Comments Add Comment

कैलाश मानसरोवर यात्रामा कसरी जाने ? के-के लैजाने ?

अन्य गन्तव्यको यात्रामा निस्केजस्तो सजिलो छैन, कैलाश मानसरोवर


कैलाश मानसरोवर यात्राप्रति धेरैको जिज्ञासा रहेको पाइन्छ, चाहे त्यो धार्मिक आस्थाका कारण होस् वा हिमाली भेगको भ्रमणमा निस्कने अभिरुचिका कारण । खासगरी ओमकार परिवारका सदस्यहरुमा कैलाश मानसरोवर यात्रामा जाने उत्कट अभिलाषा हुन्छ ।

त्यसो भए तीर्थहरुको पनि तीर्थ अर्थात् महातीर्थका रुपमा चिनिने कैलाश मानसरोवर यात्रामा कसरी जान सकिन्छ त ? आफ्नो अनुभव बाँड्ने प्रयास गरेको छु, यस लेखमार्फत् ।

उच्च हिमाली क्षेत्र भएकाले कैलाश मानसरोवर यात्रालाई कठिन यात्राको सूचीमा राखिन्छ । हिमाली भेगमा जाँदा लेक लाग्नेदेखि बिरामी परिनेसम्मका जोखिम सदैव रहन्छन् । त्यसरी अप्ठ्यारोमा पर्दा सहज ढंगबाट उद्दारसमेत हुन नसक्ने अवस्था पनि रहन्छ ।

त्यसैले यस्तो क्षेत्रको यात्रामा निस्कँदा धेरै विषयमा सतर्क रहनु जरुरी हुन्छ । त्यति मात्र होइन, लामो यात्रा अवधि र विकट क्षेत्र भएकाले खाने–बस्ने लागत पनि उत्तिकै बढ्छ । तसर्थ, यात्राका लागि चाहिने खर्चसहित आवश्यक सरसामानको जोहो गर्नु र अन्य सतर्कता राख्नु यस यात्राका अत्यावश्यक विषय हुन् ।

कैलाश मानसरोवरमा भारतीय मुलका तर विश्वका विकसित देशहरु अमेरिका, बेलायत, क्यानाडा, अस्ट्रेलियामा बस्ने गैरआवासीय भारतीयहरु जाने गरेको पाइन्छ । उनीहरुसँग यस यात्राका लागि चाहिने यथेष्ट पैसा हुनुका साथै धार्मिक आस्था पनि बलियो हुने भएकाले यस यात्रामा उनीहरुको उपस्थिति बढी हुन पुगेको हो ।

गैरआवासीय र खाँट्टी भारतीय दुवैमध्ये अधिकांश नेपालको बाटो हुँदै यस यात्रामा निस्किन्छन् । भारतको सिक्किम बोर्डर हुँदै कैलाश मानसरोवर जान सक्ने नाका भए पनि त्यो मौसमका कारण धेरै कठिन छ । भारत र चीनबीचको राजनीतिक उचार–चढावले पनि छिट्टै प्रभावित हुने गरेको छ । सोही कारण यस यात्रामा जाने लगभग सबैजसो भारतीय नेपालकै बाटो जान रुचाउँछन् ।

यस यात्राका लागि नेपाल हुँदै जाने निश्चित रुट छन् । यात्रुले यिनै रुटमध्ये एक छनोट गर्नुपर्ने हुन्छ । यी रुटमा यात्राका लागि लाग्ने अवधि, खर्च र यातायातको माध्यमका आधारमा शुल्क निर्धारित छन् ।

काठमाडौं–ल्हासा हवाई मार्ग

कैलाश मानसरोवर यात्राका लागि सबैभन्दा सजिलो यही हो । यस रुटमा खर्च भने अरुमा भन्दा बढी लाग्छ । यो रुट काठमाडौं–ल्हासा हवाई यात्राबाट शुरु हुन्छ ।

धेरैजसो अवस्थामा ल्हासामा एक दिन बस्ने तालिका मिलाइएको हुन्छ । त्यसपछि तीन दिनमा करिब १५ सय किलोमिटर सडक यात्रा गरेपछि मानसरोवर पुग्न सकिन्छ ।

मानसरोवर पुगेको दिन एक रात वास बस्न सकिन्छ वा स्नानपछि कैलाशको आधारशिविर दार्चेनमा वास बस्न सकिन्छ । दार्चेनबाट तीन दिन पैदल वा घोडामा यात्रा गरेपछि कैलाशको प्रदक्षिणा गरी फेरि दार्चेन फर्किन सकिन्छ ।

दार्चेनबाट फेरि सडक यात्रा गर्दै ल्हासा फर्किन र ल्हासाबाट हवाई मार्गबाट काठमाडौं आउन सकिन्छ । यस रुटबाट यात्रा गर्न १३ देखि १६ दिनसम्म लाग्छ, जसको खर्च तीन लाख रुपैयाँभन्दा बढी हुन्छ ।

काठमाडौं–हिल्सा स्थल मार्ग

यस रुटबाट कैलाश मानसरोवरको यात्रा काठमाडौं–नेपालगञ्ज हवाई यात्राबाट शुरु हुन्छ । नेपालगञ्जबाट हुम्लाको सिमिकोटसम्म हवाई जहाजबाट यात्रा गर्नुपर्ने हुन्छ । यस रुटमा हवाई जहाजको टिकट पाउन एकदमै कठिन हुन्छ । छिटो–छिटो मौसम परिवर्तन भइरहने हुँदा उडान ढिलाइ हुने जोखिम जतिबेलै रहन्छ ।

सिमिकोटबाट हिल्सासम्म हेलिकोप्टरबाट यात्रा गरिन्छ । त्यहाँ पनि मौसमको भूमिका महत्वपूर्ण हुन्छ । मौसमको अवस्थाअनुसार हेलिकोप्टरको उडान हुने/नहुने तय हुन्छ ।

तसर्थ, यस रुटबाट यात्रा गर्दा समय लम्बिने सम्भावना रहन्छ । भनेको समयमा हवाई यात्रा भएमा यस रुटबाट कैलाश मानसरोवरको यात्रा सबैभन्दा थोरै समयावधिमा गर्न सकिन्छ । हिल्सा पुगेर नेपालबाट तिब्बती सीमा छिरेलगत्तै सडकबाट एक दिनमा मानसरोवर पुग्न सकिन्छ ।

फेरि मानसरोवरबाट हिल्सा हुँदै जाँदाकै रुट प्रयोग गरी काठमाडौं फर्किन सकिन्छ । यस यात्राका लागि दुई लाखदेखि तीन लाख रुपैयाँ खर्च लाग्छ ।

काठमाडौं–केरुङ रुट

यो रुटमार्फत् स्थलमार्ग हुँदै कैलाश मानसरोवर पुग्न सकिन्छ । यसका लागि काठमाडौंबाट रसुवागढी हुँदै केरुङ पुग्नुपर्छ । केरुङबाट तिब्बती सीमा पार गरी सडक यात्रा गर्दै एक दिनमा सिगात्से पुगिन्छ । सिगात्सेबाट सडकमार्फत् दुई दिनमा मानसरोवर पुग्न सकिन्छ ।

तिब्बती भेगमा सडकको अवस्था राम्रो रहे पनि नेपालतर्फ नाजुक रहेका कारण यात्रा केही कष्टकर हुन पुग्छ । तर, खर्चका हिसाबले यस रुटबाट यात्रा गर्दा कम खर्चिलो हुन्छ । यस रुटबाट कैलाश मानसरोवर यात्रा दुई लाख रुपैयाँसम्ममा गर्न सकिन्छ ।

काठमाडौं–तातोपानी रुट

हाल यो रुट बन्द छ । १२ वैशाख ०७२ को विनासकारी भूकम्पले यस रुटमा पर्ने सडक बिगारेपछि अहिलेसम्म चालु हुन सकेको छैन ।

काठमाडौंबाट सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै खासा पुग्न सकिन्छ । खासाबाट सडक यात्रा गरी मानसरोवर पुग्न सकिन्छ । यस रुटबाट यात्रा गर्दा धेरै दिन लाग्छ ।

आवश्यक सामग्रीको जोहो

कैलाश मानसरोवर यात्रामा निस्कनुअघि निकै सरसामान खरिद गर्नुपर्छ । धेरै उचाइको यात्रा हुने भएकाले बाक्ला ज्याकेट, टोपी, पञ्जा, ट्राउजर, मोजा, हाइनेक अनिवार्य चाहिन्छ ।

यस्तै, घामबाट जोगिने खालको शतप्रतिशत यूभी प्रोटेक्टिभ सन ग्लास, सन स्क्रिन, टेक्ने लठ्ठी, पानीको बोतल अनिवार्य लैजानुपर्छ । खानका लागि चकलेट, बदाम, काजु, किसमिस, भुटेको चना, केराऊ, चिउरा, जौको सातु, चुइंगमलगायत लैजानु उपयुक्त हुन्छ ।

यात्राका लागि भुल्न नहुने वस्तु टर्च लाइट पनि हो । ड्राई सेल ब्याट्री लाग्ने टर्च लाइट लैजानुपर्छ । सकभर टाउको–निधारमा बाँध्ने टर्च लगेमा राम्रो ।

त्यसैगरी ट्वाइलेट पेपर साथमा लैजान भुल्नु हुँदैन । यात्रामा खुला आकाशमुनि, पानी नभएको ठाउँमा, बाटोको वरिपरि नै शौच गर्नुपर्ने हुनसक्छ । २/३ जनाले समात्न मिल्ने सल बोकेमा महिला यात्रुलाई दिसापिसाब गर्न सजिलो हुन्छ ।

यात्राभरका लागि कम्तिमा पनि दुई जोर जुत्ता आवश्यक पर्छ । गाडीमा यात्रा गर्दासम्म सामान्य प्रकारका जुत्ता लगाउन सकिन्छ भने कैलाशको प्रदक्षिणाका लागि भने राम्रो ट्रेकिङ जुत्ता चाहिन्छ । कमसल जुत्ता भएमा खुट्टा दुखाउने र यात्राकै क्रममा च्यातिने जोखिम हुने भएकाले सकभर राम्रो जुत्ता नै खरिद गर्नु बुद्धिमानी हुनेछ ।

यात्रामा लैजानु पर्ने सामानको सूची बनाएर मात्र बजारमा किनमेल गर्न जाँदा सामान किन्न भुलिँदैन । यदि सामान किन्न भुलेमा त्यस क्षेत्रमा नपाइने हुँदा यात्रामा निस्कनुअघि किनमेल गर्दा नै ध्यान दिनुपर्छ ।

यात्रुले आफूले सेवन गरिराखेको नियमित औषधी लैजान भुल्नु हुँदैन । त्यसबाहेक टाउको दुख्दा खाने, पखाला लाग्दा खाने, दुखाई कम गर्ने औषधी साथमा बोक्न बिर्सनु हुँदैन । झण्डु बाम वा भिक्स लैजानु भए राम्रो हुन्छ ।

ट्रेकिङ एजेन्सीमार्फत् मात्र जान सकिन्छ


कैलाश मानसरोवरको यात्रा संसारका अरु स्थानको यात्रा गरेजस्तो सजिलो छैन । आफूखुशी र जहिले मन लाग्यो तहिले यस यात्रामा जान सकिँदैन । साथै, तिब्बतको भौगोलिक बनावट, फरक खाना र भाषा शैलीका कारण कुनै न कुनै माध्यमबाट यात्रा निर्धारण गर्नुपर्छ ।

तिब्बतीले आफ्नो भाषा मात्र बोल्ने र मानिससमेत फाट्टफुट्ट मात्र भेटिने हुँदा यात्राको मार्गदर्शन पाउन सकिँदैन ।

साथै, सार्वजनिक यातायातमार्फत् यात्रा गर्न सकिँदैन । खानेकुराको उपलब्धता जहाँ पायो त्यहीं हुँदैन । पाएमा पनि उपयुक्त खाना पाइँदैन । यदि खाना पाइएमा पनि आफूलाई चाहिने खाना तिब्बती भाषामै माग्नुपर्ने हुन्छ ।

फेरि यो तीर्थ यात्रा भएकाले खानेकुरामा पनि परहेजमा बस्नुपर्ने हुन्छ । राम्रोसँग संवाद गर्न नसके मासुजन्य खाना पर्न सक्छ । तसर्थ, ट्रेकिङ एजेन्सीमार्फत् मात्र यस यात्रामा जान सकिन्छ ।

(पत्रकार पन्त ज्योतिष विद्याका जानकार हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment