Comments Add Comment

जलाशय निर्माण गरिने

१३ मंसिर, बुटवल । चुरे संरक्षण र जल पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित रुपन्देहीको सैनामैनामा विशाल जलाशय निर्माण गरिने भएको छ । सिँचाइ सुविधा पुर्याउने तथा चुरे भावर संरक्षण गर्ने उद्देश्य राखेर उक्त क्षेत्रमा जलाशय निर्माणको प्रक्रिया अगाडि बढाइएको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले बताए।

कार्कीका अनुसार मुर्गियादेखि पाँच किलोमिटरभित्र चुरे पहाडको काखमा ५० बिगाहा जमिनमा फैलिएको ४० मिटर अग्लो बाँधसहितको जलाशय निर्माण गर्न लागिएको हो ।

पूर्वअर्थमन्त्री विष्णु पौडेल र सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले यो आयोजनाको परिकल्पनासहित राष्ट्रपति चुरे संरक्षण समितिमा प्रस्ताव राखेका थिए ।

चुरे संरक्षण समितिका अध्यक्ष वीरेन्द्र यादवको नेतृत्वमा आएको चुरे संरक्षणका प्राविधिकको टोलीले उक्त स्थानमा त्यस्तो जलाशय सम्भव रहेको निष्कर्ष निकालेका छन् ।

करोडौँ लिटर पानी अट्ने उक्त जलाशयबाट शुद्धोधन र सैनामैना नगरपालिकामा सिँचाइको सुविधा पुर्याउने, भावर क्षेत्रमा जमिनमुनिको पानी रिचार्ज गर्ने तथा जलपर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ । चुरेको पहाडबाट बग्ने वर्षात्को पानी संकलन गरेर जलाशय बनाइनेछ । विशाल संरचनासहित निर्माण हुने अग्लो र बलियो बाँधलाई ‘लामीरह उच्च बाँध’ नाम दिइएको छ ।

जलाशयको वरिपरि पर्यटक बस्ने र मनोरञ्जन गर्ने भौतिक संरचना बनाउने, माछापालन गर्ने, होटल, रिसोर्ट र होमस्टे सञ्चालन गर्ने, डुंगा शयरको व्यवस्था मिलाउने र सैनामैना क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य छ ।

जैविक विविधताको संरक्षणका लागि समेत यो आयोजना महत्वपूर्ण हुने भएकाले यसलाई सम्पन्न गर्न पूर्व अर्थमन्त्री विष्णु पौडेलले सक्रियता देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment