+
+

ठगी गर्ने मालिक, घानमा कामदार !

सुवास भट्ट सुवास भट्ट
२०७४ कात्तिक २३ गते १५:२५


२३ कात्तिक, काठमाडौं । गत १२ भदौमा अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रसाशन कार्यालयको टोलीले काठमाडौंको सतुंगलमा दुगड फ्रुट एण्ड वेभरेज प्रालिमा छापा मार्‍यो । अनुगमनका क्रममा झन्डै चार सय ड्रम मिति गुज्रेको टाटापुरी (म्याङ्गो पल्प) फेला पर्‍यो ।

म्याद नाघेका वस्तु प्रयोग गरी फ्रुटी बनाइएको भेटिएपछि उक्त गोदाममा शिल गरियो ।

त्यसको एक सातापछि १९ र २१ भदौमा आपूर्ति मन्त्रालयले दरबारमार्ग र न्यूरोडका ब्रान्डेड पसलमा छापा मार्‍यो । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको प्रारम्भिक अनुसन्धानले १३ पसलले अत्याधिक मूल्य कायम गरेर उपभोक्ता ठगेको निश्कर्ष निकाल्यो ।

विभागको सिफारिसमा महानगरीय प्रहरी परिसर, टेकुले कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन-२०३२ अन्तर्गत मुद्दा चलायो ।

तर, उपभोक्तासँग सरोकार राख्ने दुवै घटनामा लामो समयसम्म दोषी पक्राउ नगर्नुले उन्मुक्तिको आशंकालाई बल पुर्‍याएको छ ।

कर्मचारी थुनामा

जिल्ला अदालत, काठमाडौंले न्यून गुणस्तरको खाद्य वस्तु उत्पादन गरेको ठहर गर्दै दुगड फ्रुट एण्ड वेभरेज प्रालिमा कार्यरत चार कर्मचारीलाई थुनामा राख्ने आदेश दियो । साथै कम्पनीका चार जना सेयर होल्डरविरुद्ध अदालतमा हाजिर हुनसमेत म्याद जारी गरियो ।

अदालतले कम्पनीका कर्मचारीहरू प्रमोद मेहता, गाबि्रएल रियाप्टन (भारतीय नागरिक), मदनबाबु पाण्डे र शिबराज पोखरेलविरुद्ध पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । कम्पनीका शेयर होल्डर (मालिक) मालचन्ऽ दुगड, सुरेन्ऽा दुगड, सरदा दुगड र विवेक दुगडविरुद्ध ३० दिनभित्र अदालतमा हाजिर हुन म्याद जारी भएको छ ।

महानगरीय प्रहरी परिसर, टेकुका अनुसार कम्पनीका शेयरहोल्डर चारै जना अहिलेसम्म फरार छन् ।

ठग्ने मालिक, ‘घानमा’ कामदार

त्यस्तै दरवारमार्गको विषयमा उपभोक्ता ठग्ने खास सञ्चालक अझै पनि पक्राउ पर्न सकेका छैनन् । परिसरले दशैंलगत्तै पसल सञ्चालकलाई हाजिर हुन पत्र काटे पनि हालसम्म पनि अधिकांश सञ्चालक ‘फरार’ छन् । परिसरका प्रवक्ता रामदत्त जोशीका अनुसार आरोपितमध्ये अहिलेसम्म दुई वटा पसलका सञ्चालक मात्र सम्पर्कमा आएका छन् ।

लेवल्स् प्रालि र स्टाइल इन्टरप्राइजेजका सञ्चालक मात्र पक्राउ परेका परिसर बताउँछ । लेवल्सका सुनिल महर्जन र स्टाइलका जयन्द्रदास श्रेष्ठबाहेक सबै अरु अझै ‘फरार’ छन् ।

पसल सञ्चालकलाई पक्राउ गर्न नसकेपछि प्रहरीले दरवार र न्यूरोडका पसलका कामदारलाई पक्राउ गरेको छ । परिसरका अनुसार वाच एन्ड सीका राजेश्वर श्रेष्ठ, तिरुपती प्रालिका म्यानेजर नन्दन बिहानी, लेबल्स स्टोर्सका सुवास महर्जन र जितेन्द्र महर्जन, एडभेन्चर आउटडोर गियरका रोसन ओडारीलाई पक्राउ गरिएको छ ।

यस्तै लाइफ स्टाइल इन्टरप्राइजेज प्रालिका श्रीकृष्ण महर्जन, एभेन्यु मार्केटिङ प्रालिका म्यानेजर उत्तम कुमार बस्नेत, प्लेटिनम ट्रेड कन्र्सनका प्रवीण झा र बेन्टले द लेदर प्रालिका तुल्सीधर भण्डारीलाई पक्राउ गरेको छ । पक्राउ परेका सबै कामदार मात्र हुन् ।

परिसरका प्रवक्ता जोशीका अनुसार पत्र पठाएको जानकारी पाउनेवित्तिकै ‘फरार’ भएका उनीहरू अझै पनि सम्पर्कमा आएका छैनन् । उनीहरूको खोजी भइरहेको उनले बताएका छन् ।

पक्राउ गरिएका व्यक्तिहरू पनि कुनै न कुनै रुपमा ठगीमा संलग्न भएकाले उनीहरूलाई पक्राउ गरिएको परिसरका एक अधिकारीले बताए । ‘सञ्चालकहरू नेपालमा छैनन्,’ ती अधिकारीले भने ।

विभागका महानिर्देशक कुमार दाहालले दोषीमाथि कारवाही गर्न प्रहरीलाई सिफारिस गरिसकिएकाले यो विषय आफ्नो कार्यक्षेत्रभित्र नरहेको बताए । उनले भने, ‘कालोबजारी ऐनअनुसार मुद्दा पनि दर्ता भइसकेकाले प्रक्रिया अघि बढेको छ ।’

उपभोक्ता अधिकारकर्मी भने उपभोक्ता ठग्नेलाई पक्राउ गर्न भएको ढिलाईले प्रहरी प्रशासनमाथि नै आशंका उब्जिएको बताउँछन् ।

‘शिल गरिएका पसलहरू नियमित सञ्चालन भइरहेका छन्,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘प्रहरीले आफ्ना संयन्त्र प्रयोग गरेर तत्काल दोषीलाई पक्रिनुपर्छ ।’

लामो समयसम्म पनि दोषी आरोपित व्यक्ति पक्राउ नपर्नुले मुद्दा कमजोर पार्न खोजिएको हो कि भन्ने आशंका उब्जिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?