३ मंसिर, विराटनगर । एमाले नेता तथा मोरङ–६ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार लालबाबु पण्डितले आफ्ना प्रतिद्वन्द्वी डा. शेखर कोइरालालाई निवासमै गएर विजयको लड्डु खुवाउने रहर पलाएको बताएका छन् ।
‘देश–विदेश सबैतिर म परिचित छु तर डा. कोइरालाले मलाई चिन्नु भएको रहेनछ,’ पण्डितले भने, ‘विजयी भएपछि साइकल चढेरै कोइराला निवास पुग्छु र उहाँलाई सबैभन्दा पहिले लड्डु खुवाउँछु अनि आफ्नो परिचय पनि दिन्छु ।’
यसअघि डा. कोइरालाले आफूले पण्डितलाई अहिलेसम्म नचिनेको प्रतिक्रिया दिएका थिए । डा. कोइराला हजाई जहाज चढ्ने र आफू साइकलमा हुइँकिने नेता भएको पण्डितले बताए । ‘त्यही भएर उहाँले नचिन्नु भएको हुन सक्छ,’ उनले भने ।
चुनावका लागि पाँच लाख सहयोग
अस्ट्रेलियाको सिडनीमा बस्ने तेह्रथुम सोल्माकी राधिका पोखरेलले पण्डितलाई चुनावी अभियान सञ्चालन गर्न पाँच लाख ११ हजार एक सय रुपैयाँ सहयोग दिएकी छन् ।
पण्डितले चुनाव जितेको हेर्ने इच्छा भएकाले उक्त रकम पठाएको पोखरेलले बताइन् । उनका दाजुद्वय नारायणप्रसाद र चन्द्रले उक्त रकमबराबरको चेक पण्डितलाई हस्तान्तरण गरे ।
उक्त रकम पण्डितले चुनाव परिचालन कमिटीलाई हस्तान्तरण गरे ।
प्रतिक्रिया 4