Comments Add Comment

तेस्रो महिना बल्ल देश नाफामा, मूल्यवृद्धि दर सुस्तियो


३ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनासम्म घाटामा रहेको देशको खाता तेस्रो महिना नाफामा देखिएको छ ।
देश बाहिरीने रकमभन्दा भित्रने रकम धेरैभएपछि देश नाफामा देखिएको हो । असोजमा ४ अर्ब २७ करोडले देश नाफामा (शोधानान्तर बचतमा) गएको हो ।

अघिल्लो आर्थिक वर्षमासमेत पहिलो दुई महिनामा घाटामा देखिएको शोधानान्तर बचत तेस्रो महिना नाफामा आएको थियो । यद्यपी चालु आवमा भएको शोधानान्तर बचतको दरमा भने कमि आएको छ । गत वर्ष १९ अर्ब ७० करोडले यस्तो बचत रहेको थियो ।

यस वर्ष तीन महिनामै निर्यातको तुलनामा आयात धेरै भएपछि कुल बस्तु व्यापार घाटा भने २ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । यसमा १७.७ प्रतिशतले वृद्धि भएको छ । तीन महिनामा नेपालबाट २० अर्ब रुपैयाँका सामान तथा सेवा बाहिरिएको छ भने २ खर्ब ५७ अर्बका सामान तथा बस्तु आयात भएको छ ।
करिब ६० प्रतिशतभन्दा धेरै आयात गरिने देश भारतसंगको व्यापार घाटा सबैभन्दा धेरै रहेको छ । भारतसँग १ खर्ब ५७ अर्बले व्यापार घाटा रहेको छ । अन्य देशसँग करिब ८० अर्बले व्यापार घाटा छ ।

भदौको तुलनामा असोजमा रेमिट्यान्स भित्रने दरमा केही सुधार भएको छ । भदौंमा ०.७ प्रतिशतले रेमिट्यान्स भित्रने दरमा सुधार भएपनि असोजमा २.६ प्रतिशतले वृद्धि भएको हो । असोजसम्ममा १ खर्ब ७६ अर्ब बराबर रेमिट्यान्स नेपाल भित्रिएको हो । गत आवको तेस्रो महिना रेमिट्यान्सको वृद्धिदर ३.२ प्रतिशत रहेको थियो । बैदेशीक रोजगारीमा जानेको संख्यामा कमि आएकोले केही समययता रेमिट्यान्सको वृद्धिदर खुम्चिदै गएको छ ।

रेमिट्यान्स घटेपनि देशमा सञ्चित विदेशी मुद्राले नेपालको ११.२ महिनाको बस्तु तथा सेवा आयात धान्न गर्न सकिने अवस्था रहेको छ । हाल १० खर्ब ९९ अर्ब रुपैयाँ सञ्चित रहेको छ ।

मूल्यवृद्धि दर सुस्तियो

भदौमा मूल्यवृद्धि दर ३.४ प्रतिशत रहेकोमा असोजमा यो दर थप घटेको छ । असोजमा मूल्यवृद्धि दर ३.१ प्रतिशतमा सुस्तिएको छ ।
दाल गेडागुडी, तरकारी, फलफुल, मसलाको मूल्यवृद्धि दर ऋणात्मक भएपछि मूल्यवृद्धि दर घटेको हो । खाद्य बस्तुको मूल्यवृद्धि दर ०.५ प्रतिशत र गैर खाद्य बस्तुको मूल्यवृद्धि दर ५.२ प्रतिशत रहेको छ । गैर खाद्य बस्तुमा लत्ता कपडा, जुत्ता, फनिर्सिङको मूल्य वृद्धि कम रहेको छ ।
राष्ट्र बैंकको प्रतिवेदन अनुसार काठमाडौंमा सबैभन्दा कम मूल्यवृद्धि रहेको छ । काठमाडौंमा २.३, हिमालमा ५.१, तराईमा ३.६ र पहाडमा ३ प्रतिशतको दरमा मूल्य वृद्धि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment