Comments Add Comment

गगन र राजनमध्ये कसलाई चुन्ने ? दोधारमा छन् निर्मल


केही दिन भयो हाँस्य कलाकार निर्मल शर्मा ‘गैंडा’को मोबाइलमा निरन्तर सन्देश आउन थालेको छ । चलचित्र निर्माण र अभिनयमा सक्रिय शर्मालाई चलचित्र कार्यक्रमको धेरैजसो निम्तो मोबाइलमै आउँछ ।

उनको मोबाइलमा अचेल चलचित्रकर्मीको निम्तो कम र उम्मेदवारको निम्तो धेरै आउन थालेको छ । ‘आज हाम्रो यहाँ कार्यक्रम छ आइदिनु होला भन्नेदेखि विगतमा पनि सहयोग गर्नु भएकै हो यसपाली पनि सहयोग गर्नु नै हुनेछ भन्नेमा आशावादी छौं ।’ भन्ने सन्देश समेत आउने गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ का बासिन्दा शर्माको प्रतिनिधी सभाका उम्मेदवार गगन थापा र राजन भट्टराई दुबैसँग उत्तिकै राम्रो सम्बन्ध छ । दुबै उम्मेदवारले यसपाली पनि उनलाई भनेका छन्-‘विगतमा पनि सहयोग गर्नु भएकै हो, यसपाली पनि गर्नुहुन्छ भन्नेमा आशावादी छु ।’

सबैसँग खुलेर कुरा गर्ने शर्मा मित्रवत् सम्बन्ध कायम गर्न सिपालु छन् । ‘म सबैसँग हाँसेर कुरा गर्छु, सबै पार्टीका उम्मेदवारहरुले आफ्नै मान्छे भन्ठान्नुहुन्छ ।’ शर्माले भने ।

पहिलो मत बदर भयो
०४५ सालमा उनले पहिलो पटक ठमेल पछाडि कालधारमा भोट हालेका थिए । अहिले जस्तो मतदाता शिक्षा दिने चलन थिएन । मतदाता परिचयपत्रमा नाम थियो । त्यसै मख्ख थिए ।

घरमा बा, आमा काका काकीहरुको कसलाई भोट दिने भन्ने सल्लाह हुँदै थियो । तर, उनी ती छलफलमा सहभागी भएनन् । आफ्नै सुरमा मतदान स्थलमा पुगे र भोट हाले । शर्मा भन्छन्-‘सायद मेरो पहिलो मत बदर भएको पनि हुनसक्छ ।’

हरेक निर्वाचनमा भोट हाल्नुलाई उनी आफ्नो कर्तब्य ठान्छन् र पहिलो प्रहरमै मतदानस्थलमा पुग्छन् । आमालाई घुँडाको समस्या छ । मतदानस्थलमा पुगेपछि स्थानीय प्रतिनिधीहरुलाई आमाको समस्या सुनाउँछन् र त्यहि मौकामा आफु पनि भोट हाल्छन् । ‘आमा बिरामी हुनुहुन्छ उहाँलाई लाइन बसाउने कुरा भएन त्यहि वेला म पनि भोट हाल्छु ।’ शर्माले भने ।

सडकभरि बत्ती
अहिले उनको घर वरपर सडक वत्ति झिलिमिली बलेको छ । चुनाव केन्द्रित विकासप्रति ब्याङ्ग्य गर्दै भन्छन्-‘गल्ली भित्र पनि भटाभट पीच हुन थालेको छ । बत्ती झिलिमिली छ ।’

विकास हुनु समग्रमा राम्रो भएपनि चुनाव केन्द्रित विकासले राम्रो प्रतिक्रिया नदिने उनको बुझाइ छ ।

उम्मेदवारका आश्वासन मात्रै
स्थानिय चुनावमा काठमाण्डौका मेयर विद्यासुन्दर शाक्यको चुनावी घोषणापत्र हेरेर लोभिएका शर्मा भन्छन्-‘विद्यासुन्दरलाई दिएको भोट खेर गयो ।’ कुनै पनि मुलुकको विकासका लागि दलका नेताहरु दलिय स्वार्थवाट माथी उठ्नुपर्ने शर्मालाई लाग्छ । ‘हाम्रा नेताहरु अझै जनमुखी हुन सकेका छैनन्, पार्टीमुखी भएका छन् ।’

पछिल्लो पुस्ता धेरै सचेत भएको अनुभव गरेका शर्मालाई लाग्छ-‘अब राजनीति गर्नेहरुले पुरानै शैली पच्छ्याएर सुख पाउँदैनन् । उनी भन्छन्-‘नेताहरुले जे भन्छन् त्यो पुरा गर्छन् भनेर त म पत्याउदिनँ । तर, बोलेका मध्ये केही प्रतिशत पनि पुरा नगर्नेले राजनीतिमा स्थान पाउन गार्‍हो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment