+
+

महुवनका मतदाताको प्रश्न-गरीबले राज्यबाट सजिलै सुविधा कहिले पाउने ?

उम्मेदवारको कुनै विश्वासिलो प्रतिवद्धता छैन

सुरेश बिडारी सुरेश बिडारी
२०७४ मंसिर ४ गते १३:१७

४ मंसिर, वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका-५ मा महुवन गाउँ छ । सोही गाउँको पारसनाथको मठको नामबाट नै पर्सा जिल्लाको नामाकरण गरिएको हो भन्ने इतिहासकारहरूको कथन छ । तर, यही ठाउँ विकासमा पछाडि परेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिएका बेला स्थानीयवासीले आफ्नो गाउँको विकास नभएको भन्दै विकास गर्ने नेतालाई मत दिने बताएका छन् ।

साथै उनीहरुले पटकपटक भोट हालेपनि आफूहरुले राज्यबाट पाउने सेवा सुविधान सजिलै पाउन नसकेको गुनाशो गरेका छन् । उनीहरुको प्रश्न छ-‘हामी गरीबले राज्यबाट पाउने सेवासुविधा सजिलै कहिले पाउने ?’

महुवन चोकमै माछा बेचेर गजरा गरिरहेका ४० वर्षीय साहेब मियाँ मन्सुरीले गाउँमा सडक, सिँचाइ, स्वास्थ्य र शिक्षाको समस्या रहेको बताए ।

‘नेतालाई जनताको कुनै मतलब छैन, व्यक्तिगत स्वार्थमा तल्लिन छन्, सडक, सिँचाइ, स्वास्थ्य र शिक्षा क्षेत्रको समस्या उस्तै छ ।’ मन्सुरीले भने ‘तैपनि चुनावमा भोट हाल्ने अधिकार पाएका छौं । त्यसको सदुपयोग गर्नका लागि भोट त खसाल्छौं । जति उम्मेदवार उठेका छन्, त्यही मध्येबाट राम्रो नेता चुन्छौं ।’
अर्का ४० वर्षीय शक्तिराम हजाराले पनि उस्तै समस्या दोहोर्‍याए । ‘स्कुल छ, व्यवस्थित छैन, अस्पताल छ सेवा राम्रो छैन ।’ हजराले प्रश्न गरे, ‘गरीबले राज्यले प्रदान गरेको सुविधा सजिलै कहिले पाउने ?’

महुवनवासीले श्रीपुर पचगाँवादेखि गादीसम्म जोड्ने सडक र गण्डक नहर व्यवस्थित होस भन्ने चाहना राखेका छन् । त्यसका लागि प्रदेश र प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनेका नेताहरुको विश्वासिलो प्रतिबद्धता उनीहरुले खोजेको बताए ।

सडकको स्तरोन्नती नहुँदा गाउँमा एम्बुलेन्स समेत आउन नसक्ने अवस्था रहेको दुःखेसो स्थानीयवासीको छ ।

उम्मेदवारको कुनै विश्वासिलो प्रतिवद्धता छैन

सखुवा प्रसौनी गाउँपालिका पर्सा क्षेत्र नं ३ अन्तर्गत पर्छ । जहाँबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसबाट निवर्तमान सभासद सुरेन्द्र चौधरी, एमाले माओवादीको बाम गठबन्धनको तर्फबाट निवर्तमान सांसद राजकुमार गुप्ता, फोरम नेपाल राजपा गठबन्धनबाट निर्माण व्यवसायी हरिनारायण रौनियार, नेपाल संघीय समाजवादी पार्टीका राजकुमार यादव लगायतको उम्मेदवारी परेको छ ।

उनीहरु चुनाव प्रचार प्रसारको अभियानमा व्यस्त छन् । तर, उम्मेदवारहरुबाट त्यस्तो कुनै विश्वासिलो प्रतिबद्धता आइनसकेको स्थानीय बताउँछन् ।

स्थानीय रामबालक प्रसाद कलवारले शिक्षा, स्वास्थ्य, सडकको स्तरोन्नती गर्ने अठोट गर्ने नेतालाई मतदान गर्ने मनशाय आफूले बनाएको बताए ।

‘स्थानीय तहमा जनप्रतिनिधि आएपछि आमूल परिवर्तन आउँछ होला भन्ने विश्वास गरेका थियौं, खासै परिवर्तन आउन सकेको छैन् ।’ उनले भने ‘पर्सा जिल्लाको नामकरण भएको पारसनाथ मन्दिरको समेत उचित संरक्षण हुन सकेको छैन् ।’

गुठीको जग्गालाई व्यवस्थित गर्न राजनीतिक नेतृत्वको ध्यान नगएको उनले आरोप लगाए ।

महुवनका बासिन्दा अझैपनि भारतीय एम्बुलेन्स प्रयोग गर्न बाध्य छन् । स्वास्थ्य संस्थामा नेपाली एम्बुलेन्स नभएकोले भारतीय एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ ।

‘स्वास्थ्य संस्थामा एमबिबिएस डाक्टर सहितको सेवा, एम्बुलेन्स सेवा भइदिए राम्रो हुन्थ्यो ।’ महुवनकै ४७ वर्षीय आविद गिरिले भने, ‘ स्वास्थ्य सँस्थामा सरल, सहज र स्तरीय सेवा पाउने अवस्थाको पर्खाइमा छौं ।’

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?