Comments Add Comment

रविन्द्र मिश्रलाई केपी ओलीको कटाक्षः मेस्सी खेलेको ठाउँमा हान्छु भनेर हुन्छ ?

'रेडियोमा समाचार भनेजस्तो होइन राजनीति'

१२ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विवेकशील साझा पार्टीप्रति संकेत गर्दै राजनीतिप्रति आकर्षण हुनु राम्रो भएको बताएका छन् । तर, विपक्षीमाथि कडा प्रहार गर्ने ओलीले सो पार्टीका नेता रविन्द्र मिश्रलाई तीखो शब्दवाण प्रहार गर्न छुटाएनन् ।

काठमाडौं १ मा विवेकशील साझाका उम्मेवार रविन्द्र मिश्रको नाम नलिई ओलीले कोही जागिर नै छाडेर राजनीतिमा आएको बताए । ‘केही भाइबहिनी अहिले आएका छन्, राजनीतिप्रति यो आकर्षणका लागि धन्यवाद भन्न चाहन्छु’ मंगलबार बानेश्वरमा आयोजित चुनावी सभामा ओलीले भने, खेलाडीहरु मैदानमा खेलिरहेका हुन्छन्, छेउपटि्ट केटाकेटीहरु छेउमा सिको गरिराखेका हुन्छन् ।’

एमाले अध्यक्ष ओलीले रविन्द्र मिश्रको पार्टीलाई न्यून आँक्दै थपे, ‘सिक्नु र खेल्नु बैग्लै कुरा हो । अहिले हामी यस्तो म्याच खेलेका छौं, जहाँ गोल गर्नैपर्छ । मेस्सीले खेल्दै गरेको ठाउँमा कस्तो हुँदोरहेछ, कत्तिको साह्रो छ, भकुण्डो म पनि हानी हेर्छु भनेर त्यस्तो खेलाडीले काम चल्दैन ।’

पूर्वपत्रकार मिश्रको नाम नलिई ओलीले ‘रेडियोमा समाचार भने जस्तो होइन’ भने । ओलीले भने, ‘समाचार त लेखेको हुन्छ, खरर पढ्ने त हो, राजनीतिमा त नदेखेका कुरा लेख्नुपर्छ, नदेखेका कुरा देख्नुपर्छ, नगरेका काम गर्नुपर्छ । देश बनाउने फराकिलो मन, छाती र संकल्प हुनुपर्छ ।’

काठमाडौं १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंहको नाम लिँदै ओलीले भने, प्रकाशमानजी थाक्नुभयो, राष्ट्रसंघमा जानुभयो । नाकाबन्दी लागेको छ, चुलो बलेको छैन, उहाँ नाकाबन्दी छैन भन्नुभयो ।’

कतिपयले वाम गठबन्धनका उम्मेदवार ‘अनिल शर्मा अलि कलिलो रहेछ’ भनेको सुनाउँदै ओलीले ‘छिप्पिएको म छु, विकासको जिम्मा म लिन्छु’ भने ।
शर्माले गर्न सक्छ भनेर नै काठमाडौं १ मा एमालेले छाडेको उनले बताए ।

काठमाडौं १ का वाम गठबन्धनका उम्मेदवार शर्माको प्रचारका लागि नयाँ बानेश्वरको वीच सडकमा मञ्च बनाइएको थियो । सभामा एमाले नेता ओलीका साथै बरिष्ठ नेता माधवकुमार नेपालले पनि मन्तव्य राखेका थिए ।

सभामा वाम उम्मेदवार अनिल शर्माका दाजु माओवादी नेता जनार्दन शर्माले पनि भाइलाई भोट मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment