Comments Add Comment

हनिमुन कसरी मनाउने ? विकासानन्दका टिप्स

मंसिर महिना अर्थात विवाहको मौसम । विवाह त्यो मोड हो, जहाँबाट जीवनको नयाँ अध्याय सुरु हुन्छ । दाम्पत्य जीवन । घर गृहस्थी । पारिवारिक दायित्व ।

ठीक यसबीचमा यस्तो चरण पनि आउँछ, जसले दाम्पत्य जीवनको नयाँ रंग, नयाँ स्वाद, नयाँ मिठास अनुभूत गराउँछ । त्यो भनेको हनिमुन हो । अर्थात सुहागरात । नव-दम्पतीले एकअर्कालाई शारीरिक, मानसिक, आत्मिक रुपमा चिन्ने र चिनाउने स्वणिर्म क्षण हो यो ।

हुन त हामीकहाँ हनिमुन शब्दावली त्यति व्यापक छैन । हनिमुनकै लागि भनेर विशेष समय गुजार्ने प्रचलन पनि उति छैन । अहिलेका नवजोडीले हनिमुन मनाउने चर्चा त गर्छन्, तर त्यो विधिसम्मत् हुन्छ भनेर बुझेका छैनन् । तर, हनिमुनको आफ्नै विधि हुन्छ ।

हनिमुनका बेला दम्पती बढी स्वस्थ्य र तन्दुरुस्त

हनिमुनको बखत पति र पत्नी मानसिक एवं शारीरिकरुपमा सबैभन्दा बढी स्वस्थ्य हुन्छन् । मानसिक रोगीलाई समेत त्यो चरण (हनिमुन) बाट गुजि्रन दिइयो भने, अधिकांश मानसिक विकार हटेर जान्छ । उनीहरु स्वस्थ्य भएर निस्कन्छन् ।

हनिमुन फगत रमाइलो मात्र होइन । यो एउटा प्राकृतिक उपचार पनि हो । हनिमुनको चरणमा कतिपय शारीरिक दुखाई, कष्ट, दर्द पनि ठीक हुन्छ । कति रोग स्थायी रुपमै निको हुन्छन् ।

यद्यपि हामीकहाँ हनिमुनको अवधारणा छैन । हामीले यो शब्दलाई ऐचोपैंचो गरेर चलाइरहेका छौ । हामीलाई लाग्छ, वा हामीले बुझेको कुरा यति मात्र हो कि, बिवाह गरेपछिको एक महिनाको अवधि । तर, पश्चिमा समाजले यसलाई फरक ढंगले बुझेका छन् र आत्मसात गरेका छन् ।

यो पश्चिमा समाजकै उपज भएकाले उनीहरुकै कुरा सदर हुन्छ । वा हामीले मान्नुपर्ने हुन्छ । त्यसर्थ हनिमुन के हो, कसरी मनाउने भन्ने कुरामा हामीले उनीहरुलाई पछ्याउनुपर्छ ।


प्रकृतिको शरणमा उन्मुक्त रमाउनुहोस्

पश्चिमाहरु हनिमुन घरमा मनाउँदैनन्, बाहिर जान्छन् । सके विदेशमा, नसके कमसे कम चार तारे, पाँच तारे जति सकिन्छ, त्यो होटलमा गएर एक महिना बसिन्छ । सके त्योभन्दा लामो । नसके कम्तिमा एक महिना त बस्नैपर्छ । त्यो पनि एकान्तमा, मनोरम्य ठाउँमा, जहाँ प्रकृतिको साथ होस् । र, कसैको बाधा नहोस् ।

एेंचोपैंचो, ऋणपान जे गरेर हुन्छ, यो चरणमा उनीहरु देश छाड्छन् । अनि प्रकृतिको काखमा गएर रमाउँछन् । प्रकृतिसँग एकाकार हुन्छन् । प्रकृति आफैंमा उपचार हो । हामी जति प्रकृतिको नजिक हुन्छौं , उति खुसी र स्वस्थ्य हुन्छौं ।

यस्तो ठाउँ, जहाँ मानसिक र शारीरिक रुपले आनन्दानुभूत गर्न सकिन्छ ।

जीवनमै पहिलोपटक खुल्ने मौका

हनिमुन भनेको जीवनमै पहिलो पटक कसैको सामुन्ने खुल्ने अवसर पनि हो । तनले, मनले , धनले । सबै प्रकारले खुल्ने मौका हो । यो भनेको मानिस सबैभन्दा स्वतन्त्र हुने मौका हो । स्वतन्त्र भनेको स्वच्छन्द । स्वच्छन्द आफैंमा महत्वपूर्ण उपचार हो ।

हनिमुनले यसरी शरीरको प्रतिरक्षा क्षमता बढाउँछ

रोग शरीरमा चढ्नु, बढ्नु भनेको रोग प्रतिरक्षा क्षमता कमजोर हुनु हो । हाम्रो शरीरमा रोग त्यहीबेला हाबी हुन्छ, जब हामीले आफ्नो प्रतिरक्षा क्षमता गुमाउँछौं । तर, हामी उन्मुक्त खुसी भएका बेला हाम्रो प्रतिरक्षा क्षमता आफै बृद्धि हुन्छ । परिणामतः रोगहरुले हाम्रो शरीरमा आक्रमण गर्न सक्दैन । किनभने यतिबेला शरीरमा आनन्दको, खुसीको हर्मोन बढोत्तरी हुन्छ । यसले शरीरमा उर्जाको हर्मोन पनि बढाइदिन्छ । अर्थात जीवनकै सबैभन्दा बढी इनर्जी आउने चरण हो यो । हनिमुनको चरणमा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाइदिन्छ ।

भिडियोमा हेर्नुहोस्

(डा. योगी विकासानन्दसँग कुनै थप जिज्ञासा भए [email protected] मार्फत प्रश्न राख्न सक्नुहुनेछ । तपाईका प्रश्नहरुको जवाफ अनलाइनखबरमा प्रकाशित हुनेछ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment