रातो, प्रतिनिधिसभाको हरियो !

२० कात्तिक, काठमाडौं । उच्चपदस्थ व्यक्तिको अकूत सम्पत्ति छानबिनमा सुस्ताएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनः सक्रियता बढाएको छ । आज राजधानीबाट प्रकाशित भएका सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक उपेन्द्रकान्त अर्याल, पूर्वमुख्य सचिव राजेन्द्रकिशोर क्षेत्री, नेपाल ट्रष्टका बहालवाला सचिव अर्जुन कार्की र पूर्वसचिव विश्वप्रकाश पण्डितसँग अख्तियारले वयान लिएको समाचार लेखेका छन् । यसका अलावा दुई चरणमा हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको विषयले पनि आज उत्तिकै स्थान पाएको छ ।

समानुपातिकबाट सम्भावित सांसदलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले अख्तियारले पूर्वऊर्जामन्त्री राधा ज्ञवालीलाई समेत बयानका लागि बोलाउने तयारी गरेको लेखेको छ । नेपाल विद्युत्त प्राधिकरणले खरिद गरेको ट्रान्सर्फमर खरिद विषयमा छानबिन गर्न अख्तियारले ज्ञवालीसँग वयान लिन लागेको हो । क्षेत्री ऊर्जा सचिव रहँदा मन्त्रीको हैसियतमा ज्ञवाली सञ्चालन समिति अध्यक्ष थिइन् ।

अन्नपूर्ण पोस्ट दैनिकले पनि अकुत निवर्तमान दुई सचिवसँगै प्रहरीका पूर्व आईजीपी उपेन्द्रकान्त अर्याल छानबिनमा तानिएको लेखेको छ । ‘पूर्वप्रहरी महानिरीक्षक अर्याल, बहालवाला सचिव गजेन्द्र ठाकुर र दुई डीएसपीले पाँच करोड बराबर गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरी पछि अख्तियारले अर्यालमाथि छानबिन अघि बढाएको हो’ अन्नपूर्णले समाचारमा लेखेको छ ।

रेल गुडाउन चिनियाँ टोली काठमाडौंमा

केरुङ-काठमाडौं र काठमाडौं-पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्ग बनाउन स्थलगत अध्ययन गर्न चिनियाँ उच्च अधिकारीको एउटा टोली सोमबार काठमाडौं आउने भएको छ ।

‘केरुङ-काठमाडौं रेलमार्ग अध्ययन गर्न उच्च चिनियाँ टोली राजधानीमा’ शीर्षक दिएर नागरिक दैनिकले समाचारमा लेखेको छ- रेलमार्गको स्थलगत अध्ययनका लागि चिनियाँ उपमन्त्रीसहितको उच्चस्तरीय २३ सदस्यीय टोलीले मुलुकका अन्य भागमा पनि रेल मार्ग निर्माणको अध्ययन गर्न छलफल गर्नेछ ।

समाचार अनुसार, मुलुकमा रेलमार्गको पूर्वाधार निर्माण गर्ने विषयमा स्थलगत अध्ययन गर्ने यो टोली चार दिनसम्म अध्ययन र दुईपक्षीय बैठक सम्पन्न गरी शनिबार र्फकने योजना छ ।

नागरिक दैनिकले रेल विभागका सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता प्रकाशभक्त उपाध्यायलाई उद्धृत गर्दै चीनको नेशनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा २३ सदस्यीय टोली सोमबार काठमाडौं आउन लागेको लेखेको छ ।

राष्ट्रिय सभाको रङ रातो, प्रतिनिधिसभाको हरियो

कान्तिपुर दैनिकका अनुसार संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक कक्ष हरियो र माथिल्लो सदन राष्ट्रिय सभाको रङ रातो हुने भएको छ । आम निर्वाचन नजिकिँदै गर्दा संसद् सचिवालयले संघीय संसदका दुवै सदनका नियमित र संयुक्त बैठकका लागि आवश्यक भौतिक पूर्वाधार तयारी थालेको छ ।

‘संविधानसभा र रुपान्तरित व्यवस्थापिका संसदको बैठकमा प्रयोग गरिएका सेता कुर्सीलाई हरियो बनाउने निर्णय भए पनि सबै कुर्सी फेर्ने कि मर्मत मात्रै गर्ने भन्ने टुंगो लागेको छैन,’ समाचारमा लेखिएको छ ।

दलहरुले चुनाव खर्च कहाँबाट जुटाउँछन् ?

निर्वाचन निकै खर्चिलो भइरहेको छ । तर राजनीतिक दलका हुन् वा स्वतन्त्र उम्मेदवार करोडौं खर्च गरेर भए पनि चुनाव लड्न हानथाप गर्छन् । उनीहरुको खर्चको स्रोत के होला ? कहाँबाट जुटाउँछन् राजनीतिक दलहरुले रकम ?

नागरिक दैनिकले दलहरुको चुनावी खर्चको स्रोत केलाउने प्रयास गरेको छ । नेपाली कांग्रेसले चुनाव खर्चको जोहो अझै शुरु नगरेको तर विगतमा निर्वाचन खर्चका लागि छुट्टै समिति गठन गर्दै स्वदेश र विदेशमा रहेकाहरुसँग चन्दा माग्ने गरेको थियो । यसपटक केन्द्रीय सदस्य एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वको आर्थिक समितिले निर्वाचन खर्च जोहो गर्ने आन्तरिक तयारी गरेको समाचारमा उल्लेख छ ।

यसैगरी नेकपा एमालेको निर्वाचन खर्चको प्रमुख स्रोत पनि विदेशमा रहेका नेपाली हुन् भनेर समाचारमा लेखिएको छ । एमाले नेता सुरेन्द्र पाण्डेलाई उद्धृत गर्दै नागरिक दैनिक लेख्छ, ‘देशभित्र कार्यकर्ता तथा समर्थकबाट एक सय रुपैयाँ र विदेशमा रहेका नेपालीबाट एक सय अमेरिकी डलरदेखि एकहजार अमेरिकी डलर उठाउने योजना छ ।

यता संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालले चुनाव लड्न पार्टीलाई आर्थिक संकट परेको गुनासो गरेका छन् । राजपाले प्रत्यक्ष तर्फ चुनाव लडेका नेतालाई क, ख र ग श्रेणीमा वर्गीकरण गरी केन्द्रबाट कात्तिक महिनाभित्रै आर्थिक सहयोग गर्ने तयारी गरेको समाचारमा उल्लेख छ ।

समाचारमा लेखिएको छ, ‘क श्रेणीमा परेका उम्मेदवार जित सुनिश्चित भएका, ख श्रेणीमा परेका उम्मेदवार प्रतिस्पर्धामा रहेका र ग श्रेणीमा परेका उम्मेदवार पार्टीको उपस्थिति देखाउन मात्र चुनाव लडेका उम्मेदवार हुनेछन् । २ नम्बर प्रदेशमा उम्मेदवारी दिएका सबै उम्मेदवार क श्रेणीमा छन् ।’

राजपाका कोषाध्यक्ष कवीन्द्र ठाकुरले भने राजपा सरकारमा नगएकाले आर्थिक संकट परेको बताएका छन् । संघीय फोरमका कोषाध्यक्ष एवम् आर्थिक विभाग प्रमुख विजय यादवले पनि पार्टीलाई आर्थिक संकट परेको बताएका छन् । उनका अनुसार संघीय फोरमले टिकट बाँड्ने बेलामै उम्मेदवारलाई केन्द्रबाट आर्थिक सहयोग गर्न नसकिने जनाएको थियो ।

 

पछि हटे बागी, उपाध्यायविरूद्ध यथावत

अन्नपूर्ण पोष्ट दैनिकले दलका आधिकारिक उम्मेदवारविरुद्ध परेका अधिकांश वागी उम्मेदवारी फिर्ता भएको समाचार लेखेको छ । टिकट वितरणमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवार बनेकाहरुले आइतबार उम्मेदवारी फिर्ता लिएका हुन् ।

कतिपयले भने उम्मेदवारी यथावत राखेका छन् । कपिलवस्तुमा कांग्रेस नेता दीपकुमार उपाध्यायविरुद्ध परेको र सल्यानमा वाम गठवन्धनविरुद्ध परेको उम्मेदवारी फिर्ता भएको छैन । पूर्वराजदूत समेत रहेका उपाध्यायविरुद्ध दुर्गा सेनले उम्मेदवारी दिएका छन् ।

कलिलैमा अवैध बाटो

आगामी मंसिर १० र २१ गते हुने निर्वाचनका उम्मेदवारहरुको चरित्र केलाएको कान्तिपुर दैनिकले अमेरिका सपनाले किशोरकिशोरीहरुले अवैध बाटो रोज्न थालेको समाचार लेखेको छ ।

कान्तिपुर दैनिकका अनुसार, हवाई, जल र स्थल मार्ग भएर अवैध रुपमा अमेरिका पुग्नेमा किशोरकिशोरीसमेत रहेको खुलासा भएको छ । अमेरिकी दूतावासले नै आफ्ना माइनर केन्द्र (बालबालिका राखिने स्थान) हरुमा किशोरकिशोरी रहेकेा जानकारी नेपाली दूतावासलाई दिएको छ ।

आठ नौ कक्षा पढेका विद्यार्थीसमेत यसरी अमेरिका पुग्न थालेपछि अमेरिकी सरकारले चासो देखाउँदै कूटनीतिक जानकारी दिएको हो ।

कान्तिपुरमै नेपाली सेनाको भावी प्रधानसेनापति पूर्णचन्द्र थापा हुने निश्चित भएको समाचार छ । जंगीअड्डाको दोस्रो वरीयतामा रहेका बलाधिकृत रथी बलदेवराज महतको अवकाशसँगै बलाध्यक्ष रथी थापा नेतृत्व ट्याकका एकल धावक बनेका हुन् ।

र यो पनि

आँखाको क्यान्सरसम्वन्धी सम्पूर्ण उपचार अब नेपालको एउटै अस्पतालभित्र हुने भएको छ । तिलगंगा आँखा अस्पतालबाट यो उपचार सेवा पाइने नागरिक दैनिकमा समाचार छ । यसका लागि अस्पतालले पहिलो चरणमा गत साउनदेखि नै आई अन्कोलोजी (आँखा क्यान्सर विभाग) खोलेको छ भने अस्पतालमै किमोथेरापी लगायत अन्य उपचार सेवा समेत शुरु भइसकेको छ ।

पहिला किमोथेरापी दिन कान्तिबाल वा भक्तपुर क्यान्सर अस्पताल पठाउँथ्यौं अब यहीँबाट हुन्छ, अस्पतालकी आई अन्कोलोजिस्त तथा अकुलोप्लास्टिक सर्जन डा.पूर्णिमा स्थापितले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment