Comments Add Comment

पत्रपत्रिका समाचारः चुनावी तयारी पूरा, राति १२ बजेबाट प्रचार गर्न नपाइने

७ मंसिर, काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा दल तथा तिनका उम्मेदवारले बिहीबार अन्तिम प्रयास गर्न पाउने भएका छन् । आज राजधानीबाट प्रकाशित भएका सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले यो विषयलाई छापेका छन् । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको विषयलाई पनि पत्रपत्रिकाले समाचार बनाएका छन् । पत्रपत्रिकाका अनुसार, पहिलो चरणको चुनाव सफल पार्न झन्डै ४ हजार मतदान केन्द्रमा ४५ हजार कर्मचारी परिचालन भएका छन् ।

निर्वाचन मिति नजिकिँदै गए पनि मतदाताको लस्कर भारततर्फ लागेको छ । यो विषयलाई पनि आजका पत्रपत्रिकाहरुले  महत्त्वका साथ लेखेका छन् । यसका अलावा पत्रपत्रिकाहरूले निर्वाचनको मुखमा प्रहरी प्रमुखहरुको सरुवा गरिएको, नेपालमा उडान गरिरहेका दुईदर्जन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले अढाइ अर्ब नतिरेको, चिकित्सा क्षेत्रमा बौद्धिक चोरीको बिगबिगी भएकोलगायत खबरलाई पनि स्थान दिएर लेखेका छन् ।

तयारी पूरा, राति १२ बजेबाट मौन अवधि

निर्वाचन आयोगले ३२ जिल्लामा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ । आयोगले झन्डै ४ हजार मतदान केन्द्रमा ४५ हजार कर्मचारी परिचालन गरिसकेको छ ।

नयाँ पत्रिका दैनिकका अनुसार आयोगले टाढाका मतदान अधिकृतलाई सम्बन्धित मतदान केन्द्रमा पठाइसकेको छ । निर्वाचनका सम्पूर्ण सामग्री सम्बन्धित जिल्ला र निर्वाचन क्षेत्रमा पुर्याइसकेको आयोगले बिहीबारबाट मतदान केन्द्रको व्यवस्थापन गर्नेछ ।

राजधानी दैनिकले मध्यरातबाट मौन अवधि सुरु शीर्षक दिएर लेखेको छ– प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको निर्वाचनअन्तर्गत आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ । मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नभइन्जेलसम्म उम्मेदवारले चुनावी प्रचार र मत माग्ने कार्य बन्द गर्नुपर्नेछ ।

३२ लाख मतदाताको हातमा उम्मेदवारको भविष्य

नयाँ पत्रिकामै पहिलो चरणको निर्वाचनमा ३१ लाख ९१ हजार ९४५ मतदातामार्फत उम्मेदवारको छिनोफानो हुने समाचार छ ।समाचार अनुसार, यीमध्ये १५ लाख ८६ हजार ५०२ पुरुष र १६ लाख ५ हजार ४ सय २८ महिला छन् ।

निर्वाचनको मुखमा प्रहरी प्रमुखहरुको सरुवा र बढुवा

सरकारले निर्वाचन आचारसंहिता मिचेर प्रहरी प्रमुखहरुको सरुवा तथा बढुवा गरेको छ । यो विषयलाई नयाँ पत्रिका दैनिकले पहिलो पृष्ठमा समाचार बनाएर छापेको छ ।

नयाँ पत्रिकाले लेखेको छ– पहिलो चरणको निर्वाचनको मौन अवधि सुरु हुने अघिल्लो दिन सरकारले चार डिआइजीलाई एआईजीमा बढुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने र केही एआईजीलाई सरुवा गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद् बैठकले डीआईजीहरु मधु पुडासैनी, माधव नेपाल, हेमन्त पाल र पंकज श्रेष्ठलाई एआईजीमा बढुवा गरेको हो ।

मतदानको मुखमा भारततिर लर्को

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मुलुक होमिइरहेका बेला मतदानाको लर्को भारतलगायतका देशमा लागेको छ । आज कान्तिपुर दैनिकले यसलाई मुख्य समाचार बनाएर छापेको छ भने नयाँ पत्रिका दैनिकले पनि पहिलो पृष्ठमा स्थान दिएर लेखेको छ ।

कान्तिपुरले लेखेको छ– निर्वाचनको मुखमा घर छाड्नेहरुमा ६ नम्बर प्रदेशका कालिकोट, जुम्ला, हुम्ला, डोल्पा, सल्यान, सुर्खेत, दैलेख, रुकुमका युवा बढी छन् । त्यस्तै ५ नम्बर प्रदेशका बर्दिया, बाँकेलगायतका जिल्लाबाट पनि थुप्रै युवा काम खोज्न भारत पसिरहेका छन् ।

नागरिकलाई सतर्क रहन अमेरिकाको अाग्रह

शृखलाबद्ध आक्रमणप्रति विभिन्न मुलुकहरुले चासो राखेका छन् ।

राजधानी दैनिकका अनुसार अमेरिकाले पछिल्लो समय बढ्दै गएको निर्वाचन केन्द्रित हिंसाप्रति चिन्ता व्यक्त गर्दै नेपालमा रहेका नागरिकलाई सचेत हुन निर्देशन दिएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले ट्राभल नोटिस जारी गर्दे आफ्ना नागरिकलाई निर्वाचनको अवधिभर राजनीतिक गतिविधि भएका स्थानभन्दा टाढै रहन निर्देशन दिएको हो ।

वायुसेवाले तिरेनन् अढाई अर्ब


नागरिक दैनिकले नेपालमा उडान गरिरहेका दुई दर्जन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले विभिन्न सेवा उपभोग गरेबापत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई करिब २ अर्ब ५० करोड रुपैयाँ तिर्नुपर्ने भए पनि नतिरेको खबरलाई मुख्य समाचार बनाएर आज छापेको छ ।

‘वायुसेवा कम्पनीहरुले यात्रुसँग उठाएको सेवा शुल्कसँगै उनीहरुले विमानस्थललाई तिर्नुपर्ने विमानस्थल विकास शुल्क, अवतरण र विसान शुल्क, हवाई परिवहन, कोटा काउन्टर शुल्कलामो समयदेखि तिरेका छैनन्,’ नागरिकले समाचारको अगाडि लेखेको छ, ‘जबकि तिनै वायुसेवा कम्पनीहरुले नेपालमा उडान गरेर वार्षिक झन्डै ८० अर्ब रुपैयाँ आफ्ना देश लैजाने गरेका छन् ।’

नेपालको उड्डयन बजार १ खर्ब रुपैयाँ बराबर पुगिसकेको छ । यसमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको हिस्सा करिब १० प्रतिशत हाराहारी छ ।

अदालतका कर्मचारीले फेला पारेनन् खड्काको घर !


नागरिक दैनिकमै अदालतले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको घर अदालतले फेला पार्न नसकेको खबर छ । समाचार अनुसार, मुद्दा दायर भएको डेढ महिना बितिसक्दा पनि काठमाडौं जिल्ला अदालतले खड्काको घर फेला पार्न नसकेको हो ।

अदालतका कर्मचारीले खड्काको घर फेला पार्न नसकेकाले उनीविरुद्ध परेका गाली बेइज्जती मुद्दाको म्याद तामेल हुन सकेको छैन ।

र यो पनि खबर– छोरी चुनावमा, बावु विरोधमा

एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूकी अध्यक्ष नवीना लामा चितवन ३ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई जिताउन खटिएकी छन् । प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उम्मेदवार लामालाई उनको संगठनले नै चितवन खटाएको हो । प्रचण्ड जिताउने जिम्मेवारी उनले पाएकी छन् ।

नागरिक दैनिकका अनुसार उनी प्रचण्ड जिताउन लागिपरे पनि उनका बावु माणिक लामा भने निर्वाचन भाँड्न सक्रिय भएको आरोप लगाउँदै प्रहरीले हिरासतमा राखेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माणिक विप्लव समूहको ताम्सालिङ स्वायत्त जनसरकार प्रमुख र राष्ट्रिय तामाङ मुक्ति मोर्चाका प्रमुखसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment