Comments Add Comment

प्रदेश नं. १ मा निर्वाचनको सुरक्षाः १० हजार बढी प्रहरी परिचालन

विप्लव समूहका १ सय ३ जना पक्राउ

८ मंसिर, बिराटनगर । एक नम्बर प्रदेशमा पहिलो चरणमा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सुरक्षाका लागि १० हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

एक नम्बर प्रदेश अन्तर्गत पर्ने १४ जिल्ला मध्ये पहिलो चरणमा हिमाली एवं पहाडी गरी ७ वटा जिल्ला मंसिर १० गते निर्वाचन हुँदैछ ।

प्रदेश नम्बर १ का प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक पशुपति उपाध्ययले निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीका ५ हजार वढी प्रहरी परिचलन गरिएको जानकारी दिए ।

त्यसैगरी, निर्वाचन सुरक्षाका लागि थप ५ हजार ३ सय म्यादी प्रहरी परिचालन गरिएको उनले बताए ।

मंसिर १० गते पहिलो चरणमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पॉचथर र खोटाङमा निर्वाचन हुँदैछ ।

उपाध्ययले विगतमा जस्तै यस पटकको निर्वाचनमा पनि जिल्ला सुरक्षा योजना अनुसार ती जिल्लाको निर्वाचन सुरक्षाको व्यवस्था मिलाइएको जानकारी दिए ।

उनले पहिलो र दोश्रो चरणमा हुने निर्वाचनका लागि प्रदेश नम्बर एक अन्तर्गत पर्ने १४ जिल्लाका लागि नेपाल प्रहरी र म्यादी प्रहरी गरी कुल ३० हजार बढी परिचालन गरिने बताए ।

जसमा १६ हजार म्याद ८ सय म्यादी प्रहरी र १३ हजार बढी नेपाल प्रहरी परिचालन हुनेछन् ।

एक नम्बर प्रहरी प्रमुख उपाध्ययले पहिलो चरणमा निर्वाचन हुने हिमाली जिल्लामा भौगोलिक विकटता बढी भएकाले सोही अनुसार निर्वाचन सुरक्षाको व्यवस्था गरिएको बताए ।

उपाध्ययले भने, ‘ताप्लेजुङ र सोलुखुम्बु जिल्लाका धेरै मतदान केन्द्र र स्थलमा भौगोलिक विकटता छ, त्यस्ता मतदान स्थानमा अन्य सुरक्षा निकायको समन्वयमा निर्वाचन सुरक्षाको प्रबन्ध मिलाएका छौ ।’

उनले पहिलो चरणमा निर्वाचन हुने हिमाली एवं पहाडी जिल्लासँग जोडिएका स्थान र विगतका अपराध भएका ठाउँका मतदान केन्द्रलाई संवदेनशीलमा राखिएको बताए ।

एउटा मतदानस्थलमा कम्तिमा २० देखि ४९ जनासम्म जनपथ प्रहरी र आवश्यकता अनुसार म्यादी प्रहरी परिचालन गर्ने योजना छ । त्यसमा प्रहरीकै मोबाइल टोली, सशस्त्रको टोली र नेपाली सेनाको संयुक्त टोली समेत परिचालन गरिनेछ ।

विप्लव समूहका १ सय ३ पक्राउ

निर्वाचन विथोल्ने गतिविधिमा सम्लग्न भएको आशंकामा प्रहरीले १ सय बढीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

एक नम्बर प्रदेश अन्तर्गत पर्ने जिल्लाहरुबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरीको एक नम्बर प्रदेश कार्यालय, बिराटनगरका अनुसार चुनाव बिथोल्ने कार्यमा उनीहरु सम्लग्न भएको आशंकामा नियन्त्रणमा लिएको बताइएको छ ।

एक नम्बर प्रदेशका जिल्लाहरु भोजपुर, इलाम, सुनसरी, धनकुटा लगायतका जिल्लाबाट उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment