+
+
Shares

कच्ची बाटोमा धूलो उडाउँदै हृदयेश त्रिपाठीले भने- पदमा भए पो विकास गर्नु !

'एमालेमा गएको हैन, मलाई मधेसवाद सिकाउनुपर्दैन'

सलमान खान सलमान खान
२०७४ कात्तिक २३ गते १९:०९

 

२३ कात्तिक, नवलपरासी । एमालेको चुनाव चिन्ह ‘सूर्य’अंकित झण्डा फरफराउँदै एक हुल गाडी धुलो उडाएर भुजहावा चोकमा आए । चोकमा गाडीहरु रोकिए । त्यसमध्ये एउटाबाट ओर्लिए हृदयेश त्रिपाठी ।

उनी आफ्नो सदाबहार स्टाइलमा थिए, कुर्ता पाइजामा, असकोट र बायाँ काँधमा गम्छा ।

गाडीबाट झरेपछि उनी चुनावी प्रचार प्रसारका लागि खोलिएको सम्पर्क कार्यालयतर्फ लागे । कार्यालयको अगाडि झुण्ड्याइएको ब्यानरमा स्वतन्त्र राजनीतिक समूह लेखिएको थियो भने तल सूर्य चिन्ह पनि ।

कार्यालयमा केही समय बिताएपछि त्रिपाठी फेरि गाडीमा बसे । दुई वटा गाडी र केही मोटरसाइकलसहित उनी एकातिर हुइँकिए भने र २/३ वटा गाडी अर्कोतिर लाग्यो । गाडीले उडाइरहेको धुलो खाँदै हामीले उनलाई पछ्यायौं ।

सरावल गाउँपालिका ६ नौडिहावा गाउँमा पुगेपछि त्रिपाठी चढेको गाडी रोकियो । त्रिपाठी फिस्स हाँस्दै दुई हात जोडेर नमस्कार गर्दै गाडीबाट ओर्लिए ।

उनको सत्कारका लागि घरको आँगनलाई चिटिक्क सफा पारिएर सफा तन्नासहितको खाट राखिएको थियो । छेउमा थियो पाँच-सात वटा कुर्सी ।

घरको मुखियाले खाटमा बस्नका लागि आग्रह गरे । खाटमा बसे लगत्तै उनीको नजर छेउमा उभिएको एक व्यक्तिउपर पर्‍यो, जो प्रहरी थिए ।

उनले सोधिहाले- तिमी घुमुवामा छौ होइन र ?

प्रहरीको जवाफः होइन कहाँ हुनु ? छैन । हजुरले कुरा नै गरदिनुभएन ।

त्रिपाठीः मैले एसपीसँग कुरा गरदिएको थिएँ त ।

प्रहरीले थपे- होइन, केही भएको छैन ।

त्रिपाठी- होइन मैले करम हुसेन (आफ्ना जिल्ला सहयोगी) लाई डीएसपीसँग पनि कुरा गर्न भनेको थिए त । ल ल हुन्छ, म फेरि कुरा गरौंला ।

त्रिपाठी र प्रहरीबीच यति कुरा भइसक्दा स्थानीयबासीको ठूलै समूह जम्मा भइसकेको थियो ।

केही व्यक्तिले बिस्कुट, पानीका साथै कार्यकर्ता बस्नका लागि थप कुर्सी लिएर आए । समान्य गफगाफमा हाँसो ठ्ट्टा गर्दै बिस्कुट र पानी खाएपछि एक कार्यकर्ताले भने, ‘माननीयज्यू, यता महिलाहरुका कुरा सुन्दिस् ।

नेता त्रिपाठी खाटबाट उठे र हाँसेर नमस्ते गर्दै महिलाहरुको नजिक गए । उनी कुर्सीमा बस्न नपाउँदै महिलाहरुले बोल्दै समस्याहरुको चाङ लगाइदिए । उनीहरु भन्दै थिए, ‘सडक बनेको छैन, कहिले बन्छ पनि थाहा छैन । बाढी आउँदा पुरै डुबान हुन्छ, गाउँको पुल बन्नेको ठेगान छैन…’

त्रिपाठीले धैर्यतापूर्वक समस्या सुने र भने, ‘हेर्नुस्, पदमा रहँदा दबाब बन्छ, पदमा नरहँदा उस्तै हो । जसले जित्छ, उसले गर्छ । हारेकाले के गर्छ ?

उनले थपे, ‘पुलको काममा ठेकेदारले लापरवाही त गरेकै हो ।’

उनी बोल्दाबोल्दै एक महिलाले प्रश्न तेस्र्याइन्, बाढीले २ वर्षदेखि धान नै भएको छैन के गर्ने हो ?

त्रिपाठीले जवाफ दिए, ‘चिन्ता नगर्नुस्, सबै काम हुन्छ ।

फेरि अर्की महिलाले भनिन्, ‘बाबा ! एउटा कुरा थियो । अस्ति एउटा विवाद भयो जग्गाको विषयमा । हामीविरुद्ध प्रहरी चौकीमा निवेदन परेको छ…’

उनले घटनाको वेलीविस्तार लगाइन् ।

उनको कुरा सुनेपछि त्रिपाठीले आफ्नो कार्यकर्तालाई भने, ‘ल हेरदिनु है ।’

उताबाट जवाफ आयो, ‘हुन्छ ।’

कुर्सीबाट उठेर नमस्कार गर्दै त्रिपाठीले भने, ‘म अब लाग्छु अहिलेलाई आर्शिवाद दिनुस् ।

उनी गाडीतिर लम्किए । नेता त्रिपाठीले आफू कुन पदमा कुन चुनाव चिन्ह लिएर उठेको केही भनेनन् । अर्थात उनले प्रष्ट रुपमा भोट मागेनन् ।

त्रिपाठी हिँडेपछि हामीले प्रश्नकर्तामध्येकी एक सरवाल-६ नौडिहवाकी रीता चौधरीलाई सोध्यौं, नेताजीले भोट त माग्नुभएन, चुनाव चिन्ह थाहा छ ?

हाँस्दै उनले भनिन्, ‘खै मलाई त थाहा भएन । मत माग्न त फेरि आउलान् नि !’

चौधरीको बोली भुइँमा र्झन नपाउँदै छेउमै उभिएका स्थानीय वीरेन्द्र पटेलले फ्याट्टै भने, ‘एमाले हो । एमालेसँग उनको गठबन्धन भएको छ ।’

त्यतिञ्जेल त्रिपाठी केही पर पुगिसकेका थिए । उनी त्यही वडाको अर्को गाउँ खडौनामा पुगे । गाडीमा ओर्लिँदै उनले मुस्लिम सामुदायका एक व्यक्तिसँग हात मिलाए, जहाँ गाउँका केही व्यक्तिलाई पनि बोलाइएको रहेछ ।

नेता कार्यकर्ताका लागि कुर्सी थियो तर, पर्याप्त भएन । स्थानीयलाई बस्न भने त्रिपाल बिछ्याइयो । महिला, बच्चा त्रिपालमा बसे । केही लौरो लिएर आएका वृद्ध वृद्धाहरु पनि मिलेर बसे । युवतीहरु आडैबाट लुकेर हरिरहेका थिए ।

एकजनाले त्रिपाठीलाई भने, ‘भोट मागिहाल्नुस् ।

त्रिपालमा बसेकाहरु बीच खासखुस चल्यो । त्रिपाठीको पछाडि उभिएका गाउँका एकजना स्थानीयले भने, ‘के समस्या छ भनिहाल्नुस् ।’

स्थानीयले डुबान, पुल लगायत समस्याबारे एकसाथ यसरी बोले कि बुझ्नै गाह्रो भयो । अलि शान्त हुन थालेपछि महिलाको हुलबाट एकजनाले अलि चिच्याएर भनिन्, ‘हामी बेखर्ची भयौं, खर्ची (पैसा) चाहियो ।’

महिलाको मुखबाट यो वाक्य निस्किएलगत्तै त्रिपाठी पछाडि उभिएका स्थानीयले भने, ‘यो त राम्रो भन्नुभएन ।’

यो विषय हाँसो मजाकमै उड्यो ।

गाउँको विषयवस्तु समस्याबारे पहिल्यै बुझेका त्रिपाठीले भने, ‘खजुरा नदीलाई जबसम्म नियन्त्रण गरिन्न, तबसम्म केही हुँदैन । त्यसैले सबैभन्दा पहिला मेरो ध्यान बाढी नियन्त्रणमा छ । यसको लागि ठूलो योजना बनाउनुपर्छ । धेरै पैसा लाग्छ । पुलको काम बाँकी छ । त्यो पनि हुन्छ ।’

त्यति नै बेला एक बृद्ध लोरो टेक्दै आए, जसलाई त्रिपाठीले नजिकैको खाटमा बसाए । त्रिपाठी फेरि केही बोल्न खोज्दै थिए, एकजनाले आफ्नो आक्रोश पोखे, ‘चुनावका बेला मात्र नेता आउने ! अरु बेला नआउने । केही गर्दैन कोही नेताले । बाढी आउँदा कहाँ थिए नेताहरु ?’

एकछिन होहल्ला भयो । माहौल केही शान्त भएपछि त्रिपाठीले भने, ‘गर्न त सबै मेलै गरेको छु नि ! मेरै गाउँको पुल बनाउने ठेकेदार भागिसक्यो । पदमा रहँदा जुन दबाब बनाउन सकिन्छ, त्यो पदमा नरहँदा हुँदैन ।’

त्रिपाठीले थपे ‘अहिले निर्वाचन क्षेत्र पनि ठूलो छ । हामीले स्वतन्त्र समूह बनाएका छौँ र एमालेससँग तालमेल गरेर आएका छौं । सूर्य चिन्ह हो हाम्रो । यही सहयोग माग्न आएको हुँ । सँधै सहयोग पाइरहेको कारण आभारी छु, यसपटक पनि सहयोग पाउने विश्वास छ ।’

महिलाको समूहबाट एक वृद्धाले भनिन्, ‘अब सहयोग सबैले गर्छन् तर, झुक्ने होइन ।’

त्रिपाठी नमस्ते गर्दै गाडीतिर लम्किए ।

तर, महिलाको एक हुलले उनलाई घेरा हाल्यो । उनीहरुले भने, ‘सबैलाई जिताएर हेरियो, कसैले केही गरेनन् । सडक कहिले बन्ने हो । बाढीमा यति यति (घरको भित्ता देखाउँदै) डुबान हुन्छ ।’

कार्यकर्ताले भने, ‘जिताउनुस्, सबै समाधान हुन्छ ।’

त्रिपाठी पनि ‘सबै समस्या हल हुन्छ’ भन्दै दुई हात जोडर गाडीतिर लम्किएर हिँडे ।

महिलाहरु भने आपसमा कुरा गर्दै थिए, चुनावका बेला नेताहरु हात खुट्टा जोड्दै आउँछन्, चुनाव जितेपछि हामी हातखुट्टा जोड्दै जानुपर्छ ।’

त्यसपछि त्रिपाठी सोही वडाको मधवलिया गाउँको मदरसा नुरुल उलुममा पुगे । मौलानाले उनलाई कुर्सीमा बसाए । नेता त्रिपाठीले थोरै समय मात्र लिन्छु भन्दै भने, ‘हजुरको दुवा (आर्शिवाद) आवश्यक छ ।’


त्यसपछि त्रिपाठी मधवलिया पुगे । गाउँको सडक साँघुरो थियो, जसोतसो उनको गाडी छिर्‍यो । र, गाडीबाट ओर्लिएर एक घरमा पुगे, जहाँ घरमुलीले उनका लागि कम्बल बिछ्याएर खाटमा बसाए ।

लगत्तै एकजनाले भने, ‘मान्छेहरुले भन्छन् कि तपाई भुजाहावा मात्र बस्नुहुन्छ । यता कहिल्यै आउनुहुन्न । अर्को (कांग्रेस प्रतिनिधिसभा उम्मेदवार) धोती लगाएरै चौकी पुग्छ । तपाई भने आउँदै आउनुहुन्न ।’

उनले थप गुनासो पोखे, ‘कहिँ कतै गए मलाई हृदयेशको मान्छे हो भन्छन् । तर, कुनै समस्या आयो भने तपाईलाई सम्पर्क गर्न माध्यम पनि छैन ।’

उनी बोल्दै गर्दा एक वृद्ध आए ।

त्रिपाठीले हालखबर सोधे । नजिकै रहेका कार्यकर्ताले भने, ‘केही समस्या छ भने पेश गर्नुस् ।’

जवाफमा वृद्धले भने, ‘समस्या पेश गरेर के गर्ने ? केही हुँदैन ।’

अर्का स्थानीयले कुरा गर्नुस् भन्दा पनि नमानेपछि त्रिपाठी आफैंले सोधे, ‘के भयो भन्नुस् ?

उनले केही भनेनन्, ‘केही छैन’ मात्र भने ।

त्रिपाठी बृद्धसँग सम्वाद गर्न खोज्दा बाहिर एक कार्यकर्ता महिलाहरुसँग कुरा गरिरहेका थिए । एक स्थानीयले भने, ‘जो कोही जिते पनि हामीलाई विकास चाहिन्छ । सन्तु (कांग्रेस उम्मेदवार)ले जति विकास कसले गरेको छ ?’

त्रिपाठीका सहयोगीले थपे, ‘बाबा (त्रिपाठी) को पालामा १० लाख थियो । अहिले विकास बजेट ३ करोड पुग्छ ।’

अब स्थानीयले प्रश्न वर्षाए, ‘वर्षामा यति समस्या हुन्छ कि वयान गरेर साध्यै छैन । सडक राम्रो छैन । पुल बनेकै छैन…।’

फेरि त्रिपाठीले त्यही रेडिमेड जवाफ दिए- पदमा रहँदा जुन दबाव बन्छ, त्यो पदमा नरहँदा बन्दैन । म मन्त्री हुँदा ७ वटा पुल बनाएँ । दाउन्नेमा २ वटा, दरखसवामा एउटा … । सत्तामा थिएँ त फटाफट निर्णय गराउँथे । ठेकेदारहरुले केही बदमासी गरे । नेपालमा विकास मागेर पाइँदैन , खोस्नुपर्छ । पदमा भएपछि न गर्ने हो ! नभए त्यही आग्रह न गर्ने हो ।’

स्थानीयले भने, ‘यही धनगढवा, ललितपुरमा सडक कालोपत्रे हुन लागिसक्यो… रामपुर खडौना विकास हुनुपर्छ भन्ने हाम्रो ठूलो चाहना हो । हामीलाई सडकको निकै खाँचो छ । आवात-जावतमा निकै समस्या छ ।’

त्रिपाठीका सहयोगी बोले, ‘जिताउनुस्, भइहाल्छ ।’

त्रिपाठीले थपे, ‘एकाध महिनामा तीनवटा नहरको टेण्डर हुँदैछ । सडक पनि बन्छ ।’

बाहिरबाट अवाज आयो, ‘यता पनि कुरा सुन्दिनुस् ।’

त्रिपाठी खाटमा उठेर त्यहाँ पुग्न नपाउँदै एक महिलाले भनिन्, एकल महिलाको पेन्सन बढाउनुपर्‍यो ।’

जवाफमा त्रिपाठीले ‘आर्शिवाद दिनुस्, सबै हुन्छ’ भन्दै विदा माग्न मात्र के खोजेको थिए, एक व्यक्ति भने, ‘मदरसाको ढलाई भएको छैन ।’ अर्काले भने, ‘यहाँमान्छेहरुले भन्छन्, तपाई एमालेमा गएमा कसैले भोट नदिने रे ।’

यो प्रश्नले त्रिपाठीलाई झस्काएछ क्यारे ! विदा लिएर हिँड्न लागेका उनी पुनः खाटमा बसे र, राजनीतिक उतार-चढावबारे बेलीविस्तार लगाउन थाले ।

उनले भने, ‘स्थानीय चुनावमा राजपा पार्टी दर्ता भएन । नेताहरुले ५ नम्बर प्रदेशको चुनाव खारेज नभएसम्म २ नम्बर प्रदेशमा पनि चुनाव हुन दिँदैनौं भने । पछि पार्टी पनि दर्ता भयो र २ नम्बरको चुनावमा भाग लिए । पश्चिमका नेताहरुलाई धोका भयो । हामी यहाँ चुनाव लडेको भए सबै कब्जा हुन्थ्यो । विना कुनै उपलब्धी राजपामा स्थानीय चुनावमा सहभागी भयो । नयाँ पार्टी दर्ता गर्दा पनि चुनाव चिन्ह पाउन समस्या भएकाले ‘स्वतन्त्र समूह’ गठन गरेर एमालेको चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी भएका हौं ।’

त्रिपाठीले थप स्पष्टीकरण दिए- ‘कि त कचौरा, गिलास चुनाव चिन्ह लिएर लड्नुपर्थ्यो । तर, एमालेमा गएको भन्ने कुरा सत्य होइन । हाम्रो गठबन्धन मात्र हो । दक्षिणतिर हामीहरुले लिएका छौं, उत्तरतिर उनीहरुले । जुन मुद्दा हाम्रो स्थापित गरेका हौं, त्यो अहिले पनि छ ।’

त्रिपाठी त्यहाँबाट विदा भएर पुसौली हिँडे । बाटोमा पर्ने चिया पसलमा राजपामा हुँदा उनी निकट रहेका एक नेता चिया गफमा व्यस्थ रहेछन् । विगतमा उक्त क्षेत्रमा त्रिपाठीको पुरै मोर्चा सम्हाल्ने उनी यो पटक साथमा थिएनन् । उनले त्रिपाठीलाई भेट्न पनि चाहेनन् ।

कच्ची बाटोमा धुलो उडाउँदै त्रिपाठी पुसौली गाउँको एक घरमा पसे । घरको आँगन सफा पारिएको थियो । खाटमा तन्ना ओच्छ्याइएको थियो । तर, मानिसहरु थिएनन् । त्रिपाठी आउन ढिला भएकाले जम्मा भएका स्थानीयहरु गइसकेका रहेछन्, घरको मुखियाले त्रिपाठीलाई त्यही सुनाए ।

तर, त्रिपाठी आएको थाहा पाएपछि फेरि केही मानिस जम्मा भए । तर, धेरैचाहिँ कार्यकर्ताहरु नै थिए ।

एक महिला त्रिपाठीतिर आउँदै थिइन्, एकजनाले भने, ‘लौ गाउँकी नेतृ आउनुभयो ।’ मानिसहरु गलल हाँसे । ती महिलाले दह्रोसँग त्रिपाठीसँग हात मिलाइन् र छेउमा बसिन् । केहीबेर बसेपछि त्रिपाठी त्यहाँबाट विदा भए ।


केही घण्टाको चुनावी भेटघाट पछ्याएको अनलाइनखबरको टोलीसँग कुरा गर्दै स्वतन्त्र राजनीतिक समूहका संयोजक त्रिपाठीले यो निर्वाचन सामान्य नभएको बताए ।

संविधान कार्यान्वयन, संशोधन र विकास निर्माण आफ्नो मुख्य एजेण्डा रहेको बताउँदै उनले जनताको सम्मान र स्वाभिमान झुक्न नदिने बताए ।

नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार त्रिपाठीले आफ्नो जित सुनिश्चित भएको दाबी गरे । कांग्रेस सरकार हुँदा मधेसी समुदायमाथि बढी अत्याचार भएको बताउँदै उनले एमालेको चुनाव चिन्ह लिएर चुनावमा होमिए पनि जनतामा उत्साह र विश्वास केही नघटेको बताए ।

आफूलाई ‘वंशज मधेसवादी’ बताउँदै त्रिपाठीले भने, ‘मलाई कसैले मधेसवाद सिकाउन पर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?