Comments Add Comment

मोहम्मद सलाहः किङ्ग अफ फेरो

तीव्र दबाबका बीच इजिप्टलाई सन् १९९० पछि पहिलो पटक विश्वकपमा पुर्‍याउन ९५ औं मिनेटको पेनाल्टी हान्दै गर्दा मोहम्मद सलाहलाई थाहा थियो, जीवन परिवर्तन हुन लागेको छ ।

तर, जे भयो, त्यो उनले सोचे भन्दा धेरै थियो ।

उनको पेनाल्टी गोलमा इजिप्टले कंङ्गोमाथि २-१ को जित निकालेपछि २५ वर्षीय सलाह फुटबल स्टारबाट राष्ट्रिय हिरो बनेका छन् ।

झण्डै ८ करोड जनता रहेको देशको पत्रपत्रिकाले सलाहको ठूलो फोटो छापे, उनको गृहनगरको स्कुलको नाम परिर्वतन गरेर उनकै नाममा राखियो, उनको जस्तै नाम भएकाहरुलाई इजिप्टका केही रेष्टुँराहरुले छुट समेत दिए ।

१९९२ मा जन्मिएका लिभरपुलका फर्वाड सलाहले आफ्नो देशले विश्वकप खेलेको देखेका छैनन् । तर उनले त्यसलाई परिर्वतन गरे, जसमा लगभग उनकै एक्लो हात छ ।

‘विश्वकप छनोटका पछाडि रहेका मानिस सलाह हुन्’ हजेम इमाम (जसले १९९८ मा नेशन कप जिताए र इजिप्टका लागि ८७ क्याप जिते)ले भनेका छन् ।

‘जब हामी १९९० मा छनोट भयौं । यो समग्रमा एउटा टिमको प्रयास थियो । यो समय सलाह विश्वकप यात्राको लिडर हुन् ।’

फेरो (प्राचिन मिश्रका सम्राटलाई दिइने उपाधि)लाई रुस विश्वकप पुग्दा सातै गोलमा सलाहको भूमिका रहृयो । उनले पाँच गोल गरे भने दुई गोलमा असिस्ट गरे ।

विश्वकपमा प्रवेशसँगै इजिप्टले अफ्रिकन फुटबलको एउटा ठूलो ‘रहस्य’लाई अन्ततः पूर्णविराम दिएको छ ।

अफ्रिकन फुटबलमा निरन्तर दबदबा कायम राखेको र कीर्तिमानी सात पटक महादेशीय उपाधि जितेको टिम किन विश्वकपमा छनोट हुन लगातार असफल रह्यो ?

रोचक के छ भने यो प्रश्नको समाधान इजिप्टको २०११ को राजनीतिक क्रान्तिलगत्तै हुन गयो, जसले इजिप्टको फुटबललाई ठूलो उपलब्धिका वर्षहरुबाट अनिकालका वर्षमा पुर्‍यायो । २००६ र २०१० को बीचमा इजिप्टले तीन अफ्रिका कप अफ नेसन्स उपाधि जितेकोमा २०१२ देखि २०१५ सम्म कुनैमा छनोटसमेत भएन ।

तर, यो वर्षको आरम्भमा पेन्डुलम घुम्यो, जब नेसन्स कपमा उपविजेता बन्ने क्रममा इजिप्टले गरेका पाँच गोलमध्ये चार गोलमा सलाहको हात थियो ।

कडा रक्षात्मक शैलीका लागि चिनिएका अर्जेन्टिनी प्रशिक्षक हेक्टर कुपरको प्रशिक्षणमा सलाह इजिप्टको प्रमुख स्कोरिङ कार्ड बने । यतिसम्म कि फ्यानहरुले इजिप्टलाई ‘पास टु सलाह’ टिम नामाकरण गरिदिएका छन् ।

इमाम भन्छन्, ‘इजिप्टको फुटबल इतिहासमा अहिलेसम्म यो उचाईमा कोही पनि पुगेको थिएन र राष्ट्रिय टोलीमा यति सफल कोही भएको थिएन ।’

कायरोबाट १०० किलोमिर टाढा रहेको सानो शहर बासयोनका सलाहसँग १८ वर्षको उमेरमा अफ्रिकाका दुई सर्वाधिक सफल क्लबहरुमा जाने अवसर थियो, तर उनले अरब कन्ट्राक्टर्स रोजे र २०१० मा डेब्यू गरे ।

‘पहिलोपटक उसँग काम गर्दा मैले उसलाई आफ्नो महत्वाकांक्षालाई कुनै सीमाभित्र नराख्न भनेको थिएँ । किनकी उ यति तीव्र गतिमा दौडिन्थ्यो र अझै महत्वपूर्ण कुरा, आफ्नो क्षमता विकास गर्न उ उच्चरुपमा प्रतिवद्ध थियो,’ इजिप्टका अन्डर-२० फुटबलका पूर्व  प्रशिक्षक डिया एल सायेदले बीबीसी स्पोर्टलाई भने ।

तर, जब सलाह आफ्नो करिअरमा उकालो लागिरहेका थिए र देशकै उच्च क्लबहरुको ढोका ढक्ढक्याइरहेका थिए, एउटा दुःखद घटना भयो । २०१२ को फेबु्रअरीमा अल आहलीका ७४ जना फ्यानहरु प्रतिस्पर्धी क्लब अल मास्रीका समर्थकहरुको आक्रमणमा परी मारिए । परिणामस्वरुप इजिप्टमा घरेलु फुटबल निलम्बित बन्यो ।

दुई महिनापछि सलाहले स्वीट्जरल्याण्डको बासेल ज्वाइन गरे, जहाँ घरेलु फुटबल मिस गरिरहेका इजिप्सियनहरुको ध्यान उनले ताने । अल आहली र जामालेकमा उनको असंवद्धताले गर्दा उनलाई सबैको साझा बनायो ।

त्यसको दुई वर्षपछि सलाहलाई चेल्सीले खरिद गर्दा सिंगो देश उत्साहित बन्यो । तर, उनको तीव्र गति र विपक्षी रक्षापंतिलाई छेड्न सक्ने क्षमताका बाबजुद पनि प्रशिक्षक जोस माउरिन्होको नजरमा भने पर्न सकेनन् ।

‘यूरोपमा सलाहको सफलताको सबैभन्दा ठूलो रहस्य भनेको उसलाई सही समयमा सही कदम चाल्न आउँछ,’ इजिप्टका पूर्व अन्तर्राष्ट्रिय खेलाडी एल सायद भन्छन्, ‘चेल्सी छोड्नु आफ्नो विकासका लागि महत्वपूर्ण छ भनेर निर्णय लिन उसलाई लामो समय लागेन ।’

चेल्सी छोडेर उनी इटलीको फिओरेन्टिनामा गए, जहाँ उनलाई अल अहलीका फ्यानहरुको सम्मानमा ७४ नम्बरको टिशर्ट लगाउन दिइयो । ‘इटली जानु नै सलाहको करिअरमा सबैभन्दा महत्वपूर्ण निर्णय थियो,’ इटालीमा गएर खेल्ने पहिलो इजिप्सियन इमाम भन्छन् ।

इटलीको राजधानीमा दुई सिजन फुटबल खेल्दा सलाह चम्किए । २०१५-१६ को सिजनमा उनले १५ गोल गर्दै प्लेयर अफ दि इयर घोषित भए । त्यहाँबाट उनी महंगो रकममा लिभरपुलमा गए । आफ्नो मूल्यको औचित्य सावित गर्दै उनले सुरुका १२ लिग गेममा ९ गोल हाने ।

५६ वटा अन्तर्राष्ट्रिय खेलमा ३२ गोल गरेका सलाहले सबैभन्दा ठूलो परीक्षा आगामी वर्ष रसियामा दिनुपर्नेछ ।

‘सबैले सलाहको कुरा गर्दैछन्, इजिप्टको होइन । यसबाट उनलाई ठूलो दवाव पर्नेछ,’ इमाम भन्छन्, ‘तर, यदि उनी अहिलेकै र्फममा कायम रहे भने इजिप्टलाई पहिलोचोटि विश्वकपको दोस्रो चरणमा पुर्‍याउन सफल हुनेछन् ।

एउटा कुरा निश्चित छ, सिंगो राष्ट्र उनका पछाडि हुनेछ, विशेषगरी लाखौं लाखौं युवा इजिप्सियनहरु जसले फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा कहिल्यै आफ्नो देशको राष्ट्रिय धुन सुनेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment