Comments Add Comment

हवाई मैदानमा मुक्त कमैयाले धमाधम पक्की घर निर्माण गर्दै

४ मंसिर, धनगढी । धनगढीस्थित पुरानो हवाई मैदानको खाली जग्गा ओगटेर बसेका मुक्तकमैयाले जग्गाधनी प्रमाणपत्र नपाउँदै त्यहाँ पक्की घर निर्माण गर्न थालेका छन् ।  नगर विकास समितिले आफूहरुलाई पाँच/पाँच धुर जग्गा दिने भनेकाले ओगटेको जग्गामा पक्की घर निर्माण गर्न थालेको मुक्तकमैयाले बताएका छन् ।

समितिले आफू बसेको जग्गाको कित्ताकाट गरिसकेकाले पक्की घर निर्माण गरिएको पूर्व कमैया होरीलाल चौधरीले बताए ।

‘चुनाइ गर्ने सीप सिकेर दक्ष भएका दश जनाको समूहले पालैपालो मुक्तकमैया परिवारको घर चुनाइ गर्ने गरेका छन्, अर्का पूर्व कमैया सीताराम चौधरीले भने-सिमेन्टको गाह्रो र इट्टाको चुनाइ आफै गर्नुपर्दा निर्माण लागत केही कम परेको छ ।’

धनगढीको पुरानो हवाई मैदानमा बसेका ५३ मुक्तकमैया परिवार मध्ये १५ परिवारले पक्की घर निर्माण गरिरहेका छन् । अरु परिवारले पनि पक्की घर निर्माणको तयारी थालेका छन् ।

धनगढी नगर विकास समितिले हवाई मैदानमा बसेकालाई सोही ठाउँमा जग्गा दिने निर्णय गरेको भए पनि मुक्तकमैयाले अहिलेसम्म जग्गाधनीको प्रमाणपत्र भने पाएका छैनन् ।

जिल्ला भूमिसुधार अधिकारी एवं मुक्तकमैया पुनःस्थापन जिल्ला समितिका सदस्य सचिव लोकराज जोशीले कैलाली जिल्लामा कूल आठ हजार ९१० मुक्तकमैया परिवार रहेकोमा आठ हजार २०३ परिवारको पुनःस्थापना गरिसकिएको छ ।

नौ सय ७४ परिवारको अझैसम्म पुनःस्थापना हुन बाँकीे छ । मुक्तिपछिका दिनमा पूर्व कमैया घर चुनाइ गर्ने, सिँलाइकटाइ गर्ने, बंगुर तथा कुखुरापालन गर्ने, काठको काम गर्ने, रिक्सा चलाउने काम गरी जीविका चलाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment