Comments Add Comment

झापाका १० उम्मेदवारः कोको होलान् रिङआउट ?

केपी ओली आफ्नो क्षेत्रभन्दा बाहिरै व्यस्त

११ मंसिर, झापा । दोस्रो चरणको प्रत्यक्ष चुनावमा झापाबाट प्रतिनिधिसभाका लागि ५ सांसद छानिनेछन् । ५ निर्वाचन क्षेत्रमध्ये एमालेले २, ४ र ५ मा गरी तीन स्थानमा मात्रै उम्मेवारी दिएको छ । कांग्रेसले भने पाँचै स्थानमा उम्मेदवारी दिएको छ ।

झापाका ५ निर्वाचन क्षेत्रमध्ये एमालेले एउटामा माओवादीलाई र अर्को एउटामा राप्रपाका उम्मेवारलाई सघाएको छ । कांग्रेसचाहिँ एक्लै चुनाव लड्दैछ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली झापा क्षेत्र नं. ५ मा एक सामान्य पूर्वप्राध्यापकसँग चुनाव लड्दैछन् । पूर्वगृहमन्त्री सिटौला झापा-३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनसँग कठोर प्रतिस्पर्धा गर्दैछन् ।

पूर्वसञ्चारमन्त्री एवं माओवादी नेता कार्की र कांग्रेसका युवा नेता नेता विश्वप्रकाश शर्मासँग झापा-१ मा चुनौतीपूर्ण प्रतिस्पर्धा गरिहरेका छन् । दुईजना ‘बौद्धिक’ उम्मेदवारबीचको प्रतिस्पर्धाले झापा १ तातेको छ ।
झापा जिल्लामा ५ लाख ८५ हजार २ सय २८ मतदाता छन् । जिल्लाको चुनावी चहलपहल यस्तो छः

झापाबाट अधिकांश ‘हेभिवेट’ उम्मेदवारहरु संसदमा आउनका लागि जोडबल गरिरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, माओवादी नेता राम कार्की, कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा, राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनलगायतको उम्मेदवारीका कारण अहिले झापामा चुनावी रौनक छाएको छ ।

क्षेत्र नम्बर १ः कम्युनिष्ट र कांग्रेसवीच शास्त्रार्थ

झापाको क्षेत्र नम्बर १ मा माओवादी नेता राम कार्की र कांग्रेस नेता विश्वप्रकाशको प्रतिस्पर्धा एक प्रकारले दुई लाइनको संघर्षजस्तै देखिएको छ । कार्की र शर्मा दुबै वौद्धिक एवं विचारकजस्तै लाग्ने नेता भएकाले यहाँ बाहुबल र ‘ह्याकुला’ को भन्दा पनि विचार र लाइनको संघर्ष बढी देखिएको छ ।

झापाको क्षेत्र नं. १ मा १ लाख ५ हजार ४ सय ७९ मतदाता छन् ।

यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि ७ जनाले उम्मेदवारी दर्ता गराए पनि मुख्य प्रतिस्पर्धा कांग्रेस युवा नेता विश्वप्रकाश शर्मा र माओवादी केन्द्रका नेता राम कार्कीबीच हुनेछ ।

झापा क्षेत्र नं. १ मा मेचीनगर नगरपालिकासहित भऽपुरको वडा नं. ९, १० र बुद्धशान्ति गाउँपालिकाको वडा नं. ४, ५, ६ र ८ पर्छ ।

स्थानीय तहको निर्वाचनको मतपरिणामलाई आधार मान्दा यहाँ नेपाली कांग्रेसको २५ हजार ५ सय १ मत छ भने एमालेको २५ हजार ६३ मत छ ।

त्यसैगरी, माओवादी केन्ऽको ९ हजार ८ सय ८८ र राप्रपाको १ हजार ३ सय ३३ मत छ ।

यहाँले राप्रपाले पनि बाम गठबन्धनलाई सघाउँदा गठबन्धनको ३६ हजार २ सय ८४ मत पुग्छ ।

यो परिणामलाई आधार मान्दा यहाँ बाम गठबन्धन १० हजार ७ सय ८३ मतले कांग्रेसभन्दा अगाडि छ ।

तर, विश्वप्रकाशको स्थानीय क्षेत्रको भएकाले उनको व्यक्तिगत लोकपि्रयताको मत बढी छ । यद्यपि, संगठनको हिसाबले कार्की अगाडि छन् । त्यसैले यहाँ कडा प्रतिस्पर्धा हुने अनुमान गरिन्छ ।

झापा २ः महिला उम्मेदवार कांग्रेस सभापतिसँग भिड्दै

झापा क्षेत्र नं. २ मा १ लाख १८ हजार १ सय ९६ मतदाता छन् । यहाँबाट प्रतिनिधिसभा सदस्यका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यद्यपि, नेपाली कांग्रेसका उद्धव थापा र बाम गठबन्धनकी उम्मेदवार पवित्रा निरौला (खरेल) बीच प्रतिस्पर्धा हुँदैछ ।

यो क्षेत्रमा अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिकाको वडा नंं १ देखि ९ सम्म, बुद्धशान्ति गाउँपालिकाको १, २ र ३ र कनकाई नगरपालिकाको वडा नं. ८ र ९ पर्छ । यी स्थानमा स्थानीय निर्वाचनमा बाम गठबन्धनले ल्याएको मत ४० हजार ४ सय २० छ भने कांग्रेसले २२ हजार ८ सय ९० छ ।

स्थानीय चुनावको अंकगणितमा बाम गठबन्धन अगाडि रहे पनि कांग्रेस उम्मेदवार थापा पार्टीका जिल्ला सभापति भएकाले कांग्रेसले थापाको जितलाई प्रतिष्ठाको विषय बनाएको छ ।

‘दोस्रो संविधानसभामा १८ सय मतान्तरले पराजित भएको थिएँ । अहिले मैले त्यो अन्तरको कारण पत्ता लगाएर त्यसलाई समाधान गरिसकेँ’, थापाले अनलाइनखबरसँग भने, ‘त्यसैले मेरो जीत सुनिश्चित छ ।’

उता, एमालेबाट बाम गठबन्धनका लागि उम्मेदवार बनेकी पवित्रा निरौला -खरेल) एमाले प्रदेश नं. १ को सदस्य हुन् । खरेल ०७० सालको निर्वाचनमा झापा २ बाट कांग्रेस उम्मेदवार सुधीरकुमार शिवाकोटीसँग पराजित भएकी थिइन् ।

अहिले मजबुत संगठन नै बाम गठबन्धनको जीतका लागि पर्याप्त भएको एमाले नेताहरु बताउँदै आएका छन् । उनी प्रतिनिधिसभा सदस्यका लागि मेची अञ्चलकै एक्ली महिला उम्मेदवार हुन् ।

क्षेत्र नं. ३ः गणतन्त्रको मुद्दामा बहस


झापा क्षेत्र नं. ३ को कुल मतदाता संख्या १ लाख १४ हजार ५ सय ८६ छ । यहाँबाट प्रतिनिधिसभा सदस्यका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तर, यहाँ मुख्य प्रतिस्पर्धा भने कांग्रेस नेता कृष्णप्रसाद सिटौला र राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनबीच हुँदैछ ।

यहाँ कांग्रेस नेता सिटौलाले गणतन्त्रलाई चुनावी मुद्दा बनाउन खोजेका छन् । गणतन्त्रका लागि लागेका दलहरुले आफूलाई भोट दिनुपर्ने भन्दै सिटौलाले कांग्रेस र एमालेका मतदातालाई आफीतर तान्न खोजेका छन् । तर, राप्रपाका महामन्त्री लिङ्देनले बाम गठबन्धनको साथ पाएका छन् ।

झापा क्षेत्र नम्बर ३ मा बाह्रदशी, हल्दिबारी र कचनकबल गाउँपालिका पर्छन् । भऽपुर नगरपालिकाको वडा नम्बर १ देखि ८ नम्बर वडा र बिर्तामोडको वडा नं. १० पनि यहीँ समेटिएको छ ।

स्थानीय निर्वाचनको मतलाई आधार मान्ने हो भने झापा ३ मा पर्ने हल्दीबारी र कचनकबल राप्रपाले जितेको थियो भने बाह्रदशी गाउँपालिकामा कांग्रेस विजयी भएको थियो ।

त्यस्तै, भऽपुर नगरपालिकाको वडा नम्बर ५ र ८ कांग्रेसले जितेको थियो । राप्रपाले यस क्षेत्रभित्र पर्ने नगरपालिकाका कुनै पनि वडा जितेको थिएन । एमालेले बिर्तामोड १० सहित भऽपुरका २, ३, ६ र ७ नम्बर वडा जितेको थियो । माओवादीले भऽपुरको ४ नम्बर वडा जितेको थियो ।

स्थानीय निर्वाचनमा प्रमुख पदहरुमा खसेको मतलाई आधार मानेर हेर्ने हो भने झापा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले २० हजार २२ मत पाएको देखिन्छ । राप्रपाले भने १३ हजार ७५० अर्थात कांगे्रस भन्दा झण्डै ७ हजार कम मत पाएको देखिन्छ ।

तर, बाम गठबन्धनको समेत साथ पाएपछि लिङ्देनको पक्षमा एमाले र माओवादीको मत २४ हजार ५ सय ५३ मत थपिएको छ । र, यो मत उनलाई जाने हो भने लिङ्देनले ३७ हजारको हाराहारीमा मत पाउन सक्छन् । जुन कांग्रेसको भन्दा करिब १७ हजारले बढी हो ।

यद्यपि, सिटौलाको आफ्नो लोकपि्रयता र गठबन्धनको कार्यकर्ताको मत समेत पाएर चुनाव जित्ने रणनीतिमा सिटौला छन् ।

कांग्रेसभित्र तेस्रो धारको नेतृत्व गरिरहेका सिटौलाको भविष्यसँग पनि यसपालिको चुनाव जोडिएकाले उनले चुनाव जित्न आफ्नो सम्पूर्ण शक्ति यहाँ केन्दि्रत गर्नेछन् ।

क्षेत्र नम्बर ४ः दुवै उम्मेदवारको जित्ने दाबी

झापा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि १३ जनाले उम्मेदवारी दिएका छन् । यद्यपि, यहाँ मुख्य प्रतिष्पर्धा भने कांग्रेस उम्मेदवार देउकुमार थेबे र बाम गठबन्धनका उम्मेदवार लालप्रसाद साँवा लिम्बूबीच हुँदैछ ।

यस क्षेत्रको कुल मतदाता सङ्ख्या १ लाख ९ हजार ३ सय ९१ छ । यस क्षेत्रमा झापा गाउँपालिका, गौरादह नगरपालिका वडा नं. ९, गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ र २, कन्काई नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ६ र शिवसताक्षी नगरपािलका पर्छ ।

स्थानीय तहको निर्वाचनको मतलाई आधार मान्ने हो भने झापा-४ मा बाम गठबन्धनको जम्मा मत ३७ हजार ८ सय ११ छ । कांग्रेसको भने मत २२ हजार ९ सय ७३ छ । अर्थात्, १४ हजार बढीको मत अन्तर छ ।

यद्यपि, कांग्रेस उम्मदेवार थेबेले आफू स्थानीय स्तरमा भिजेको र पार्टीको विभिन्न तहमा रहँदै जिल्ला उपसभापति समेत भएर विकास निर्माणमा केन्दि्रत भएकाले आफ्नो जीत सुनिश्चित भएको बताउँदै आएका छन् ।

साँवा एमालेनिकट व्यवसायीहरुको संगठनको प्रदेश नं. १ का संयोजक हुन् । उनी नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका केन्द्रीय अध्यक्षसमेत भइसकेका व्यक्ति हुन् । उनको आफ्नै वैदेशिक रोजगारसम्बन्धी व्यवसाय छ ।

यसअघि दोस्रो संविधानसभाको निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट उनी उम्मेदवार बनेका थिए । तर, कांग्रेस उम्मेदवारसँग झिनो अन्तरले पराजित भएका थिए । र, यसपटक भने आफू जित्नेमा ढुक्क रहेको उको दाबी छ ।

क्षेत्र नं. ५ः केपी ओलीसँग मा’डसापको भिडन्त !

पूर्वप्रधानमन्त्री केपी ओली चुनाब लडेको यस क्षेत्रबाट १४ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । यहाँको कुल मतदाता संख्या १ लाख ३७ हजार ५ सय १४ छ ।

यस क्षेत्रबाट चुनावी मैदानमा भिडेका केपी ओली आफ्नो क्षेत्रको भन्दा अन्यत्रकै चुनावी अभियानमा व्यस्त छन् । राप्रपाको समेत समर्थन पाएपछि आफ्नो प्रतिस्पर्धी कोही नभएको उनले बताउँदै आएका छन् ।

तर, स्थानीय मतदाता भने ओली र कांग्रेस उम्मेदवार डा. खगेन्द्र अधिकारीबीच राम्रै प्रतिस्पर्धा हुने अनुमान गर्छन् ।

ओलीसँग चुनावी प्रतिस्पर्धामा उत्रिन डा. अधिकारीले १७ वर्ष लामो सरकारी जागिर छाडेका छन् । चुनावी मैदानमा उत्रिनु अघि उनी त्रिचन्द्र कलेजमा प्राध्यापन गर्दै आएका थिए ।

झापा क्षेत्र नं. ५ अन्तरगत गौरीगञ्ज गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ६, गौरादह नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ७ र ८, दमक नगरपालिका र कमल गाउँपालिका पर्छ ।

स्थानीय चुनावको मतपरिणामलाई आधार मान्ने हो यो क्षेत्रमा बाम गठबन्धनको २५ हजार ८ सय ११ मत छ । कांग्रेसको २१ हजार १ सय ५१ मत मात्रै छ ।

यद्यपि, ओलीका प्रतिस्पर्धी पूर्वप्राध्यापक अधिकारीले आफू पहिले सरकारको नोकर र कलेजमा राजीनामा बुझाएपछि जनताको नोकर भएको बताउँदै आएका छन् ।

उनले नेपाली कांग्रेसको पक्षमा लहर आएको भन्दै आफ्नो जीत निश्चित भएको बताउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment