Comments Add Comment

प्रचण्डले भने- मैले त चित्त बुझाउँला, परिवारलाई सम्हाल्न गाह्रो छ (भिडियोसहित)

'श्रद्धाञ्जली सभा र दाहसंस्कारमा आउनेहरुलाई धन्यवाद'

४ मंसिर, काठमाडौं । पुत्र वियोगको पीडामा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले परिवारका अन्य सदस्यहरुलाई सम्हाल्न गाह्रो भइरहेको बताएका छन् । छोरीको निधन भएको तीन वर्षपछि एक मात्र छोरा प्रकाशलाई पनि गुमाएका प्रचण्डले ठूलो पीडा भइरहेको बताए ।

आफूलाई भेट्न सोमबार बिहान लाजिम्पाटस्थित निवास आएकाहरुलाई उनले भने, ‘जनताले हामीबाट अभिभावक जस्तै भूमिका खोजेको छ । हामीले धैर्य गर्नुपर्छ भनेपछि बिस्तारै नर्मल हुने तिर गएको छ । नर्मल भइसकेको त छैन । पीडा ठूलै छ ।’

उनले अघि भने, ‘मैले त पार्टीको लिडरको हैसियतले, हिजोको युद्ध, शान्ति सबै घटनाले रियलाइज गर्नसक्ने नै कुरा छ तर परिवारलाई सम्हाल्न गाह्रो छ । किनभने पहिले छोरीको घटना र अहिलेको यो घटनाले विक्षिप्तता ल्याएको छ ।’

निकै भावुक देखिएका प्रचण्डले छोरा प्रकाश दाहालको श्रद्धाञ्जली सभामा र दाहसंस्कारमा सहभागी भएकाहरु सबैलाई धन्यवाद समेत दिए । शोकको समयमा सबैबाट रचनात्मक सहयोग पाउँदा आफ्नो परिवारलार्इ शक्ति प्राप्त भएको उनले बताए ।

आइतबार बिहान माओवादी अध्यक्ष प्रचण्डको छोरा प्रकाश दाहालको हृदयाघातबाट ३६ वर्षको उमेरमा निधन भएको थियो । दाहाल परिवारलाई भेट्न र समवेदना व्यक्त गर्न प्रचण्ड निवास पुग्नेहरुको सोमबार पनि घुइँचो छ । प्रचण्ड निवास पुग्नेहरुले त्यहाँ राखिएको प्रकाश दाहालको तस्वीरमा पुष्प गुच्छा चढाउने र परिवारका सदस्यहरुलाई भेटेर समवेदना प्रकट गर्ने गरेका छन् ।

सोमबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले पनि दाहाल परिवारलाई भेटेकी छन् । उनले स्वर्गीय प्रकाशको तस्वीरमा पुष्प गुच्छा चढाएकी थिइन् ।

यो पनि पढ्नुहोस् 

राष्ट्रपतिद्वारा प्रकाश दाहालप्रति श्रद्धाञ्जली अर्पण

नर्भिकदेखि पेरिसडाँडासम्मः प्रचण्डका आँशु, विक्षिप्त बिना र बेहोस सिर्जना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment