Comments Add Comment

सिभिलले राइट ब्याक गरेर नाफा बढायो, गैर सञ्चालन आम्दानीले लक्ष्मी नाफामा


२० कात्तिक, काठमाडौं । चालु आव २०७४/७५ को पहिलो त्रैमाशमा सिभिल बैंकको नाफा लगभग ७ गुणाले बढेको छ ।  बैंकको नाफा ११ करोड पुगेको छ । गत आवको बैंकले पहिलो त्रैमाशमा १ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको सञ्चालन नाफा ऋणत्मक नै रहेको छ । यो १३ करोडले ऋणत्मक रहेको छ । बैंकको खुद व्याज आम्दानी भने २४ प्रतिशतले बढेको छ । यो रकम २८ करोड रुपैयाँ रहेको छ । त्यस्तै, फि कमिसन, अन्य आम्दानी शीर्षकबाट ८ करोड रुपैयाँ आर्जन गरेको छ । यो रकम १० प्रतिशतले बढेको छ ।

बैंकले सम्भावित नोक्सान वापतको व्यवस्थामा ३३ करोड रुपैयाँ राखेको छ भने ३१ करोड फिर्ता ल्याएको छ । बैंकको खराब कर्जाको अनुपात ४.६९ प्रतिशत रहको छ । करिब ९३ प्रतिशत प्रोभिजनिङ गरेको उल्लेख छ ।

बैंकको ९.२७ प्रतिशतले निक्षेप बढेर ३४ अर्ब रहेको छ । कर्जा १७.५२ प्रतिशतले वृद्धि भएर ३० अर्ब पुगेको छ । बैंकको निक्षेपको तुलनामा कर्जाको अनुपात ९० प्रतिशत देखिन्छ । तर प्राथमिक पूँजी सहितको निक्षेपको आधारमा भने कर्जाको अनुपात ७६.४८ प्रतिशत रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ ।

बैंकको कुल कर्जा लगानीमा ५५ प्रतिशत लगानी रियल इस्टेट, सेयर कर्जा र ओभरड्राफ्ट कर्जा रहेको छ । यी क्षेत्रमा १७ अर्ब रुपैयाँ लगानी भएको छ ।

बैंकको सेयरमा प्रतिफल करिब १ प्रतिशतबाट बढेर ५ प्रतिशत भएको छ । बैंकको चुक्ता पूँजी करिब २ अर्बले बढेपछि सेयरमा प्रतिफल घटेको हो । बैंकको चुक्ता पूँजी ५ अर्ब १८ करोड पुगेको छ भने सञ्चिती १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ८.४९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २७.३३ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ३३ रुपैयाँ रहेको छ ।

लक्ष्मी बैंक

चालु आव २०७४/७५ को पहिलो त्रैमाशमा लक्ष्मी बैंकको नाफा करिब ९ प्रतिशतले बढेको छ । बैंकको नाफा १७ करोड रुपैयाँ पुगेको छ । गत आवको बैंकले पहिलो त्रैमाशमा १५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको सञ्चालन नाफा पनि २ प्रतिशतले घटेर १८ करोड रुपैयाँमा सिमित भएको छ । बैंकको खुद व्याज आम्दानी २७ प्रतिशतले बढेको छ । यो रकम ४८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, फि कमिसन, अन्य आम्दानी शीर्षकबाट १७ करोड रुपैयाँ आर्जन गरेको छ । यो रकममा १२ प्रतिशतले वृद्धि भएको हो । बैंकले ९ करोड ६५ लाख रुपैयाँ गैर सञ्चालन आम्दानी गरेको छ । यसले पनि नाफा वृद्धिमा सहयोग पुगेको हो ।

बैंकको निक्षेप १३ प्रतिशतले बढेर ५८ अर्ब पुगेको छ । कर्जा २४ प्रतिशतले वृद्धि भएर ५४ अर्ब पुगेको छ । बैंकको निक्षेपको तुलनामा कर्जाको अनुपात ९३.६९ प्रतिशत देखिन्छ । तर प्राथमिक पूँजी सहितको निक्षेपको आधारमा भने कर्जाको अनुपात ७८.८६ प्रतिशत रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ ।

बैंकको कुल कर्जा लगानीमा ४२ प्रतिशत लगानी रियल इस्टेट, सेयर कर्जा र ओभरड्राफ्ट कर्जा रहेको छ । यी क्षेत्रमा २३ अर्ब रुपैयाँ लगानी भएको छ ।

बैंकले सम्भावित नोक्सान वापतको व्यवस्थामा २३ करोड रुपैयाँ राखेको छ । बैंकको खराब कर्जाको अनुपात १.७८ प्रतिशत रहको छ । करिब ११० प्रतिशत प्रोभिजनिङ गरेको उल्लेख छ ।

बैंकको सेयरमा प्रतिफल करिब १०.२९ प्रतिशतबाट घटेर ६.८४ प्रतिशत भएको छ । बैंकको चुक्ता पूँजी करिब साढे ५ अर्बले बढेपछि सेयरमा प्रतिफल घटेको हो । बैंकको चुक्ता पूँजी ८ अर्ब २१ करोड पुगेको छ भने सञ्चिती २ अर्ब १३ करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ८.२४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४०.१७ गुणा र प्रतिसेयर नेटवर्थ १ सय २६ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment